तीन वटा प्रयोगशालामा शून्य परीक्षण

स्वाब संकलन कम हुँदा कोरोना भाइरस ‐कोभिड–१९) को परीक्षण सुस्ताएको छ । आइतवार प्रदेशका तीन ठाउँका प्रयोगशालामा कोरोना परीक्षण शून्य भएको हो । प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालका पीसीआर प्रयोगशालामा स्वाब नहुँदा एक जनाको पनि कोरोना परीक्षण नभएको हो । कर्णालीमा यीसहित रुकुम–पश्चिमको चौरजहारीमा गरी चार स्थानबाट कोरोना परीक्षण हुँदै आएको छ । आइतवार चौरजहारी प्रयोगशालामा मात्रै परीक्षण भएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका ल्याब संयोजक ओम आचार्यले स्वाब संकलन नहुँदा परीक्षण नभएको जनाए । उनका अनुसार प्रदेश अस्पतालको प्रयोगशालामा थोरै परीक्षण गर्दा खर्च बढी हुने भएकाले पनि नगरिएको हो । ‘प्रयोगशालामा १५÷२० जनाको स्वाब थियो । इमरजेन्सी नभएकाले पनि परीक्षण गरिएन’, उनले भने, ‘थौरै गर्दा बढी खर्च हुन्छ ।’ पछिल्लो समय सरकारले परीक्षण नीतिमा कडाइ गरेकाले पनि पहिलेको तुलनामा स्वाब संकलन नै कम हुने गरेको प्रयोगशालाहरूले जनाएका छन् ।

सरकारले शुल्क तिरेर कोरोना परीक्षण र उपचार गर्नुपर्ने नीति ल्याएपछि परीक्षण दर घटेको हो । पछिल्ला दिनहरूमा कन्ट्याक्ट टे«सिङ समेत प्रभावकारी हुन नसकेको बताइएको छ । दैलेख अस्पतालका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले पैसा तिर्न परेपछि परीक्षणका लागि न्यून संख्यामा मात्रै आउने गरेको बताए ।

यस्तै, आइतवार प्रदेशमा पाँच जना कारोना संक्रमित थपिएका छन् । रुकुुम–पश्चिममा मात्रै ५६ जनाको परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ हजार एक सय ७५ पुगेको छ ।

अहिलेसम्म पाँच हजार पाँच सय ३५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ सय ४० रहेको छ । कोरोना संक्रमण भएका १६ जनाको ज्यान गएको छ ।

प्रकाशित मितिः   २४ कार्तिक २०७७, सोमबार १२:३७