लाग्यो तिहार
यस वर्षको तिहार पर्व सुरू भएको छ । तिथिअनुसार बिहीवार बेलुकी यमपञ्चक अर्थात् यमदीपदान गरेर तिहार आरम्भ गरिएको छ । कागतिहार भने कार्तिक आज (शुक्रवार) परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि यमपञ्चक सुरू हुन्छ । यमदीपदान गर्दा ‘यमयातना’बाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि आज नै परेका छन् । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो’, नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले भने । तिथिको घटबढका कारण यस्तो भएको समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
कार्तिक २९ गते शनिवार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताए । समितिका अनुसार गाई, गोरु र आत्म (म्ह) पूजा कार्तिक ३० गते आइतवार हुनेछ । आइतवार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।
मंसिर १ गते सोमवार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ । मंसिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्को नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदामा सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको गौतमले सुनाए । यसै दिनदेखि नेपाल संवत् ११४१ सुरू हुन्छ । मंसिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । नेवार समुदायका केही संस्थाले मंसिर २ गते भाइटीका मनाउने भनी गरेको निर्णय शास्त्रसम्मत नरहेको जनाउँदै नेवार समुदायका तीन पञ्चांगकारले प्रकाशन गरेका तीन पात्रोले पनि मंसिर १ गते भाइटीका उल्लेख गरेका छन् ।
प्रकाशित मितिः २८ कार्तिक २०७७, शुक्रबार ०६:०१
साझा बिसौनी ।