जीविका धान्न सीपकै सहारा

वीरेन्द्रनगर–११ का करवीर कामी झण्डै दुई दशकसम्म भारत जाउँ–आउँ गरिरहे । यतिका वर्ष परदेशमा गइरहनु उनको मजबुरी थियो । घर खर्च चलाउने अरू मेसो थिएन । मजदुरीका लागि भारत नगइ करवीरलाई करै हुन्थ्यो ।

खेतीपातीले मुस्किलसँग तीन महिना खान पुग्ने । गाउँमा कमाइ गरेर भुल्ने बाटो थिएन । रोजगारी अहिले पनि पाइँदैन । उसबेला झन कसरी पाइयोस् ! अरूको खेतबारीमा दिनभर काम गरिदिए एक÷दुई माना अन्न दिन्थे । त्यसले आफ्नो त के छोराछोरीको पेटसमेत भरिन्थेन । परिवारले अघाउञ्जेल खान पाउँदैन्थे । करवीर कमाइका लागि भारत आउने–जाने गरिरहे । यस्तैगरी वर्ष बीस बितिगए । उनको पारिवारिक अवस्था उस्तै रहिरह्यो । जीवनशैली सुध्रिएन । झन् ठूला दुःखले घेर्दै लगे ।

अभाव टार्न करवीरको परिवार दैलेखबाट सुर्खेत स¥यो । घरमुली भएकाले बसिरहेको ठाउँ छोड्ने निर्णय उनैको थियो । परिवारसहित सुर्खेतको वीरेन्द्रनगर हानिए । थातथलो छोडेर हिँड्नु उनको बाध्यता भइहाल्यो । घर खर्च धान्नै धौ–धौ भएपछि उनले त्यो ठाउँनै छोड्ने निधो गरेका थिए । यहाँ पनि सजिलै काम पाउने अवस्था भने थिएन ।

सहर बजार आउँदैमा त्यसै पेट नभरिने । काम खोजे, पाएनन् । हातमा सीप थियो । बाबु–बाजेले गर्दै आएको आरन पेसा अँगाले । अरूले काम नदिएपछि यही सीपले उनलाई यहाँ अड्यायो ।

करवीरले दश वर्षदेखि वीरेन्द्रनगरको पिपिराचोकमा आरन व्यवसाय गरिरहेका छन् । कुनै बेलाको बालिघरे पेसा यो अहिले व्यावसायिक बन्दै गएको छ । फलामबाट विभिन्न औजार तयार पार्छन् । मर्मत गर्छन् । उनको आरनमा हँसिया, कोदालो, बञ्चरो बनाउनेहरू आइरहन्छन् । ‘राम्रो आम्दानी भइरहेको छ । ‘पुख्र्यौली पेसाले अहिले आनन्द दियो,’ करवीरले भने ।

नरे कसेरा अर्का आरन व्यवसायी हुन् । उनी पनि कुनै समय भारत नै जान्थे । पेट पाल्नकै लागि कालापहाडमा कैयन वर्ष पसिना बगाए । सात वर्षयता उनी परिवारको साथमै छन् । गुजरा चलाउन आरन व्यवसाय छँदैछ । ‘मैले १२ वर्षसम्म कमाइका लागि भारत आउने जाने गरे । तर भारतको कमाइले मात्र नपुग्ने भएपछि बसाइँ नै सारियो । आफूले यतै केही गर्नेगरी परिवारसहित यहाँ आयौँ,’ उनले विगत सुनाए ।

कसेरा पहाडमा खान लाउन समस्या भएपछि सुर्खेत उपत्यका आए । उनको घर जाजरकोट हो । उमेर बढ्दै जाँदा शारीरिक अवस्था पनि बिग्रदै गयो । कमाउन बाहिर जान सकेनन् । वीरेन्द्रनगरमा उनले पनि गर्नका लागि केही काम पाएनन् । उनले पनि आरन पेसा अँगाले । यसैबाट भएको कमाइले परिवारको खर्च जुटाउने सोच बनाए । आरन उनको पनि पुख्र्यौली पेसा हो । वीरेन्द्रनगर–१० स्थित नयाँगाउँमा आरनको काम थाले । ‘सात वर्ष भइसक्यो यही ठाउँमा बसेर आरनको काम गर्न थालेको,’ उनी भन्छन्, ‘कमाइकाज ठीकै छ ।’

यसपटक कोरोनाका कारण धेरैले रोजगारी गुमाए । भारत तथा अन्य देशबाट रोजगार गुमाएर धेरै कर्णालीका नागरिकहरू फर्किए । सबैतिर काम बन्द भएपछि आर्थिक संकटमा धेरैको परिवार गुज्रियो । तर करवीर कामी र नरे कसेराको परिवारले भने उत्ति साह्रो आर्थिक संकट भोग्नु परेन । घरेलु औजारहरू र किसानलाई चाहिने सामग्री बनाउन उनीहरूलाई भ्याइ–नभ्याई भयो । सबैतिर बन्द भएको समयमा कसरी घर खर्च चलाउने भनेर कुनै समस्या नभएको उनीहरू बताउँछन् ।

उनीहरूलाई गरिहेको व्यवसायले यो संकटको समयमा बलियो आडभरोसा दिएको छ । लकडाउन हुँदा बजारमा राखेका पसल बन्द भए । त्यसपछि आरनमा आउनेहरू झनै बढे । ‘खेतीकिसानी गर्नेहरू समान बनाउन आइरहन्थे । त्यतिबेला हाम्रो कमाइ राम्रो भयो । आर्थिक संकट भएन,’ करवीर भन्छन् । उनले स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै काम गरेको सुनाए । आरन व्यवसायबाट मासिक कम्तीमा १० देखि १५ हजारसम्म कमाइ हुन्छ ।

लामो समय भारतमा गुजारेका उनीहरूका थुप्रै तिता अनुभव छन् । कमाइ गर्न सजिलो थिएन । काम गराएर ठेकेदारले पैसा नदिएर ठग्थे । चाडपर्वमा पनि घर आउन पाइँदैन्थ्यो । मिस्त्री लेबरको काम गर्नुपर्ने भएकाले अर्कोको ठाउँमा हेपिएर बस्नुपथ्र्यो । दुःख गरेर कमाएको पैसा घरमा आएर ऋण तिर्न ठिक्कै हुन्थ्यो । सीपले आँटेको व्यवसायले अहिले परिवारसँगै बसेर राम्रो आम्दानी गर्न पाउँदा उनीहरू सन्तुुष्ट छन् ।

आरन व्यवसायीले यही पेसाबाट घर खर्च मात्र धानेका छैनन्, छोराछोरीलाई उच्च शिक्षा पनि पढाएका छन् । ‘अहिले हामी राज्यलाई कर पनि तिर्छाैँ । व्यवसाय दर्ता गरेरै चलाएका छौँ,’ करवीरले भने । लोप हुँदै गरेको आरन व्यवसाय पछिल्लो समय धेरैका लागि स्वरोजगारको माध्यम बनेको छ । आरन व्यवसायीबाट कर्णालीका सयौँ परिवारले जीविकोपार्जन गर्दै आएका छन् ।