सावधानीसहित मनाऔं तिहार
हिन्दु धर्मावलम्बीहरूको अर्को ठूलो पर्व तिहार सुरु भएको छ । दसैँपछि तिहारलाई महान पर्वको रूपमा मनाउने गरिएको छ । चाडपर्व खुशी र समृद्धिको कामनासँगै मनाइन्छ । तिहार पनि त्यस्तै एक चाड हो । यसलाई प्रकाश वर्ष पनि भनिन्छ । विशेष गरेर तिहारका पाँच दिन दीपावली गर्ने र धनकी देवी मानिने लक्ष्मीको पूजाआजा गर्ने गरिन्छ । यो फूलैफूलको पर्वको रूपमा पनि उत्तिकै प्रख्यात छ ।
यो वर्ष कोरोना भाइरस (कोभिड–१९)को महामारीकाबीच तिहार मनाउन लागिएको छ । दसैँ पनि त्यही असहज परिस्थितिकाबीच मनाइएको थियो । यो पटक अघिल्ला वर्षहरू जस्तो सहज वातावरण छैन । कोरोना संक्रमणले महामारी निम्तिएको छ । भेटघाट र जमघटमा समेत त्रसित हुनुपरेको छ । दिदी–भाइ र दाजु–बहिनीबीचको प्रेम र आशिर्वाद आदान–प्रदान यो पर्वको महŒवपूर्ण पक्ष हो । तर, कोरोना संक्रमणले सिर्जित अवस्थाका कारण यो वर्षका चाडबाडहरूमा रौनकता हराएको छ । जो–कोहीलाई रमाइलोभन्दा पनि ज्यान कसरी जोगाउने भन्ने पिरलो छ । त्यसैले पनि यसपालि तिहार विगतमाजस्तो उल्लासपूर्ण हुनेछैन । अधिकांश नेपालीले हर्षोल्लास साथ पर्व मनाउन पाउने छैनन् । चाडपर्व हरेक वर्ष आउँछन् । ज्यानकै जोखिम मोलेर मनाउनु पर्छ भन्ने पनि छैन । पहिला आफू जोगिनु मुख्य कुरा हो । स्वास्थ्य सावधानी अपनाएर आफू, परिवार र राष्ट्रलाई स्वस्थ राख्नु अहिलेको आवश्यकता हो । हरेक नागरिकको कर्तव्य पनि हो ।
नेपाली समाज मौलिक संस्कृति र परम्परामा विशिष्ट छ । चाडबाड, धर्म, रीतिरिवाज र लोकपरम्परा नै हाम्रा संस्कृतिका पहिचान हुन् । तिहारले धार्मिक महŒव मात्र बोकेको छैन । यसले आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा महŒवपूर्ण योगदान पनि पु¥याएको छ । ठूला चाडपर्वमा आर्थिक क्षेत्र फस्टाउने गरेको पाइन्छ । यहीँ समयमा सहर–बजारमा धेरै र ठूल्ठूला आर्थिक कारोबार हुन्छन् । गाउँदेखि सहरसम्म आर्थिक गतिविधि चलायमान रहन्छ । यसकारण आर्थिक हिसाबले चाडपर्वलाई उत्तम पर्व मानिन्छ । सामाजिक हिसाबले पनि तिहार उत्कृष्ट चाड हो । यसले समाजलाई एक आपसमा मिलाउने काम गरेको छ । नैतिक शिक्षा दिएको छ र सबैसँग घुलमिल गर्दै अगाडि बढ्न समाजलाई प्रेरणा दिएको छ । त्यहीँ कारणले यो कुनै एक समूहको चाड नभइ सबै नेपालीको चाडका रूपमा स्थापित भएको हो ।
चाडपर्व भनेपछि स्वभाविक रूपमा जमघट हुन्छ । भिडभाड बढ्छ । तर यसपटक भने सचेत बनेर मात्रै चाड मनाउनु पर्नेछ । बाक्लो जमघट गर्नु जोखिम छ । स्वास्थ्य सावधानी अपनाउँदै भौतिक दूरी राखेर मनाउनु पर्ने अहिलेको बाध्यता हो । यो बेलामा स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाउन कदापि भुल्नु हुँदैन । स्थानीय प्रशासनले देउसी–भैलो खेल्न प्रतिबन्ध लगाएको छ । जोखिमबाट जोगिनका लागि पनि सकेसम्म तिहारलाई घरभित्रै सीमित गर्न जरुरी छ । यो व्यक्ति, परिवार र समाजकै सुरक्षाको सवाल हो ।
प्रकाशित मितिः २८ कार्तिक २०७७, शुक्रबार ०६:०२
साझा बिसौनी ।