कालिकोटको समृद्धिका सम्भावना र चुनौती
पृष्ठभूमि
अनमोल प्राकृतिक सम्पदा सिरानीमा लुकाएर भोक अभाव र विकटताको जाँतोमा पिल्सिदै आएको नेपालको कान्छो हिमाली जिल्ला कालिकोट हो । १७४१ वर्ग कि.मि. मा फैलिएको यो जिल्लामा २३,०१३ घरधुरीका १,३६,९४८ मानिसहरू बसोबास गर्दछन् । नेपालकै सुन्दरताको खानी रारा र फोक्सुण्डोको मूल ढोका यो जिल्ला आर्थिक उत्पादन, सामाजिक उन्नयनन, शैक्षिक विकास, भौतिक पूवार्धार र राजनैतिक पहुँचमा पनि अन्य जिल्लाको तुलनामामा पछाडि देखिन्छ । समुन्द्र सतहको ७३८ मिटरदेखि४७९० मिटरसम्मको उचाइ भएको यो जिल्लामा तराईमा फल्ने आँपदेखि हिमालमा फल्ने स्याउसम्म पाइन्छ । आजको युगले रूपान्तरण खोजेको छ । रूपान्तरण भनेको एक अवस्थाबाट अर्को अवस्थामा पाइला टेक्नु हो । यस जिल्लाले पछौटेपन, शोषण, बेरोजगारी, आर्थिक असमानताबाट रूपान्तरण हुने बाटो खोजिरहेको छ ।
कर्णाली अञ्चल धार्मिक महŒवका दृष्टिकोणले विशेष क्षेत्र मानिन्छ । देवीदेवताको प्रमुख बासस्थान रहेको यस अञ्चलमा हरेक घरमा देवालयहरू भेटिन्छन् । देवतालाई नसोधी मानिसहरू कुनै पनि काम गर्दैनन् । २८ प्रतिशत दलित समुदायको बसोबास भएको यस जिल्लामा भौगलिक जटिलताको बीचमा बाँचेका जिन्दगीहरू आधुनिक विकासको आरामदायी आनन्द र नयाँ प्रविधि उपभोग गर्ने प्रतिक्षामा बसेका छन् । बलियो स्थानीय सरकारको गठन र दिगो वित्तीय विकेन्द्रीकरण गरी पूर्वाधार निर्माण गर्नु नै जिल्लाको पहिलो खुट्किलो हुनेछ । त्यसैगरी फरक आर्थिक सामाजिक संरचनाको समुचित समायोजन गर्ने र प्राकृतिक सम्पदाहरूको उचित व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ । विविध संस्कृति र परम्पराले बाँधिएको यो जिल्लाको समग्र समृद्धिको बाटो खोजीरहेको छ ।
जिल्लाको वर्तमान अवस्था
कालिकोट जिल्लाको वर्तमान राजनैतिक, आर्थिक, शैक्षिक, भौगोलिक र सामाजिक अवस्था दयनीय र कष्टपूर्ण छ । प्रतिव्यक्ति आय ज्यादै न्यून छ, कुल ग्राहस्थ उत्पादन पनि कम छ । जिल्लामा साना, मझौला तथा ठूला उद्योग र कलकारखाना नहुनु, दक्ष जनशक्तिको अभाव र गुणस्तरहीन शिक्षा हरेक वर्ष करिब १३,५०० युवाहरू मुग्लान गइरहेका छन् । व्यक्तिमा परनिर्भरता बढेको मात्र छैन जिल्लाको अर्थतन्त्र नै भारत र अनुदानले चलेको छ । कालिकोट जिल्लालाई आवश्यक प्रायः वस्तु आयात हुन्छन् तर निर्यात गर्न सकिने केही पनि छैन । मानव विकास सूचकाङ्कमा ७४ औं स्थानमा रहेको यो जिल्ला जल जडिबुटी र जंगलका हिसाबले प्रसिद्ध मानिन्छ । यस जिल्लाको ४५.२ प्रतिशत जनता गरिबीको रेखामुनी छन् । अन्तर जिल्ला व्यापारबाट खासै आम्दानी भएको देखिदैन ।
