भैँसीपालनमा जनप्रतिनिधिकै अगुवाइ

वीरेन्द्रनगर नगरपालिकाभित्रै व्यावसायिक कृषि तथा पशुपालनमा ठूलो लगानी गरिएको छ । वीरेन्द्रनगर–२ स्थित सञ्जीवनी कृषि तथा पशुपालन सहकारी संस्थाले विभिन्न समूह निर्माण गरी शेयर धनीहरूको संलग्नतामा कृषि तथा पशुपालनका काम गर्दै आएको हो । जसमध्येको एउटा हो, कोलडाँडा भैँसीपालन समूह । जहाँ नौ जना शेयर सदस्य । दुई करोड पचास लाख रूपैयाँको लगानी छ ।

उक्त समूहले एकै ठाउँमा एक सय तीन वटा भैँसी पाल्दै आएका छन् । त्यसमध्ये ५४ वटा दुहुना छन् । दिनमा करिब दुई सय ५० लिटरसम्म दुध उत्पादन हुन्छ । दैनिक २२ हजार रूपैयाँभन्दा बढीको दुध बिक्री हुन्छ । समूहले साढे तीन विगाहा जमिन भाडामा लिएर उन्नत जातका मुर्रा भैँसीपालन गरेको हो । भैँसीपालनको अगुवाइ सोही वडाका अध्यक्ष बलबहादुर रोकायले गरेका छन् । समूहमा रहेका नौ जनाबाहेक प्रत्यक्ष रूपमा अरू ६ जनाले रोजगारी पाएका छन् ।

सुर्खेत मात्रै होइन सिङ्गो प्रदेश दुधमा आत्मनिर्भर छैन । यहाँ खपत हुने ७० प्रतिशत दुग्ध सामग्री बाहिरबाट निर्यात हुँदै आएको छ । स्थानीय उत्पादन ३० प्रतिशत मात्रै छ । यद्यपि, पछिल्लो समय व्यावसायिक कृषि तथा पशुपालनमा आकर्षण बढ्दो छ । कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेशको अवधारणासमेत लिएको छ । कृषक लक्षित सहुलियत ऋण र अनुदानका कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । स्थानीय तहका प्रतिनिधिहरूको समेत कृषि तथा पशुपालनमा चासो बढ्न थालेको छ । ‘समूहका अध्यक्ष गजबहादुर बुढाले सरकारले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेका कारण आफूहरूले व्यावसायिक भैँसीपालन थालेको बताए । ‘हाम्रो फर्ममा वडा अध्यक्षज्यू नै प्रत्यक्ष रूपमा जोडिनु भएको छ । जसले गर्दा काम गर्नसमेत सहज भएको छ,’ उनले भने ।

प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरलाई दुधमा आत्मनिर्भर उन्मुख गराउने र स्थानीय जातको भैँसीको नश्ल सुधारमा समेत योगदान दिने उद्देश्यले व्यवसाय सुरू गरिएको समूहले जनाएको छ । त्यहाँ भारतको पञ्जाव र हरियाणाबाट उन्नत जातका मुर्रा भैँसी ल्याएर पालन सुरू गरिएको हो । जसले स्थानीय जातका भँैसीभन्दा धेरै दुध दिन्छ । ‘यो समूहले दुध उत्पादन गरी आम्दानी मात्रै गर्ने उद्देश्य राखेको छैन,’ समूहका अध्यक्ष बुढाले भने, ‘भैँसीको नश्ल सुधार गरी यसलाई स्रोतकेन्द्रका रूपमा विकास गर्ने लक्ष्य छ ।’ परम्परागत पेसालाई व्यावसायिक बनाउनु आफूहरू लागिरहेको उनको भनाइ छ । समूहले दुधबाहेक दही, घ्यू, छुर्पी, खुवालगायतका दुग्ध सामग्र्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

वीरेन्द्रनगरभित्रै यति ठूलो लगानी र संख्यामा भैँसीपालन गर्नु सहज भने छैन । भनेको समयमा घाँस नपाउने, घाँसको बिउ समेत राम्रो नपाउने तथा उपचारमा समस्या झेल्दै आएको समूहका सदस्यहरू बताउँछन् । वडा अध्यक्ष बलबहादुर रोकायले परम्परागत पेसालाई निरन्तरता दिने र सरकारको अवधारणालाई सहयोग गर्ने उद्देश्यले व्यवसाय सुरु गरेको जनाए । ‘म सल्लाहकार भूमिकामा छु,’ उनी भन्छन्, ‘आम्दानी गर्ने मात्रै नभइ समूहका थुप्रै उद्देश्य छन् ।’ वडा अध्यक्ष रोकायले अर्गानिक दुध उत्पादन, भैँसीको पिसाबबाट जैविक विषादी र प्राङ्गगारिक मल तथा नश्ल सुधारको उद्देश्य राखिएको बताए । एक सय भन्दा बढी दुहुना भैँसीपालन गरी दिनमा पाँच सय लिटरभन्दा बढी दुध उत्पादन गर्ने गरी लगानी बढाउन लागिएको उनले जानकारी दिए ।

पशु प्राविधिक तथा समूहका सल्लाहकार ओमदत्त भारतीले भैँसी बिरामी भएको खण्डमा भरपर्दो ल्याब नहुँदा समस्या हुने गरेको बताए । ‘अब हामीहरूलाई सरकारले प्रविधिमा सहयोग गर्नुप¥यो । भैँसीको पिसाब स्टक राखेका छौँ । तर त्यसलाई जैविक विषादी बनाउने प्रविधि हामीसँग छैन,’ उनले भने । प्राङ्गगारिक मल उत्पादनका लागि समेत प्रविधि आवश्यक रहेको उनले बताए ।

फर्म सञ्चालनका लागि समूहले पशुपन्छी निर्देशनालयबाट पचास लाख अनुदान पाएको छ । जसले गर्दा पनि व्यावसायिक पशुपालनमा आफूहरूलाई हौसला तथा सहयोग मिलेको उनीहरू बताउँछन् । सञ्जीवनी कृषि तथा पशुपालन सहकारी संस्थाले समूहमार्फत तरकारी खेती, बाख्रापालन लगायतका कृषि र पशुपालनका क्षेत्रमा विभिन्न कामहरू गरिरहेको जनाइएको छ ।