गलत बाटोमा पाइला

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला आन्तरिक कलहमा छ । पार्टीभित्र उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । दुई ठूला कम्युनिष्ट पार्टीबीच भएको एकताबाट बनेको दल नै फुटको संघारमा पुगेको भान हुन थालेको छ । उक्त पार्टीका शीर्ष नेतृत्वबाटै यस्तो अभिव्यक्तिहरू सार्वजनिक भएका छन् । पार्टी एकता संकटमा परेको भनाइ बाहिरिएका छन् । पछिल्लो घटनाक्रमले नेकपाभित्र गम्भीर संकट उत्पन्न भएको सहजै बुझ्न सकिन्छ । विगत लामो समयदेखि चलिरहेको नेकपाको यो घर झगडाले सबैको ध्यान खिचेको छ ।

नेकपाभित्रको रडाको उसको आन्तरिक विषय हो । तर मुलुकको शीर्ष दल, जसले सरकारको समेत नेतृत्व गरिरहेको छ उक्त पार्टीभित्रको विवादको प्रत्यक्ष वा परोक्ष असर भने मुलुकलाई नै पर्नेछ । हरेक राजनीतिक दलमा विवाद हुन्छ । विचारमा होस् या नेतृत्वको कार्यशैलीमा मतभेद र झगडा हुनु अस्वभाविक होइन । यस्ता कयौं विषय बाहिर आउँछन् केही आउँदैनन् । तर नेकपाभित्रको कलह सतहमै छरपष्ट भएको छ । सरोकारको विषय नेकपाभित्रको स्वार्थ–राजनीति मात्रै होइन दुई–तिहाइको बहुमत भएको नेकपाभित्रको कलहले सरकार प्रभावित छ । सरकार प्रभावित हुनु भनेको मुलुक हिँडिरहेको गति प्रभावित हुनु हो । राजनीतिक अस्थिरताले आजित भएका नागरिक फेरि त्यही नियति सामना गर्नुपर्ने विडम्बनापूर्ण चिन्ताले पिरोलिएका छन् । तर नेकपाका शीर्ष नेतृत्व आफ्नै अन्तरकल र त्यसको व्यवस्थापनमै केन्द्रीत छ । जबकी नेकपाको अध्यक्ष र सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री एकै व्यक्ति हुन् । यसकारण पनि पार्टीभित्रको विवादको असर सरकार सञ्चालनमा पर्दछ ।

अहिले नेकपामा देखिएको विवाद कुनै सैद्धान्तिक विषयमा होइन । न त वर्तमान देखिएका विभिन्न समस्या र नागरिक हितका एजेण्डाहरूमा नै हो । यतिबेला कोरोना कहरबाट जनता आहत छन् तर सत्ताधारी दलका नेता आपसमा विवाद गरेर बसेका छन् । कोरोना संक्रमितको संख्या बढ्दैछ । मृतक पनि बढिरहेका छन् । जोखिम घटेको छैन । आवश्यक सतर्कताका काममा उल्लेख्य प्रगति भएको छैन । नागरिकका अन्य समस्याहरूको चाङ जस्ताको त्यस्तै छ । संघीय व्यवस्थाको औचित्य पुष्टि हुने र नागरिकले अनुभूत गर्नेगरी काम गर्न सरकार असफल भइरहेको छ । तीनै तहका सरकार बजेट कार्यान्वयनमै असफल छन् । विकास निर्माणका काम अपेक्षाकृत ढङ्गबाट सञ्चालन भइरहेका छैनन् । यही समयमा सरकारको नेतृत्व गरिरहेको दलभित्रको कलहले मुलुकलाई नै अस्थिरतातर्फ धकेलिरहेको छ । नागरिकमा वितृष्णा पैदा गरेको छ ।

पार्टी सञ्चालनको सन्दर्भमा देखिएका मतभेदलाई मुलुकको प्रतिकूल हुनेगरी अघि बढाउनु हुँदैन । आन्तरिक समस्यालाई सुल्झाउँदै मुलुक हितमा लाग्नुपर्ने दायित्व नेकपाका शीर्ष नेताहरूले नबुझेका होइनन् । यो समय यसैपनि संकटग्रस्त छ । संकटको सामना सबै मिलेर गर्नुपर्ने हुन्छ । मिलेर गर्नुपर्ने काम पन्छाएर आफ्नै स्वार्थ–राजनीतिको दुश्चक्रमा फस्नु नेतृत्वको कमजोरी हो । यसलाई कसैको हित गर्दैन् । स्वयम् नेतृत्वकर्ता, सम्बन्धित पार्टी र मुलुककै अहित हुन्छ ।