सांसदको आवास खर्च बचाउने काइदा

१५ हजार बुझ्ने तीन हजार नतिर्ने

कर्णाली प्रदेशसभाका सांसदहरूलाई घर भाडा सुविधावापत प्रदेशसभा सचिवालयले प्रत्येक महिना १५ हजार रूपैयाँ उपलब्ध गराउँदै आएको छ । आफूले मासिक भाडावापतको रकम बुझ्दै आए पनि एक जना सांसदले बसिरहेको घरको भाडा भने बुझाएका छैनन् । उनले दुई वर्षदेखि घरभाडा नबुझाएको पाइएको छ ।

रुकुम–पश्चिमबाट प्रदेशसभा सदस्यमा निर्वाचित रातो कामी वीरेन्द्रनगर–७ स्थित जिल्ला समन्वय समिति सुर्खेतको स्वामित्वमा रहेको आवास भवन नं. १० मा बस्दै आएका छन् । मासिक तीन हजार भाडा तिर्ने सम्झौता गरेर बसेका उनले २०७५ मंसिर यताको भाडा तिरेका छैनन् । बारम्बार अनुरोध गर्दा पनि सांसदले नै लामो समयसम्म सरकारलाई बुझाउनुपर्ने भाडा नतिरेपछि समन्वय समिति भाडा असुल गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाउने तयारीमा छ । उनी बस्दै आएको भवन चारकोठे हो ।

जिल्ला समन्वय अधिकारी दुर्गाप्रसाद चालिसेले दुई वर्षदेखि भाडा नबुझाएको बताए । भाडा असुल गर्न पत्राचार नै गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । सांसद रातो कामीले असार महिनामा मात्रै भाडा दिनुपर्ने भएको र आफू त्यतिबेला जिल्ला बाहिर गएकाले तिर्न नभ्याएको भन्दै बचाउ गरेका छन् । ‘साउन महिनामा लैजानु भनेको हिसाब मिल्दैन भन्नुभयो,’ उनले भने ‘अब सुर्खेत आएपछि तिर्नुपर्ला ।’ नियतवश भाडा नबुझाएको उनको जिकिर छ ।

जिल्ला समन्वय समिति सुर्खेत मातहतमा १९ वटा आवास भवन छन् । जसमध्ये १६ वटा भाडामा दिएको छ । सातवटा भवन समन्वयकै कर्मचारीले निःशुल्क प्रयोग गरेका छन् भने अन्य नौ वटा प्रतिभवन मासिक तीन हजारका दरले भाडामा दिएको छ । सबै भवनहरू चारकोठे भएको र धेरै पूराना भएकोले थोरै भाडादरमा दिइएको जिससले जनाएको छ ।

कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिलाई समितिको निर्णयअनुसार बस्न दिने गरिएको छ । अब खाली हुने आवासको लागि भने टेण्डरमार्फत भाडामा दिने जिससको तयारी छ । अर्का प्रदेशसभा सांसद झोवा विक पनि आवास भवन नं. १२ मा बस्छिन् । उनले भने हालसम्मको सबै भाडा नियमित बुझाउने गरेको जिससले जनाएको छ ।

प्रकाशित मितिः   २८ कार्तिक २०७७, शुक्रबार ०६:०३