स्याउ खेतीले छुटायो मुग्लान

1बारीमा राम्रो उब्जनी नहुने र घरखर्च धान्न मुस्किल हुँदा जुम्ला चन्दननाथस्थित रोकायावाडाका भक्त रोकाया मजदुरीका लागि मुग्लान जान्थे । भारतमा मजदुरी गरेर कमाएको आम्दानीले परिवार पाल्नै कठिन हुन्थ्यो । तर विगत ९ वर्षदेखि उनी मुग्लान गएका छैनन् । कारण अहिले उनको बारीमा उत्पादन हुने स्याउले घरखर्च चलाउन मात्र होइन, सुर्खेतमा घरघडेरी किन्नसमेत पुगेको छ ।

कर्णाली राजमार्ग खुलेपछि रोकाया परिवारले गाउँकै पखेरो खनजोत गरेर स्याउको बगैंचा बनाए । अहिले त्यही बगैंचामा लटरम्म स्याउ फल्ने गरेको छ । व्यापारीहरू बगैंचामै पुगेर स्याउ खरिद गर्न थालेपछि बजारको पनि समस्या टरेको छ । घरमै बसेर एक सिजनमा नै दुई लाख रूपैयाँसम्म आम्दानी हुन थोलेपछि उनले कालापहाड जान छोडेका हुन् । स्थानीय बाली त्यागेर स्याउ खेतीमा लागेका भक्त रोकायाले भने, ‘घरमै बसीबसी आम्दानी भएको छ, बगैचामै आएर स्याउ खरिद गर्छन् । परिवारको खर्च टरेकै छ, अब त्यो कालापहाडमा पसिना बगाउन किन जानु ?’ घरखर्च जोहो गर्नकै लागि आफूले १५ वर्षसम्म कालापहाड धाएको उनले सुनाए ।

जुम्ला तलीउमका गोर्खबहादुर बुढा मजदुरीका लागि भारत नगएको ८ वर्ष भयो । छिमेकीको बगैचामा बोटमै स्याउ बिक्री भएको देखेपछि स्याउ खेतीमा लागेका उनी अहिले गाउँकै नाम चलेका किसान बनेका छन् । १३ कठ्ठा जग्गामा स्याउ खेती गर्दै आएका उनले भने, ‘हामीलाई मुग्लान जानुपर्ने बाध्यता थियो, जौं र कोदोले वर्षभरी खान पुग्थेन । भारतमा पसिना बगाएर परिवार पालेका थियौं, तर अहिले हाम्रा दिन फेरिएका छन् ।’ स्याउखेतीले वर्षमा एक लाख ५० हजार नगद आम्दानी हुन थालेको भन्दै उनले कालापहाड जानुपर्ने बाध्यता टरेको बताए । परिवारका सदस्यहरू स्याउखेतीमा जुटेको भन्दै उनले बगैंचामा नै स्याउ बिक्री हुने गरेको बताए । उनले अहिले स्याउ बेचेको आम्दानीले नै छोराछोरीलाई सुर्खेतमा पढाइरहेका छन् ।
स्याउ खेतीमा लागेपछि मजदुरीका लागि भारत जान छोडेका भक्त र गोर्ख त उदाहरण मात्र हुन् । कालापहाडमा पसिना बगाएर जीविकोपार्जन गर्दै आएका जुम्लाका अधिकांश परिवार पछिल्लो समय व्यवसायिक स्याउ खेतीमा जुटेका
छन् । कर्णाली राजमार्ग सञ्चालनमा आएपछि स्याउ बिक्री हुन थालेको र स्याउको मागसमेत बढेपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् । स्याउबाट राम्रो आम्दानी हुन थालेपछि हिजोआज जुम्लामा रैथानेबाली विस्थापित भएका छन् । दुःख कम हुने र नगद कमाइ हुन थालेपछि स्थानीयहरू स्याउ खेतीमा जुटेका हुन् । रोकायावाडा निवासी कृष्णा रोकायाले भनिन्, ‘सुरुमा त डोकोमा बोकेर बजार जान्थ्यौं, अहिले त बगैंचामै गाडी आउँछन् । हामीलाई धेरै सजिलो भएको छ, स्याउ बेचेरै चामल र नुन किन्ने गरेका छौं ।’ उनले विगतमा सडक नहुँदा सुर्खेतबाट पैदल हिँडेर नुन बोकेकोसमेत स्मरण गरिन । बजारमा बिक्री नभएको स्याउ चाना बनाएर सुकाउने र बेसिजनमा बिक्री गर्ने गरेको उनको भनाइ छ ।

आफूहरूले कालापहाडमा गएर पसिना बगाउनुपर्ने बाध्यता टरेको भन्दै स्थानीय नरजीत परियारले कर्णालीको मुहार फेरिन लागेको बताए । ‘सरकार हामीलाई जन्म र मृत्युमा २० किलो चामल दिने भन्छ’ उनले भने,‘अब कर्णाली पहिलाकै जस्तो छैन, चामल बाँडेर परनिर्भर बनाउने काम राज्यले नगरोस् । बरु हामीलाई सिँचाइ र मल आवश्यक छ, चामल बाँड्नुभन्दा सरकारले कर्णालीमा स्याउका बगैंचामा लगानी गरोस् ।’ सिँचाइ र उन्नत बीउको सुविधा भए स्याउले नै कर्णालीको समृद्धि हुने उनको दाबी छ । जिल्लामा उत्पादन भएको स्याउलाई बाहिर निर्यात गर्नेतर्फ राज्यले ध्यान दिएमा जुम्लाका अधिकांश परिवारको कालापहाड जानुपर्ने बाध्यता टर्ने उनको भनाइ छ । परिवारसँगै बसेर स्याउबाट चाहेकै आम्दानी हुन थालेको रोकायावाडाकी रूपा रोकायाले बताइन् । साथै उनले स्थानीय बाली भन्दा स्याउबाट धेरै आम्दानी हुन थालेको जानकारी दिइन् ।
स्थानीयलाई स्याउ खेतीमा आकर्षित गर्नका लागि अहिले यूएनडीपीले सहयोग गरिरहेको छ । स्थानीयलाई समूहमा आवद्ध गराएर सहकारीमार्फत् सामूहिक खेतीतर्फ लाग्न सहजीकरण गरिएको यूएनडीपीले जनाएको छ । बढ्दो जलवायु परिवर्तनको असरसँग जुध्दै किसानलाई लघु उद्यममार्फत् आयआर्जनमा लाग्न प्रेरित गरिएको यूएनडीपीका दीपक केसीले बताए । उनका अनुसार स्थानीय किसानलाई उत्पादन, भण्डारण र बजारीकरणसम्बन्धी तालिमसमेत दिइएको छ । जसले गर्दा किसानहरू थप उत्साहित बनेका छन् । यसले स्थानीयलाई गाउँमै रोजगारी सिर्जना भएको छ भने मुग्लान जानुपर्ने बाध्यताबाटसमेत उनीहरूलाई मुक्ति मिलेको छ ।

प्रकाशित मितिः   २ मंसिर २०७३, बिहीबार ११:०६