आधा संक्रमित घरमै
कोरोना भाइरस (कोभिड–१९) का संक्रमितमध्ये झण्डै आधा संख्या घरमै छ । कर्णाली प्रदेशमा रहेका कोरोनाका सक्रिय संक्रमितको ठूलो संख्या होम आइसोलेसनमै बसेको हो । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार विभिन्न जिल्लामा गरी तीन सय पाँच जना होम आइसोलेसनमा छन् । पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा कोरोना ‘एक्टिभ केस’ ६ सय ५२ छन् । प्रदेशका नौ जिल्लामा कोरोना संक्रमित छन् । पछिल्लो समय डोल्पामा कोरोना संक्रमण नदेखिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुर्खेतमा दुई सय ५५, सल्यानमा २४, मुगुमा ११, दैलेखमा दुई, जाजरकोटमा एक, रुकुम–पश्चिममा नौ र कालीकोटमा तीन जना होम आइसोलेसनमा छन् । महाशाखा प्रमुख वृषबहादुर शाहीले बाँकी संक्रमितको अस्पताल तथा आइसोलेसन सेन्टरहरूमा उपचार भइरहेको छ । लक्षणविहीन संक्रमित घरमै बस्न थालेको उनले बताए ।
प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार नाघिसकेको छ । सोमवार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ हजार दुई सय पुगेको हो । तीन सय १२ जनाको पीसीआर परीक्षण गर्दा ४६ जनामा कोरोना भेटिएको थियो । सुर्खेतमा १९, दैलेखमा १५, जुुम्लामा पाँच, जाजरकोट र रुकुुम–पश्चिममा दुई÷दुई र सल्यानमा तीन जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणमुक्त हुनेको संख्या पाँच हजार पाँच सय ६९ पुगेको छ । अहिलेसम्म प्रदेशमा १६ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । सुर्खेतका आठ, दैलेखका चार, डोल्पा, कालीकोट, रुकुम–पश्चिम र अन्य प्रदेशका एक÷एक जनाको संक्रमणका कारण मृत्यु भएको हो । पछिल्लो समय समुदायस्तरमा संक्रमणको जोखिम बढे पनि परीक्षण गर्नेहरूको संख्या भने निकै घटेको छ । आइतवार प्रदेशका चारवटा पीसीआर प्रयोगशालामध्ये तीन वटामा परीक्षण शून्य भएको थियो ।
यसैबीच नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमवार एकैदिन १८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार एक सय २६ पुगेको छ ।
यसैगरी सोमवार दुई हजार पाँच सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । मन्त्रालयका अनुसार सोमवार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ । कोरोनामुक्त भएर एक हजार सात सय ९८ जना डिस्चार्ज भएका छन् ।
नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख ५९ हजार सात सय २४ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार एक सय ७४ जना रहेको छ । सोमवार मात्रै ११ हजार एक सय ७७ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर विधिबाट १५ लाख ५१ हजार दुई सय ५४ परीक्षण भएका छन् । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३६ हजार एक सय ७४ जना छन् भने नौ सय ६७ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।
प्रकाशित मितिः २५ कार्तिक २०७७, मंगलवार ०६:०२
साझा बिसौनी ।