कक्षा १२ को परीक्षा आजदेखि

कोरोना संक्रमितले पुनः परीक्षा दिने पाउने

कक्षा १२ को परीक्षा आज (मंगलवार) देखि सुरु हुँदै छ । गत वैशाख ८ गतेका लागि तोकिएको परीक्षा कोरोना भाइरस (कोभिड–१९) का कारण पछाडि सरेर मंगलवारदेखि हुन लागेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी सकिएको जनाएको छ । ‘परीक्षाको तयारी सकिएको छ,’ राष्ट्रिय परीक्षाका बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘स्वास्थ्यको मापदण्ड पालना गरेर ढुक्ककासाथ विद्यार्थीले परीक्षा दिन सक्छन् ।’ सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पु¥याइसकिएको छ ।’

कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा होम सेन्टरबाट नै गर्न लागिएको हो । ‘कक्षा १२ को पढाइ हुने सबै विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । ती सबै परीक्षा केन्द्र हुन्,’ उनले भने, ‘१२ को पढाइ हुने ४ हजार १ सय विद्यालय छन् ।’ कोरोनाका कारण परीक्षाको पूर्णाङ्क र समय पनि घटाइएको छ । ‘डेढ घण्टाको परीक्षा हुन्छ । ४० पूर्णाङ्कमा लिखित परीक्षा लिन हुन्छ । महामारीमा विद्यार्थीको मानसिकता बुझेर छोटो परीक्षा लिन लागेका हौं’, अध्यक्ष पौडेलले भने ।

४० प्रतिशत ११ मा प्राप्त गरेको नम्बर र २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गरिने उनले बताए । आफूलाई पायक पर्ने सेन्टरमबाट परीक्षा दिन फारम भरेका विद्यार्थीले मात्र एक जिल्लाबाट अर्को जिल्लामा वा एउटा सेन्टरबाट अर्को सेन्टरमा गएर परीक्षा दिन पाउनेछन् । ‘एक जिल्लाबाट अर्को जिल्लामा वा एउटा सेन्टरबाट अर्को सेन्टरमा परीक्षा दिनका लागि फारम कलेक्सन गरिसकेका छौँ,’ अध्यक्ष पौडेलले भने, ‘फारम नभरेकाले अब अर्को ठाउँमा गएर परीक्षा दिन पाउँदैनन् । जम्मा चार लाख ३३ हजार परीक्षार्थीमा चार प्रतिशत जतिले मात्र सेन्टर सार्ने फारम भरेका छन् ।’

स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न बोर्डले सबैलाई अनुरोध गरेको छ । ‘सरकारले जारी गरेको स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । एउटा कोठामा २० जना विद्यार्थी राख्नुपर्छ । अनिवार्य मास्क लगाउने र विद्यार्थीलाई दुई मिटरको दूरीमा राखेर परीक्षा गराउँछौँ’, उनले भने, ‘परीक्षा अगाडि र परीक्षा सकिएपछि भीडभाड गर्न दिइने छैन ।’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पनि स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न अपिल गरेका छन् । ‘परीक्षा केन्द्रहरूमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुनेजस्ता कोभिड सुरक्षण मापदण्ड कडाईपूर्वक पालना गर्नेलगायत परीक्षासम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरूको व्यवस्थापन गरिएको हुँदा ढुक्क भएर परीक्षामा सहभागी हुन म यहाँहरूलाई अनुरोध गर्दछु,’ मन्त्री पोखरेलले अपिलमा भनेका छन् । यस्तै कोरोना भाइरस संक्रमित भए पुनः परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ । ‘परीक्षाको सिलसिलामा परीक्षार्थीहरूलाई कोभिड संक्रमण पुष्टि भइ परीक्षामा सहभागी हुन नसक्ने अवस्था सिर्जना भएमा पुनः परीक्षा दिन पाउने आवश्यक व्यवस्था मिलाइएको समेत जानकारी गराउँदछु,’ मन्त्री पोखरलले भने ।

प्रकाशित मितिः   ९ मंसिर २०७७, मंगलवार ०६:०१