साझा संवाद

‘पुराना संरचना नफेर्दासम्म विद्युत अनियमित भइरहन्छ’

साझा संवाद


टंकराज गिरी प्रमुख, विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्र

सुर्खेतमा बस्ती विकास र विद्युतको माग तथा आवश्यकता दिन प्रतिदिन बढ्दो छ । तर अनियमित विद्युतले यहाँका नागरिकहरू आजित छन् । सुर्खेत कर्णाली प्रदेशको राजधानीसमेत हो । वीरेन्द्रनगरका नगरका अधिकांश स्थानमा बीचसडकमै विद्युतका पोलहरू छन् । जसले गर्दा सहरी सुन्दरतामा ह्रास ल्याएको छ । विकास निर्माणका काम गर्ने निकायहरूले विद्युत प्राधिकरणको उदासिनताले निर्माणमा समेत बाधा हुने गरेको आरोप लगाउँदै आएका छन् । सुर्खेत तथा समग्र प्रदेशकै विद्युत समस्या र समाधानको विषयमा नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीसँग हाम्रा सहकर्मी सीता वलीले गरेको कुराकानीः

 

  • सुर्खेतमा विद्युत अनियमित भइरहन्छ किन ?

सुर्खेतमा प्रयोग भइरहेको ३३ केभीए प्रसारण लाइन कोहलपुरबाट बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै छिन्चुबाट वीरेन्द्रनगर आएको छ । सामान्यतया ३३ केभीए प्रसारण लाइन ६० किलोमिटर दूरीसम्मको हुनुपर्छ । तर हाम्रो लाइन एक सय ७४ किलोमिटर छ । पहिलेभन्दा वीरेन्द्रनगरको जनसंख्या वृद्धि भएको छ । जनसंख्या बढेअनुसार विद्युतको संरचनामा भने परिवर्तन गरिएको छैन । क्षमता बढाइएको छैन । अर्को कुरा जंगल क्षेत्रबाट लाइन आएकाले तारलाई चरा तथा रुखको हाँगाहरूले छोएको खण्डमा विद्युत फ्यूज हुन्छ र मुख्यलाइन कोहलपुरबाट विद्युत काटिने गर्दछ । मुख्यलाइनबाट बाहेक वीरेन्द्रनगरमा रहेका जीर्ण विद्युतीय संरचनाका कारण पटक–पटक विद्युत अवरुद्ध हुने गरेको हो ।

यस्तै, वीरेन्द्रनगरमा जोडिएको ११ केभीए (मुख्य लाइन) ९१ किलोमिटर छ भने ट्रान्समिटरबाट घर–घरमा लगिएको ०.४ केभीए प्रसारणलाइन सात सय किलोमिटर भन्दा बढी छ । प्राविधिक हिसाबले यसको तालमेल समेत मिलेको छैन । वीरेन्द्रनगरमा ११ केभीए प्रशारणलाइन जहाँतहीँ लैजान समस्या छ । नागरिकहरूलाई विद्युतको पोल तथा ट्रान्सफर्मर घर अगाडि, आफ्नो जमिनमा परेको खण्डमा जग्गाको मूल्य घट्ने र दुर्घटना हुने त्रास छ । त्यसैले ११ केभीए जोड्न दिँदैनन् । पोल अड्याउने स्टेलाई समेत नागरिकले काटिदिने गर्नाले तारहरू जुध्ने गर्छ र बत्तीको फ्यूज जाने भइरहन्छ । विद्युत अवरुद्ध भएको समयमा बनाएर विद्युत सुचारू गर्ने बाहेक यसको दिगो समाधान भने हुँदैन ।

पटके बत्तीको समस्या समाधानका लागि कार्यालयले हाल के काम गरिरहेको छ ?

