जोखिम मोलेर पढाइँदै
कोरोना कहरकैबीच विद्यार्थीलाई पढ्न बोलाइयो
सरकारले विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई दिएपछि छठ लगत्तै शैक्षिक गतिविधि अघि बढाइने भएको छ । कोरोना भाइरस (कोभिड–१९) कहरकैबीच कर्णाली प्रदेशका सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर कक्षा सञ्चालन गर्ने तयारी थालेका छन् । कोरोनाका कारण चैतदेखि बन्द रहेका विद्यालय अब भने पूर्ण रूपमा सञ्चालन गर्न लागिएको हो । बीचमा केही समय कतिपय विद्यालयले भर्चूअल र भौतिक रूपमै उपस्थित गराएर पनि पठन–पाठनको प्रयास गरेका थिए । यसरी सञ्चालन गरिएका शैक्षिक गतिविधि प्रभावकारी हुन सकेको थिएन । अबदेखि सरकारले सबै विद्यार्थीहरूलाई भौतिक रूपमै उपस्थित गराएर पठन–पाठन गर्न भनेको छ ।
स्थानीय तहलाई नै विद्यालय सञ्चालनको जिम्मेवारी दिएपछि जोखिमको आकलन तथा सतर्कता अपनाएर पढाइ सुरू गर्न लागिएको हो । कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले सबै विद्यालय सञ्चालन गर्ने गरी तयारी भइरहेको बताइन् । उनका अनुसार विद्यालय सञ्चालनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिइएकाले प्रदेशले आवश्यक समन्वय गर्ने छ ।
भेरी माध्यमिक विद्यालय रानीघाटका प्रधानाध्यापक रत्न बुढाले मंसिर ७ गतेबाट पठनपाठन सुरू गर्ने तयारी गरिएको बताए । उनले विद्यार्थीलाई विद्यालयमै बोलाएर दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने तयारी गरिएको जनाए । ‘पालिकाले हामीलाई विद्यालय खोल्न भनिसकेको छ । अब दुई सिफ्टमा पठन–पाठन गर्ने तयारी गरेका छौँ,’ उनले भने । विद्यालयहरूले सिफ्ट अनुसार कक्षा सञ्चालन गर्ने, भौतिक दूरी कायम गरेर एउटा कक्षा कोठामा थोरै विद्यार्थीहरू राख्नेलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी तयारी गरेका छन् । स्थानीय तहले विद्यालयको अवस्थाका बुझ्ने र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । भेरीगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख धीरेन्द्रप्रसाद लम्सालले छठ लगत्तै विद्यालय सञ्चालन गरिने बताए । सोही अनुसार विद्यालयहरूसँग समन्वय भइरहेको उनी बताउँछन् ।
सरकारले कार्तिक २० गते विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ मन्त्रिपरिषद्बाट स्वीकृत गरेर जारी गरेको छ । जारी कार्यढाँचामा स्थानीय तहल परिस्थिति हेरेर विद्यालय सञ्चालन गर्ने र बन्द गर्ने प्रक्रियालाई व्यवस्थित साथै सुरक्षित गराउन जिम्मेवारी दिइएको हो । कोरोना संक्रमण जोखिमको अवस्थालाई स्थानीय र विद्यालय तहमा समीक्षा गरी भयरहित वातावरण बनाउन परिपत्र समेत गरिएको छ ।
अधिकांश विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग भएकाले निर्मलीकरण गरिनुपर्ने, विद्यालयमा प्रवेश गर्ने विद्यार्थी, शिक्षक र कर्मचारीहरूको अनिवार्य ज्वरो नाप्नुपर्ने, मास्कको गर्नुपर्ने, हात धुने व्यवस्थालगायत स्वास्थ्य सामग्री उपलब्ध हुनुपर्ने बताइएको छ । स्वास्थ्य समस्या देखिएका विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई विद्यालय नआउन भन्ने साथै सम्भव भएसम्म विद्यालय आफैँले खाजाको व्यवस्था गर्नुपर्ने कार्यढाँचामा उल्लेख गरिएको छ ।
झण्डै नौ महिनादेखि बन्द विद्यालय खोल्ने भनिएपनि कोरोनाको जोखिम हटिसकेको छैन । कर्णालीमा हालसम्म ६ हजार पाँच सय ६ जनामा संक्रमण देखिएको छ भने तीमध्ये १८ जनाको ज्यान गएको छ । समुदायमा व्यापक रूपमा फैलिएको संक्रमण नियन्त्रणमा नआउँदै विद्यालय सञ्चालन गर्न लागिएको हो ।
एकै विद्यालयका ५१ संक्रमित
हुम्लामा विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई कोरोना संक्रमण देखिएको छ । एउटै विद्यालयका ५१ जनालाई संक्रमण देखिएपछि बिहीवारदेखि जिल्लाका सबै विद्यालय बन्द गरिएको छ । उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
लामो समयदेखि बन्द भएका त्यहाँका विद्यालय कार्तिकदेखि सञ्चालनमा आएका थिए । शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका प्रमुख विष्णुबहादुर शाहीले कोरोना संक्रमण देखिएपछि अहिले जिल्लाका सबै विद्यालय बन्द गरिएको जनाए । अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको उनले बताए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लाभरका शैक्षिक संस्था बन्द गर्ने, बाहिरी जिल्लाबाट आउनेहरूलाई प्रवेशमा रोक लगाउने, अन्तरपालिका आवत–जावतमा समेत कडाइ गर्नेलगायतका निर्णय गरेको छ । संक्रमित विद्यार्थी, शिक्षक र कर्मचारी सबैको अवस्था सामान्य रहेको बताइएको छ ।
शैक्षिक सत्र सर्ने सम्भावना
अहिले हुम्लालगायत हिमाली जिल्लाका विद्यार्थीहरू वार्षिक परीक्षाको तयारीमा थिए । तर कोरोना संक्रमणको जोखिम बढेपछि विद्यालय बन्द भएकाले परीक्षा समेत अनिश्चित भएको छ । मंसिरमा शैक्षिक सत्र सकेर अर्को शैक्षिक सत्र सुरू गर्ने समय भएकाले परीक्षाको समय तालिका प्रभावित हुने देखिएको हो । अब भने फागुनतिर परीक्षा हुने र वैशाखदेखि मात्रै नयाँ शैक्षिक सत्र हुने सम्भावना रहेको शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका प्रमुख शाहीले बताए । ‘परीक्षा सञ्चालन गर्ने तयारी थियो । कोरोना संक्रमणले अनिश्चित देखिएको छ,’ उनले भने, ‘हिउँ पनि पर्न थाल्यो । जाडो बढ्न थालेको छ । फागुनतिर मात्रै परीक्षा सञ्चालन हुन्छ होला ।’ हिउँदमा हिमपातका कारण विद्यालयमा प्रतिकूल प्रभाव पर्ने भएकाले कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पालगायतका जिल्लामा फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरू गर्ने गरिएको छ ।
प्रकाशित मितिः ५ मंसिर २०७७, शुक्रबार ०६:०५
मुना हमाल ।