जग्गा अधिग्रहण गर्न स्वीकृति

सुर्खेत विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गरिने भएको छ । विमानस्थल विस्तार र स्तरोन्नतिका लागि थप जग्गा अधिग्रहण गर्न लागिएको हो संघीय सरकारको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई यसका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सुर्खेत विमानस्थलको क्षमता बढाउन ३० विगाह जग्गा अधिग्रहण गर्न सहमति दिइएको हो ।

विगत लामो समयदेखि विमानस्थल विस्तारको चर्चा चल्दै आएको छ । विस्तारकै लागि गत असोजमा संघीय, प्रदेश तथा स्थानीय सरकारबीच सम्झौता समेत भइसकेको छ । नेपाल सरकार र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी अवधारणाअन्तर्गत सुर्खेत विमानस्थलको विस्तारका लागि सम्झौता भएको हो ।

आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण, रन–वे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक निर्माण काम गर्ने योजना रहेको छ । सम्झौताअनुसार विमानस्थलको धावनमार्ग १५ सय मिटरसम्म विस्तार गरिने भएको छ । जग्गा अधिग्रहणमा लाग्ने ५० प्रतिशत रकम प्रदेश सरकारले बेहोर्ने छ । ५० प्रतिशत रकम भने केन्द्र सरकारले बेहोर्ने गरी सम्झौता भएको छ । सुर्खेतस्थित विमानस्थलको विकास, विस्तार र स्तरोन्नती गरी आन्तरिक उडानमा प्रयोग भइरहेका सबै प्रकारका ठूला जहाज लैजाने योजना छ ।

यता विमानस्थल प्रमुख उमेशकुमार पन्थीले जग्गा अधिकरणका लागि संघीय सरकारले ५१ करोड रकम छुट्याएको जानकारी दिए । उनका अनुसार गत असोज १५ गते नै संघीय सरकार र प्रदेश सरकारबीच विमानस्थल विस्तारका लागि सम्झौता भएको भएपनि कहिले हुने र कताको जमिन अधिग्रहण गर्ने भन्ने विषयमा भने आधिकारिक जानकारी आएको छैन । ‘विमानस्थल विस्तार हुन्छ’ उनले भने ‘त्यसको लागि जमिन समेत अधिग्रहरण गर्नुपर्ने हुन्छ । तर कहिले र कति भन्ने विषयमा आधिकारिक जानकारी आइसकेको छैन ।’