निकुञ्जभित्र रहेका रुखहरूका कारण जाने पटके बत्तीको समस्या समाधानको लागि हामीहरूले काम गरिरहेका छौँ । सामान्यतया निकुञ्जभित्रका रुखहरूको हाँगा वर्षको दुई पटक काट्ने गरेका छौँ । तर रुखै काट्न मिल्दैन । रुखका हाँगा मात्रै कटिङ् गर्ने हो । निकुञ्ज र नेपाली सेनासँग अनुमति लिइ समन्वय मात्र काम गर्नुपर्ने हुन्छ । अर्को कुरा अन्य क्षेत्रमा विद्युत अवरुद्ध हुँदा छिटो काम गर्न सहज भए पनि निकुञ्जभित्र अनुमति बेगर काम गर्न पाइँदैन । भलै लिखित रूपमा हामीहरूले अनुमति नलिए पनि मौखिक रुममा अनुमति लिएर काम गर्न जानुपर्ने हुन्छ । जंगली जनावरको डर उत्तिकै हुन्छ । रातीको समयमा मुख्यलाइनबाटै विद्युत गएको हो र समस्या निकुञ्जमा भएको हो भने बिहान मात्रै निर्माण गर्नुपर्ने बाध्यताहरू छन् ।

वीरेन्द्रनगर नगरभित्र थुप्रै जीर्ण संरचनाहरू छन् । ११ केभीए प्रसारण लाइनका कारण पटक–पटक विद्युत अवरुद्ध भइरहन्छ । नगरमा जोडिएको मुख्य ११ केभीए प्रशारण लाइन र ०.४ केभीएमा समस्या आएको खण्डमा हामीहरूलाई समस्या पर्छ । यो समस्याको दिगो समाधानका लागि विद्युतका संरचनाहरू परिवर्तन गर्नुपर्छ । सुर्खेत जिल्लामा अधिकांश स्थानमा पूराना कुहिएका काठका पोलहरू छन् । जसलाई नफेर्ने हो भने विद्युत अनियमित भइरहन्छ । पुराना संरचना निर्माणका लागि हामीहरूसँग बजेट हुँदैन । केन्द्रीय कार्यालयले पुराना संरचना फेरबदलका लागि बजेट पर्याप्त दिँदैन । पटक–पटक मैले केन्द्रीय कार्यालयमा यो कुरा राख्दै आएका छौँ । तर कार्यालयबाट प्रदेश सरकारसँग समन्वय गरी बजेट माग गरी काम गर्न निर्देशन भएको छ ।

  • एक सय ३२ केभीए प्रसारण लाइन विस्तारको प्रगति कहाँ पुग्यो ? कहिलेसम्म कर्णालीका नागरिकले यो लाइनबाट आउने विद्युत प्रयोग गर्न पाउँछन् ?

एक सय ३२ केभीए प्रशारण लाइनको ट्रान्समिटर लाइन विस्तारको लागि रुख कटानको सम्झौता भएको छ भन्ने सुन्नमा आएको छ । यसको जिम्मेवारी वितरण केन्द्र सुर्खेतलाई छैन । यसको लागि छुट्टै कार्यालय समेत स्थापना हुन्छ । सव–स्टेशनका लागि टेण्डर भएको छ । लाइन विस्तार भएको खण्डमा मुख्यलाइनबाट हुने समस्याका कारण नागरिकले मुक्ति पाउनेछन् । तर नगरभित्रको जीर्ण संरचनाका कारण हुने हैरानीलाई भने रोक्न सकिँदैन ।

  • विकास निर्माणका कार्यमा विद्युतीय संरचनाले बाधा पुगेको छ । पोल र लाइन विद्युतले समयमै सार्दैन भन्ने आरोप छ नि ?

हो त्यो म स्वीकार्छु । हामीहरूले पोल र लाइन समयमै सार्न सकिरहेका छैनौँ । त्यसको मुख्यकारण हामी भने होइनौँ । प्राधिकरण पनि निर्माण कार्य गर्ने सम्बन्धित निकाय नै हो । विद्युतका पुराना पोल सार्नका लागि हामीहरूसँग बजेट हुँदैन । विद्युतीय संरचना स्थानान्तरण कार्यविधि २०७६ अनुसार निर्माणको जिम्मा लिएको निकायले नै पोल सार्दा लाग्ने खर्च व्यहोर्नुपर्ने हुन्छ । त्यसमा पनि रकमको भोलुम अनुसार जिल्ला वितरण केन्द्र, प्रदेश वितरण केन्द्र र केन्द्रीय कार्यालयले निर्णय गर्नुपर्ने हुन्छ । सोही अनुसार सिधै काम गर्ने कि टेण्डर गर्ने भन्ने कुरा बजेटको भोलुमले निर्धारण गर्छ । कतिपय अवस्थामा सडकमा पर्ने रूख नहटाइएका कारणले पनि पोल सार्न समस्या हुने रेको छ ।

