कोरोनाले १८ जनाको ज्यान लियो
कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । कोरोना संक्रमण देखिएका सुर्खेतका नौ, दैलेखका चार, डोल्पा, कालीकोट र रुकुम–पश्चिमका एक/एकसहित अन्य प्रदेशका दुई जनाको मृत्यु भएको हो । मृत्यु भएकामध्ये १२ पुरुष र ६ जना महिला हुन् ।
प्रदेशमा बिहीवार थप ६३ जनामा संक्रमण पुष्टि भएको छ । चार जिल्लाका ६१ र अन्य प्रदेशका दुई जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीवार कोरोना पुष्टि हुनेहरूमा सुर्खेतका ३९, हुम्लाका १६, दैलेखका चार, रुकुम–पश्चिमका दुई र अन्य प्रदेशका दुई जना रहेका छन् । योसँगै कर्णालीमा हालसम्म ६ हजार पाँच सय ६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बिहीवार नै ७० जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । महाशाखा प्रमुख वृषबहादुर शाहीले हालसम्म पाँच हजार नौ सय ५८ जना संक्रमणमुक्त भइसकेको जनाए ।
प्रकाशित मितिः ५ मंसिर २०७७, शुक्रबार ०६:०४
साझा बिसौनी ।