सुत्केरी र नवजात शिशुको मृत्यु

सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गरी बच्चा जन्माएकी दैलेख नारायण नगरपालिका–११ विन्ध्यावासिनीकी दीपा बिक र उनको नवजात शिशुको मृत्यु भएको हो ।

दीपा मंगलवार दैलेखको भगवतीमाई गाउँपालिका–२ स्थित माइती घरको आँगनबाट लडेकी थिइन् । उपचारका लागि दैलेख अस्पताल लगिएको थियो । दीपाका श्रीमान खड्क बिकका अनुसार दैलेख अस्पतालबाट सुर्खेत रिफर गरिएको हो । बुधवार बिहान ७ बजे प्रदेश अस्पताल पु¥याइएकी उनी बेहोस अवस्थामा रहेको अस्पतालका मातृ–शिशु स्वास्थ्य सेवा प्रमुख कल्पना थापाले बताइन् । ‘बिरामीलाई यहाँ पु¥याउँदा नै अचेत हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘कृत्रिम स्वास–प्रस्वास दिएर भेन्टिलेटरमा राखेका थियौं । भेन्टिलेटरमै हुँदा सुत्केरी गराइएको थियो ।’

उनका अनुसार बुधवार बिहान साढे ११ बजे बच्चा निकालिएको थियो । पेटभित्रै मरिसकेको बच्चाको तौल दुई किलो आठ सय ग्राम थियो । बच्चा निकालेको केही समयपछि आमाको पनि मृत्यु भएको हो ।

प्रकाशित मितिः   ५ मंसिर २०७७, शुक्रबार ०६:०३