जुम्लामा प्रदेशकै नमुना फुटसल

जुम्ला: फुटबलको सानो रूप ‘फुटसल’ अहिले देशभर लोकप्रिय बन्दै गइरहेको छ । बढ्दो जनघनत्व, बस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरूका लागि फुटसल भरपर्दो विकल्प बनेको छ । हिमाली जिल्ला जुम्ला पनि पहिलो पटक व्यावसायिक फुटसल स्थापना गरिएको छ । तीन जनाको लगानीमा कर्णालीकै दोस्रो तथा ठूलो फुटसल जुम्लामा निर्माण गरिएको हो ।

चन्दननाथ नगरपालिका–५ स्थित कालेखोलीमा ९५ लाख लगानीमा निर्माण गरिएको फुटसलको बुधवार औपचारिक उद्घाटन समेत गरिएको छ । अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा र उपाध्यक्ष उपेन्द्रमान सिंहको उपस्थितिमा फुटसल उद्घाटन भएको हो । खुला ठाउँको अभावले बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अभ्यास गर्न ‘फुटसल’ उपयुक्त हुने सञ्चालकहरूले बताएका छन् । चन्दननाथ नगरपालिका–५ का निर्पराज भारती, प्रमोद शाही र प्रकाश शाहीको संयुक्त लगानीमा फुटसल निर्माण गरिएको हो । त्यहाँ चेन्जिङ रुम, आराम गर्ने स्थान, मिटिङ तथा साथीभाइ भेट हुने ठाउँ र फुटबलमा चाहिने सामग्रीहरू उपलब्ध हुने सञ्चालकहरूले बताए । ‘दुई वर्षदेखि पूर्वतयारी गरेर फुटसल सञ्चालनमा ल्याएका छौँ,’ सञ्चालक भारतीले भने ।

जुम्लालाई स्पोर्ट हबका रूपमा विकास गर्ने योजनासहित फुटसल सञ्चालनमा ल्याइएको उनले बताए । पानी, शौचालय, क्यान्टिन, वाचमेन रुमसहित अत्याधुनिक प्रविधि प्रयोग गरेर नमुना फुटसल निर्माण गरिएको उनको दाबी छ । एन्फाका केन्द्रीय अध्यक्ष शेर्पाले निजी लगानीमा निर्माण गरिएको फुटसलले जुम्लाको खेल क्षेत्रको विकासमा ईट्टा थपेको बताए । उनले भने, ‘पूर्वाधार अभावमा खेल क्षेत्र ओझेलमा परेको छ । तीन तहको सरकार हुँदाहुदै पनि जुम्लाका तीन जना युवाले व्यक्तिगत लगानीमा खेल क्षेत्रको प्रवद्र्धनका लागि गरेको योगदान प्रशंसनीय छ ।’ उनले निजी तथा सरकारी लगानीमा ठूला पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले जुम्लाको खेल क्षेत्रलाई गति दिन आवश्यक लगानी गर्न तयार रहेको बताइन् । कल्पनानै नगरिएको फुटसल निर्माण गरी जुम्लालाई स्पोर्ट हब बनाउन योगदान गरेकोमा आभार प्रकट गर्दै उनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् ।