विकासमा बेथिति: एक वर्ष बनाउने, अर्को वर्ष भत्काउने

दैलेखको नारायण नगरपालिका देशकै पुरानो नगरमध्येमा पर्छ । २४ वर्षअघि स्थापना भएको उक्त नगरको विकासले भने गति लिन सकेको छैन । दीर्घकालीन योजना बनाएर काम नगरिदा यहाँको विकासमा आलटाल हुँदै आएको हो । जनप्रतिनिधि आउनु केही समयअघि एक पटक, पछि एक पटक गरी दुई पटकसम्म पिच गरिएको दैलेख बजारको मुख्य सडक भत्काएर फेरि कालोपत्र गर्न लागिएको छ ।

देवकोटा चोकदेखि गणेशचोक सम्मको सडक दुई वर्ष अगाडि साहारे खानेपानीको लाइन खन्दा भत्किएको भन्दै नगरपालिकाले ४० लाखको लागतमा पिच गरेको थियो । दुई वर्ष अगाडि पिच गरिएको सडक अहिले भत्काएर पुनः पिच गरिँदै छ ।

नगरपालिकाले बीच बजारको सडक भत्किएकाले पनि पुनः पिच गर्न लागिएको बताएको छ । इन्जिनियर हिक्मत रोकायका अनुसार दुई वर्ष अगाडि ४० लाखको लागतमा पिच गरिएको भए पनि साहारे खानेपानीको लाइन फुट्ने सडक भत्किने गरेकाले फेरि कालोपत्र गर्न लागिएको हो । नगरको बजार क्षेत्रमा साहारे खानेपानीको लाइन मुख्य समस्या हुँदै आएको छ । जसका कारण पटक–पटक सडक भत्काउने र कालोपत्रे गर्ने काम हुँदै आएको हो । नगरपालिकाले दुई वर्ष अघि खानेपानीको लाइन खन्दा सडक भत्काएर कालोपत्र गरेको थियो । नागरिकस्तरबाट भने बजेट सक्ने मेलो मात्र भएको आरोप लगाइरहेका छन् ।

नगरपालिकाले अहिलेसम्म आफ्नो क्षेत्रमा १२ किलोमिटर मात्र सडक पिच भएको जनाएको छ । इन्जिनियर रोकायले मध्य पहाडी राजमार्ग सडक विभागले नारायण खण्डमा पिच गरेको सडक जोड्दा १२ किलोमिटर पुगेको जनाए । २४ वर्षको अवधिमा नगरपालिकाको लगानीमा मात्र दुई किलोमिटर सडक पिच भएको हुन सक्ने रोकायाले जानकारी दिए । एकै ठाउँमा दुई वर्षको अवधिमा बनाउने भत्काउने कामले विकासमा नौटंकी भएको स्थानीयको आरोप छ ।

प्रकाशित मितिः   २४ कार्तिक २०७७, सोमबार १२:३९