नेपालकै लामो र जलविद्युत उत्पादनका दृष्टिले महŒवपूर्ण नदी कर्णाली र तिला यही जिल्लामा बगेका छन् । यस जिल्लामा ९४.८२ प्रतिशत जनता कृषिमा निर्भर छन्, २.८४ प्रतिशतले व्यापार, १.८ प्रतिशतले मात्रै नोकरी र १.६ प्रतिशतले अन्य पेशा अगालेका छन् । जिल्लामा ५८.९१ प्रतिशत बासिन्दा मात्रै साक्षर छन् यस जिल्लामा नदी, ताल, मन्दिर, पर्यटकीय स्थलको कमी छैन तर यी सम्पदाहरूको संरक्षण र विकासको खाँचो देखिन्छ । यस जिल्लाको पुनर्संरचनालाई महŒवपूर्ण अवसरका रूपमा उपयोग गर्नु पर्दछ । कालिकोटको जल, जमिन र जंगलको सही उपयोग र संरक्षण विना जिल्लाको समग्र विकास हुन सक्दैन ।
समृद्धिका आधारहरू
समृद्धिको पहिलो आधार जलविद्युत
कालिकोट नदी नाला, खोला र छहराको घेरामा रमाइ रहेको जिल्ला हो । भिरालो जमिनमा बगेका खोलाको जलप्रवाह अत्यन्तै उच्च छ । नेपालकै लामो र जलविद्युत उत्पादनका दृष्टिले महŒवपूर्ण नदी कर्णाली र तिला यही जिल्लामा बगेका छन् । यसका साथै ५०० किलोवाटदेखि ५० मेघावाटसम्म विद्युत उत्पादन गर्न सकिने सान्नीगाढ, फुगाढ, खुलालुगाढ, पाद्मगाढ, जुगाढ, खल्लागाढ, नाग्मगाढ, बालीगाढ, भर्तागाढ, लापुगाढ, हाउडीगाढ, उखाडीगाढ, पीपगाढ, जाफेगाढ, सिम्लेगाढ, झ्यागाढ, जस्ता सयौं खोलाहरू अविचलित रूपमा बगीरहेका छन् । तर पनि ७ वटा गाविसका बासिन्दाले मात्रै मौसमी बिजुली उपभोग गरेका छन् । अन्य सबै सोलार र दियालोको प्रकाशमा जीवन गुजारिरहेका छन् । यसरी जिल्लामा १० मेघावाट विद्युत उत्पादन हुन सकेको खण्डमा पूरै जिल्ला उज्यालो र सयौ उद्योग सञ्चालनमा आउने निश्चित छ । कालिकोटमा सर्वे भइसकेका तिला १ (४५० मेगावाट) तिला २ (४५० मेगावाट) अपर कर्णाली बी (६० मेगावाट) अपर कर्णाली एसटी १ (१८४ मेगावाट) रुडुबन्चु १ र २ (२५.५ मेगावाट) गरी ११६९.५ मेगावाट विद्युत निकाल्न सकिन्छ । यसका साथै जिल्ला विभिन्न भू–भागमा गरी १३८७ किलोवाट लघु जलविद्युत योजना सञ्चालन गर्न सकिन्छ ।
समृद्धिको दोस्रो आधार कृषि र पशुपालन
