अब सुर्खेतमा पनि सहुलियत मूल्यको चामल

नेपाल खाद्य संस्थानले सुर्खेतमा सहुलियत मूल्यको चामल विक्री शुरु गरेको छ । स्थानीयले सहुलियत मूल्यमा गुणस्तरीय चामल पाउनु पर्ने माग राखेपछि संस्थानले खुलारुपमै चामल विक्री वितरण शुरु गरको हो । पहिलो पटक दशै, तिहार तथा छठ जस्ता चाडपर्व लक्षित सहुलियत दरको चामल विक्री शुरु गरेको संस्थानले अब बाह्रै महिना पसल सञ्चालन गर्नेछ ।
बाढीपहिरो, खडेरी जस्ता दैविकप्रकोपबाट आक्रान्त सुर्खेती जनताको माग आएपछि सहुलियत मूल्यका चामल विक्री शुरु गरिएको संस्थानका प्रमुख भीम थापाले जानकारी दिए । सुर्खेतमा संस्थानको गोदाम भएर पनि स्थानीयलाई चामल विक्री नगरेर कर्णाली र दैलेखमा ढुवानी हुँदै आएको थियो । ‘स्थानीयको माग बढ्दै गएका कारण केन्द्रबाट अनुमति पाएपछि सहुलियत मूल्यको चामल विक्री शुरु गरका हौं,’ संस्थानका प्रमुख थापाले भने । संस्थानबाट विक्री हुने चामल बजारको मूल्यभन्दा सस्तोमा पाइनेछ । व्यापारीले कृत्रिम अभाव सृजना गरेर कालोबजारी तथा मूल्यमा आफूखुशी गर्न थालेपछि नागरिकलाई सहजताका लागि संस्थानले चामल विक्री गर्न लागेको हो ।
संस्थानले सार्वजनिक विदा बाहेक विहान १० बजेदेखि बेलुका ५ बजेसम्म चामल विक्री वितरण भईरहेको जनाए छ । सहुलियत मूल्यको चामल प्रतिव्यक्ति बढीमा एक क्वीन्टलसम्म खरिद गर्न पाईने छ । संस्थानले सुर्खेतमा चार प्रकारका सहुलियत मूल्य चामल ल्याएको छ । जिरा मन्सुली, अरुवा सोना मन्सुली, अरुवा मकवानपुर र बंगलादेसी उसिना रहेका छन् । ती सबै चामलमा प्रति क्वीन्टल पाँच प्रतिशतले छुट गरिएको छ । सुर्खेती बजारमा प्रति किलो ८० रुपैयाँमा विक्री भईरहेको जिरा मन्सुली चामल संस्थानले ६० रुपैयाँमा विक्री गरिरहेको छ । संस्थानका अनुसार अरुवा सोना मन्सुली प्रति किलो ४० रुपैयाँ ७० पैसा, अरुवा मकवानपुर ३६ रुपैयाँ ७७ पैसा र बंगलादेसी उसिना ३५ रुपैयाँ ८७ पैसामा विक्री भईरहेको छ ।
संस्थानले वीरेन्द्रनगर शाखाबाट नै चामल विक्री गर्ने प्रबन्ध मिलाएको छ ।

प्रकाशित मितिः   २ मंसिर २०७३, बिहीबार १६:०६