योजनाको डीपीआर गर्दा नै विद्युतका पोल र तार सार्नुपर्ने भए त्यो समयमै कार्यालयमा निवेदन दिएको खण्डमा निर्माण कार्यमा बाधा हुँदैन । आफ्नो योजनाको सबै प्रक्रिया पूरा गर्ने समयसम्म हामीहरूलाई कुनै पनि सूचना नदिने तर काममा बाधा आएपछि मात्रै निवेदन दिने प्रवृत्ति छ । हाम्रो पनि प्रक्रिया हुन्छ । तर त्यो कुरा न ठेकेदार कम्पनीले बुझेका छन् न त विकासे निकायले नै । त्यसैले यस्तो आरोप हामीलाई लाग्ने गरेको हो । यदि उहाँहरूले समयमै खबर गरेको खण्डमा र समयमै रकम जम्मा गरेको खण्डमा छिटो छरितो रूपमै काम गर्ने गरिएको छ ।

  • सुर्खेतमा विद्युत चुहावटको अवस्था कस्तो छ ?

सुर्खेत कम विद्युत चुहावट हुनेमध्येको जिल्ला हो । यहाँ विद्युत चोरीको खासै समस्या छैन । तर केही व्यक्तिहरूले वेल्डिङ्गको काम गर्नुपरेको खण्डमा मिटरको सिल तोडेर सिधै काम गर्ने गरेको पाइएको छ । कार्यालयलाई जानकारी भएसम्म कारबाही गर्ने गरेका छौँ । यो काम जसले गरेपनि घरधनीकै कमजोरी ठहरिन्छ । जानेर भन्दा पनि चेतनाको कमीले यस्ता काम भइरहेका छन् । यसो गरेको खण्डमा हामीले प्रयोगको आधारमा सतप्रतिशत जरिवाना गर्दछौँ । जस्तै मिटरबक्सको सिल तोडेर एक घण्टा मात्रै काम गरेको खण्डमा बाह्रै महिनाको जरिवाना लिने गरेका छौँ ।

  • यही अवस्थामा सुर्खेतमा ठूला उद्योग धन्दा सञ्चालन गर्नुपरेको खण्डमा विद्युत पर्याप्त छ ?

विद्युतका कारणले कुनै पनि समस्या छैन । संरचनाका कारण भने यहाँ ठूलो समस्या छ । सुर्खेतमा करिब १२ देखि १५ सय पोलहरू काठका छन् । ति एकदमै पुराना छन् । विशेषगरी लेकवेशी र गुर्भाकोटमा यस्तो समस्या छ । यसले कुनै पनि बेला दुर्घटना हुनसक्छ । हामीलाई निवेदनसमेत आउँछ तर पुरानो संरचना परिवर्तनका लागि उही बजेटकै समस्या छ । बजेट न्यून हुन्छ । जम्मा ३० देखि ४० लाख मात्रै बजेट मर्मतका लागि भनेर आउँछ । ठूला उद्योगधन्दा सञ्चालनका लागि विद्युत पर्याप्त छ  ।

  • विद्युत सेवा नियमित तथा भरपर्दो बनाउन उपभोक्ताले यहाँहरूलाई कसरी सहयोग गर्न सक्छन् ? नागरिकहरूसँग केही अपेक्षा छन् ?

सबैभन्दा चुनौतीको विषय संरचनाकै छ । त्यसैले सबैले संरचना सुधारमा ध्यान दिनुपर्छ । पोल, तार विस्तार, ट्रान्सफर्मर, स्टेसेट राख्न बाधा अवरोध गर्नुभएन । प्राधिकरणले आफ्नै लागि सेवा दिन लागेको हो भन्ने ठान्नु पर्छ । संरचनाको क्षमता वृद्धि हुनु भनेकै नागरिकलाई नै सुविधा पुग्ने हो । आवश्यकता अनुसार नागरिकले सहयोग गरिदिनुपर्छ । विद्युत झनै विकासको प्रमुख आधार हो । एउटा विकासको गतिविधि सञ्चालन गर्दा अर्को विकासलाई हानी नपुग्ने गरी विकासे निकायले काम गर्न सकेको खण्डमा र नागरिकले पनि आफ्नो कर्तव्य निभाएमा काम गर्न सहज हुनेछ ।

प्रकाशित मितिः   २७ कार्तिक २०७७, बिहीबार ०६:०५