सानो जनशक्ति र भूगोलबाट ठूलो समृद्धि हुन सक्ने क्षेत्र कृषि हो । यस जिल्लामा ९० प्रतिशत जनता कृषिमा निर्भर छन् भने १० प्रतिशतले मात्रै व्यापार, नोकरी र अन्य पेसा अँगालेका छन् । कुल १८०८७.८० हेक्टर खेतीयोग्य जमिन छ तर १६३७५ हेक्टर अर्थात् २० प्रतिशत जमिनमा मात्रै परम्परागत खेती भइरहेको छ । कुल जमिनको २९.३५ प्रतिशत भू–भाग उपयोगविहीन भएकोले यस भू–भागको समेत प्रयोग गर्नु पर्नेछ । जिल्लामा खाद्यान्न बालीमा दलहन, तेलहन, मसला, फलफूलका अतिरिक्त च्याउ, मह, पिँडालु, सखरखण्ड, तरुल, चिया र कफी बालीको प्रवल सम्भावना छ । कृषिमा आधुनिकीकरण, व्यसायीकरण नगरी जिल्लाको कुल खाद्यान्न आवश्यकता २३,११५.४० मेट्रिक टन पूर्ति गर्न असम्भव छ । त्यसैगरी जिल्लाका बहुसंख्यक कृषकको उत्पादन ६ महिना पनि पुग्दैन । त्यसकारण कृषकहरू ६ महिना भारतको उत्तर प्रदेश, गडबाल र कस्मिरमा भारी बोक्न विवस छन् । खेती गरिएको जमिनमध्ये ४९.४१ प्रतिशत मात्रै सिँचाइ भएको छ भने बाँकी ५०.५९ प्रतिशत जमिनमा आकाशको भरमा खेती गरिन्छ । उन्नत बीउविजन, उपकरण र प्रविधिको ज्ञान र प्रयोग हुन सकेको खण्डमा जिल्लाको समृद्धि सम्भव छ । प्रायः घरमा सीमित आवश्यकताको लागि पशुपालन गरिएता पनि मनग्य आम्दानी हुन सकेको छैन । व्यवसायिक पशुपालन, पशु फर्म र उन्नत पशुवस्तु नभइ जिल्लाको पशुपालन व्यवसाय फस्टाउन सक्दैन । कृषि र पशुपालन व्यवसायमार्फत् समृद्धि ल्याउन विभिन्न योजना आवश्यक छन् ।
समृद्धिको तेस्रो आधार यातायात र पर्यटन
यातायात समग्र विकासको मेरुदण्ड हो । यातायातको विकास नभइ समाजको अन्य पक्षको विकासमा समेत प्रत्यक्ष प्रभाव पर्दछ । विकासको प्रमुख पूर्वाधार अन्तर्गत सडक सञ्जाल पर्दछ । यस अन्तर्गत कर्णाली राजमार्गमा पर्ने ६० किमी कालिकोट खण्ड बाहेक अन्य सडकको निर्माण सम्पन्न भएको पाइदैंन । यस जिल्लामा रहेका दुई वटा राजमार्ग कर्णाली र कर्णाली कोरीडोरको स्तरउन्नतिसँगै मान्मदेखि राम्नाकोट, खुलालुदेखि रूप्सा, रकुदेखि कुमालगाउँ, भर्तादेखि चिलखाया, रकुदेखि मुम्रा, सान्नीघाटदेखि सिपखाना, व्याउलीदेखि पानतडी, दैलेख गाल्जे, जारकोट धौलागोहसम्म जम्मा ३३९ किमी सडकको तत्काल निर्माण आवश्यक छ ।
कालिकोट जिल्लाको आर्थिक समृद्धिको लागि पर्यटन व्यवसायलाई समेत मुख्य आधार बनाउन सकिन्छ । किनकि यो जिल्ला समग्र कर्णाली क्षेत्रको मूल ढोका हो । यो बाटो भएर कर्णालीका सुन्दरता हेर्न आउने पर्यटकलाई यातायात, आवास र मनोरञ्जन दिएर आर्थिक उन्नति र रोजगारीको प्रवल सम्भावना छ ।
समृद्धिको चौथो आधार शिक्षा र स्वरोजगार
