मोटरसाइकले ठक्कर दिएर भाग्ने पक्राउ

तीन वर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दिएर भागेका दुई जना पक्राउ परेका छन् । मंसिर २ गते जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा मोटरसाइकलले बालकलाई ठक्कर दिएर उनीहरू भागेका थिए । बिहीवार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–५ चिसापानीका जीवन चौहान र नविन भनिने अमर सलामी छन् ।

मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगर–१ का बालक समिर नेपालीको मृत्यु भएको छ । उनको २ गते नै उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । बालकका आफन्तले पीडकलाई पक्राउ गर्न माग गर्दै बुधवार बिहानदेखि नै आन्दोलन गरेका थिए । पक्राउ परेका दुई जनामाथि सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए । प्रहरीका अनुसार उनीहरूलाई पक्राउ गर्ने क्रममा अनुसन्धानका लागि यामाह एफजेट मोडलका १५ ओटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मितिः   ५ मंसिर २०७७, शुक्रबार ०६:०२