रत्न राजमार्गलाइ दुइ लेन बनाउने प्रक्रिया सुरु
कोहलपुर–सुर्खेत सडक (रत्न राजमार्ग) निर्माण भएको ३१ वर्षपछि डबल लेन स्टेण्डर (दुई लाईन) बन्ने भएको छ । साँघुरो सडकका कारण जोखिम मानिएको कोहलपुर–सुर्खेत सडकलाई विश्व बैङ्कको ऋण सहयोगमा डबल लेनका रुपमा विस्तार गर्न लागिएको हो ।
रत्न राजमार्गको कोहलपुर–सुर्खेत खण्डमा पर्ने चिसापानी हात्तीसारदेखि सुर्खेतको धुलियाविटसम्म करीब ६८ किलो मिटर सडक सुधार गरी डबल लेन बनाउने प्रक्रिया शुरु भएको सडक विभागले बताएको छ । सडक विभाग वैदेशिक महाशाखाका सिनियर डिभिजनल ईञ्जिनियर अजयकुमार मूलले कोहलपुर–सुर्खेत सडक डबल लेन स्टेण्डरको बनाउने प्रक्रिया शुरु भएको जानकारी दिए । उनले सडक स्तरोन्नती गर्न डिटेल सर्वे तथा डिजाईनका लागि परामर्श दाता छनौटको काम सम्पन्न भएको बताए । उनका अनुसार हिफाफ ईण्टरनेशनल एवी स्वीडेन ज्वाईण्ट भेञ्चर वीसीएल एशोसिएट लिमिटेड बङ्गलादेशले जिम्मा पाएका छन् ।
सडकको डिटेल सर्वे तथा डिजाईनको काम यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसअघि विश्व बैङ्कको ऋण सहयोगमा सडकको स्तरोन्नतीको काम शुरु गर्ने भनिएपनि हालसम्म टुङ्गो लागेको छैन । उक्त सडकखण्डको विस्तारका लागि करीब १ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । दोहरो गाडी चल्न सक्ने कालोपत्रे सडक नहुँदा यात्रु तथा सवारी साधानले सास्ती खेप्दै आएको कोहलपुर–सुर्खेत खण्ड विस्तारका लागि लामो समय पछि सरकारको ध्यान पुगेको छ । उक्त सडकमा यसअघि सामान्य मर्मत गरी कामचलाउ गर्ने गरिएको थियो ।
चार मिटर मात्रै कालोपत्रे भएको सडक जीर्ण हुँदा यात्रुले समस्या भोग्दै आएका थिए । रत्न राजमार्गको चिसापानीदेखि सुर्खेतखण्डमा सरकारले १७ वर्ष अघि कालोपत्रे गरेको थियो । कोहलपुर–सुर्खेत सडक विस्तारका लागि स्वदेशी तथा विदेशी सहयोगबाट भएपनि काम शुरु गरिने डिभिजनल सडक कार्यालय सुर्खेतका प्रमुख बेलबहादुर भुजेलले बताए । उनले विस्तार गरिने सडकको क्षेत्र बाँकेको चिसापानीदेखि सुर्खेतको धुलियाविटसम्म करिब ६८ किलोमिटर रहेको जनाए ।
सडक यातायातको चुनौतिको रुपमा रहेको कोहलपुर–सुर्खेत सडक डबल लेन बनाउन जनप्रतिनिधिले पहल गरे अनुसार सरकारले सडक विस्तार गर्न लागेको सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले बताए । उनले सहज यातायातको अभावमा सुर्खेतको विकासका लागि बाधकको रुपमा रहेको कोहलपुर–सुर्खेत सडक विस्तारले सुर्खेतवासीलाई मात्र नभई कर्णालीका बासिन्दालाई समेत सुविधा पुग्ने जनाए । उक्त सडक विस्तारका लागि रकम अभाव हुन नदिने उनको भनाइ छ ।
(आर्थिक अभियानबाट साभार)
प्रकाशित मितिः २ मंसिर २०७३, बिहीबार १३:०८
साझा बिसौनी ।