हिउँदे अधिवेशन अनिश्चित

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अनिश्चित बनेको छ । वर्षे अधिवेशन अन्त्य भएको लामो समय बितिसक्दासमेत हिउँदे अधिवेशनको टुङ्गो नलागेको हो । गत असार २९ गते छैटौं अधिवेशनको २९औं बैठक बसेपछि सभाको अर्को बैठक बस्न सकेको छैन । असार अन्तिममा बैठक सकिएको भएपनि कार्तिक ९ गते राती १२ बजेदेखि मात्रै बैठक स्थगित भएको जानकारी प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभामा पठाइएको थियो ।

कर्णाली प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले हिउँदे अधिवेशन बोलाउनेबारे टुङ्गो लागि नसकेको जनाए । पहिलो अधिवेशनदेखि दोस्रो अधिवेशन बस्ने समयको ग्याप ६ महिना कट्नु हुँदैन । सरकारसँग बिजनेश नभएकाले पनि बैठकको आह्वान नगरेको हुनसक्ने सचिव बुढाथोकीले बताए । उनका अनुसार करिब सात–आठवटा विधेयक संसदीय समितिमा विचाराधीन अवस्थामा छन् । सरकारले चाहेपछि विशेष अधिवेशन समेत बोलाउन सक्ने उनले बताए ।

सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले हिउँदे अधिवेशनको लागि ठोस छलफल नभएको जनाए । ‘बैठक त आह्वान गर्नैपर्छ । यही समयमा बस्ने भन्ने कुनै ठोस छलफल भने भइसकेको छैन’, उनले भने । मन्त्री भण्डारीले नियमित बैठक भएकाले खासै एजेण्डा पनि नभएको जानकारी दिए । उनले समितिमा आएका विधेयक नै आगामी अधिवेशनका एजेण्डा बन्ने बताए । सरकारले मन्त्रिपरिषद्को बैठक बसी छिट्टै अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । मन्त्री भण्डारीका अनुसार आगामी माघ–फागुन महिनासम्म प्रदेश सभाको हिउँदे अधिवेशन बस्ने छ ।

प्रदेश सभा प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले सरकारको आन्तरिक विवाद नसकिएसम्म सभाको बैठक हुन नसक्ने तर्क गरे । ‘बैठक असारको महिनादेखि बसेको थिएन,’ उनी भन्छन्, ‘औपचारिक रूपमा बैठक स्थगित भएको धेरै समय भएको छैन ।’ आगामी अधिवेशन मंसिर–पुस महिनाभित्रै बस्न सके राम्रो हुने उनले बताए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दलको आन्तरिक किचलो समाधान नभएकाले संसद् अधिवेशनसमेत प्रभावित हुने कतिपयको आकलन छ ।

कर्णाली प्रदेश कर्णाली प्रदेश सभा नियमावली २०७४ को परिच्छेद–२ को दफा ३ मा अधिवेशन आह्वान र अन्त्यको व्यवस्था गरिएको छ । जसको उपदफा २ मा सभाको एउटा अधिवेशनको समाप्ती र अर्को अधिवेशन प्रारम्भ बीचको अवधि ६ महिनाको हुनुपर्ने उल्लेख छ ।

प्रकाशित मितिः   ६ मंसिर २०७७, शनिबार ०६:०२