शिक्षा समाज विकासको महŒवपूर्ण अङ्ग हो । कालिकोटको समृद्धिमा शिक्षाले पनि महŒवपूर्ण भुमिका निर्वाह गर्नेछ । व्यवस्था परिर्वतनसँगै यस जिल्लामा पनि शैक्षिक संस्थाको तीव्र विकास भएता पनि गुणस्तरीय शिक्षाको आवश्यकता परिपूर्ति हुन सकेको छैन । जिल्लामा ६ वटा क्याम्पस २४ वटा उच्च मावि, ५२ वटा मावि, ११२ निमावि, २९० प्रावि २१५ बाल विकास केन्द्र र ३ वटा प्राविधिक विद्यालय स्थापना भएका छन् । तथापि उच्च शिक्षा अध्ययन गर्न कालिकोटबासीहरू काठमाडौं, सुर्खेत र नेपालगन्ज जानुपर्ने बाध्यता छुटेको छैन । जिल्लामा ५८.९१ प्रतिशत बासिन्दा मात्रै साक्षर छन् । सरकारी विद्यालयमा प्रभावकारी शिक्षण नहुनु र निजी शिक्षण संस्था स्थापना हुन नसक्नुले कालिकोटको शिक्षा अर्थपूर्ण बन्न सकेको छैन । आजको युगमा पनि ४१.०९ प्रतिशत जनता निरक्षर छन् । जिल्लामा उत्पादित जनशक्तिले विश्व बजारमा प्रतिस्पर्धा गर्न सकेको छैन । विद्यालयहरूमा बालमैत्री संरचना र आधुनिक पूर्वाधार सेवा सुविधा नहुनु पनि अर्को समस्या हो ।
हरेक वर्ष करिब १५०० विद्यार्थी एसएलसी उत्तीर्ण हुन्छन् तर व्यवसायिक शिक्षा नभएकोले विद्यालयहरू बेरोजगार जन्माउने कारखाना बनेका छन् । यस जिल्लामा उद्योग कलकारखाना नहँुदा युवाहरू बरालिन विवश छन् । बेरोजगारलाई स्वरोजगार बनाउन सीपमूलक तालिम, लोकसेवा तयारी कक्षा र उद्योगको स्थापना आवश्यक छ । जिल्लाका बेरोजगार युवाहरूको विकासका लागि दस्ता बनाउनुपर्ने देखिन्छ ।
समृद्धिको पाँचौ आधार जंगल र जडिबुटी
कालिकोट जल, जंगल र जडिबुटीका लागि प्रचूर सम्भावना रहेको क्षेत्र हो । पर्यावरणीय महŒवका हिसाबले वनक्षेत्र महŒवपूर्ण मानिन्छ । यस जिल्लाको ६०.९१ प्रतिशत भू–भाग वनक्षेत्रले ढाकेको छ । उचाइको विविधतासँगै यस जिल्लामा जैविक विविधता र सबै प्रकारका जडिबुटीहरू पाइन्छ । हालसम्म आयात बढी र निर्यात कम गर्दै आएको यस जिल्लाको वनजन्य पैदावार, जडिबुटी निर्यात र प्रशोधनबाट महŒवपूर्ण आय भिœयाउन सकिने सम्भावना रहेको
छ । यस जिल्लामा बहुमूल्य जडिबुटीहरू प्रशस्तै पाइन्छन् । यी जडिबुटीको उचित उपयोग हुन सकेमा जिल्लाले विकासमा फट्को मार्ने देखिन्छ ।
निश्कर्ष
जिल्लाको समृद्धिको लागि विभिन्न ठोस कदम चाल्नुपर्ने
देखिन्छ । तिला १ र तिला २ जलविद्युत आयोजना तथा साना जलविद्युत योजनाको निर्माण गरी राष्ट्रिय प्रशारणलाइन मार्फत् देशव्यापी वितरण गर्ने, हरेक गाउँपालिकाको केन्द्रमा सडक पु¥याइ यातायात सुविधा विस्तारका लागि, खुलालुदेखि रूप्सा, रकुदेखि कुमालगाउँ, भर्तादेखि चिलखाया, रकुदेखि मुम्रा, सान्नीघाटदेखि सिपखाना, व्याउलीदेखि पानतडी, दैलेख गाल्जे, जारकोट धौलागोहसम्म जम्मा ३३९ किमी सडकको सडक सञ्जाल विस्तार गर्ने, बलियो स्थानीय सरकारको गठन र दिगो वित्तीय विकेन्द्रीकरण गरी पूर्वाधार निर्माण गर्ने हो भने कालिकोट पनि समृद्ध हुन समय लाग्दैन । त्यसैगरी उत्तरी नाका हुम्लाको हिल्सा र मुगुको नाक्चे नाका खोल्नुपर्ने, कर्णाली नदीमा मानव निर्मित ठूलो तालको निर्माण गर्ने, हरेक गाउँपालिकामा २ वटा सीप प्रशिक्षण केन्द्रमार्फत् डाईभरिङ्ग, पलम्बरी, फर्निचर, कम्प्युटर जस्ता सीपको विकास गर्ने, १ गाउँपालिका १ प्राथमिक स्वास्थ्य सेवा केन्द्र र जिल्ला सदरमुकाममा ५० शैयाको सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्ने, ताडी, रास्कोट, नाग्म, मोल्फा र थिर्पुमा स्मार्ट सिटी निर्माण, पिली, नाग्म र सान्नीमा होम स्टे सञ्चालन, कोटवाडा मान्म, सुकाटिया मान्म र रकु मान्म केवलकार सञ्चालन, १ गाउँपालिका १ सुविधा सम्पन्न पृथक सङ्कायको क्याम्पस सञ्चालन, १ गाउँपालिका १ उद्योग कार्यक्रम अन्तर्गत फोइमहादेवको नाग्ममा स्याउ प्रशोधन उद्योग, चिलखायाको पाद्ममा जडिबुटी प्रशोधन उद्योग, सुकाटियाको दहचौरमा कृषि उत्पादन प्रशोधन उद्योग, कुमालगाउँमा दुग्ध प्रशोधन उद्योग, रास्कोटमा धातुका भाडा बनाउने उद्योग, थिर्पुमा पानी प्रशोधन उद्योग, रकु र भर्तामा घरेलु कपडा उद्योग सञ्चालन, १ गाउँपालिका १ सुविधा सम्पन्न कृषि सेवा केन्द्र, पशु सेवा केन्द्र, वन संरक्षण कार्यालय स्थापना जस्ता कार्य आवश्यक छन् । खनिजको उचित विकास र व्यवस्थापनका लागि भर्ता गाविसमा पाइने काईनेट, सुकाटियाको स्टेट, अन्य गाविसको चुनढुंगा, कमेरो माटो र मार्वल खानी उत्खनन् तथा व्यवस्थापनमा जोड दिने, हरेक गाउँपालिकामा १ वृद्धाश्रम र १ बाल स्याहार केन्द्रको स्थापना, ढुङ्गे बगैंचा, पञ्चदेवल, पचाल झरना, तिला गुफा, र चुलिमालिकालाई विशेष पर्यटकीय गन्तव्य बनाउने, चिया, स्याउ, कोदो, पशुपालन पकेट क्षेत्र घोषणा गरी विस्तार, चिलखायाको रुणुबन्चु, फुकोटको त्रिवेणी पाटनमा विशेष पर्यटकीय क्षेत्र बनाउने, सुविधा सम्पन्न आधुनिक होटेल सञ्चालन गरी पर्यटन व्यवसायबाट आम्दानी बढाउने, किसानको पहिचान र वर्गीकरण गरी कृषिमा आकर्षण बढाउन कृषि प्रविधिमा विशेष अनुदान , हरेक योजनामा मर्मत सम्भार रकमको व्यवस्था, नमुना बस्ती विकास कार्यक्रममार्फत् नयाँ सहर बनाउन सकेमा जिल्लाको समृद्धि हुने निश्चित छ ।
साझा बिसौनी संवाददाता ।