ठेकदारको ठगीले कर्णाली भोकै

सुर्खेतमा चामल, दुर्गममा भोकमरी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय मुगुका लागि चालु आर्थिक वर्ष २०७७÷०७८ मा ११ हजार क्वीण्टल चामल स्वीकृत भएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय सुर्खेतबाट चार हजार, धनगढी कार्यालयबाट दुई हजार, राजापुर बर्दियाबाट दुई हजार पाँच सय र नेपालगन्जबाट दुई हजार पाँच सय क्वीण्टल चामल यो आर्थिक वर्षमा उक्त शाखामा पुग्नुपर्ने हो ।

चालु आर्थिक वर्षका चार महिना पुग्नै लाग्दा मुगुमा दुई हजार पाँच सय सय नौ क्वीण्टल मात्रै चामल पुगेको छ । तिहारको मुखैमा शाखा कार्यालय मुगुमा जम्मा २४ सय क्वीण्टल चामल छ । ‘दसैँ अगाडि नै पहिलो चौमासिकमा पठाउनुपर्ने चामल पठाउने भनिएको थियो । चामल भने अहिलेसम्म आएको छैन,’ शाखा कार्यालयका निमित्त प्रमुख पुष्कर भामले भने । बजारमा किन्दा चर्को मूल्य पर्ने भएकाले नागरिकहरू खाद्यको चामलकै भर पर्ने गरेको उनले बताए ।

प्रादेशिक कार्यालय सुर्खेतदेखि मुगु शाखामा चामल ढुवानीका लागि खड्का निर्माण सेवा चन्दननाथ जुम्लाले जिम्मा लिएको छ । हालसम्म उक्त निर्माण सेवाले तीन सय ३० क्वीण्टल मात्रै चामल ढुवानी गरेको छ । यो आर्थिक वर्षभरी कम्पनीले चार हजार क्वीण्टल चामल ढुवानीको सम्झौता गरेको हो । चौमासिक पुग्नै लाग्दा पनि न्यून परिमाणमा चामल ढुुवानी भएको छ । पहिलो चौमासिकमा कम्तीमा एक हजार क्वीण्टल चामल ढुवानी गर्नुपर्ने हुन्छ । चौमासिक रूपमा ढुवानीकर्ताले २५ प्रतिशतको दरले चामल ढुवानी गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

खड्का निर्माण सेवाका प्रोप्राइटर रामदेवी खड्काले आफूहरूले चामल एक वर्षसम्म ढुवानी गरिसक्नेगरी ठेक्का सम्झौता गर्ने भएकोले अवधिभित्रै चामल ढुवानी गर्ने बताइन् । ‘हामी एकैचोटि चारै हजार क्वीण्टल ढुवानी गर्न सक्दैनौँ,’ उनले भनिन् ‘चामल अभाव भएको खण्डमा शाखा कार्यालयले जानकारी गराउँछ ।’ भनेको समयमा ढुवानीका लागि साधन नपाउने समस्याले ढिला हुने गरेको उनको भनाइ छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कार्यालय नेपालगन्जले शाखा कार्यालय मुगुको लागि यो आर्थिक वर्षमा दुई हजार पाँच सय क्वीण्टल चामल पठाउनुपर्ने भए पनि हालसम्म चामल पठाएको छैन । चामल ढुवानीका लागि असोज १३ गते बराल ढुवानी सेवा वीरेन्द्रनगर–४ सुर्खेतले ठेक्का सम्झौता गरेको छ । तर अहिलेसम्म चामल मुगु पठाइएको छैन । कार्यालयका प्रमुख निर्मल थापाले ढुवानीकर्ताले हालसम्म चामल नउठाएको जनाए । उनका अनुसार नेपालगन्जबाट नौ दिनमा मुगु चामल पु¥याइसक्नुपर्ने हुन्छ । चामल उठाएपछि बाटोको म्याद नौ दिन हुने र हालसम्म ढुवानीकर्ताले चामल नै नउठाएको प्रमुख थापाले जानकारी दिए । एउटै ढुवानी सेवाले धेरै कार्यालयबाट र धेरै शाखा तथा डिपोहरूमा चामल ढुवानी गर्ने हुँदा समस्या देखिने गरेको उनी बताउँछन् ।

चामल ढुवानीको जिम्मा पाएको बराल ढुवानी सेवाका प्रोप्राइटर रमेश बरालले अहिले राजापुर कार्यालयको चामल ढुवानी गरिरहेको बताए । ‘नेपालगन्ज र राजापुर दुवै ठाउँबाट मैले नै ढुवानीको जिम्मा पाएको छु,’ बरालले भने ‘राजापुरमा किसानहरूले धान काट्ने समय भएकोले गोदाम खाली गर्नुपर्ने छ । त्यसैले पहिले राजापुरबाट चामल उठाएको हुँ ।’ चामलको ‘स्टक’ समेत ‘इन्क्वायरी’ गरी सम्बन्धित शाखा र डिपोमा समन्वय गरी चामल ढुवानी गर्ने गरिएको उनको दाबी छ । राजापुरबाट बराल ढुवानी सेवाले एक हजार २० क्वीण्टल चामल मुगु पठाइसकेको छ ।

नेपालगन्ज, राजापुर र धनगढीबाहेक खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका २४ स्थानमा अनुदानको खाद्य बिक्री–वितरण गर्ने गरेको कार्यालय प्रमुख माधव मिश्रले जानकारी दिए । १३ वटा ढुवानीकर्ताहरूले सल्यान, रुकुम–पश्चिम र जाजरकोट जिल्ला बाहेकका शाखा कार्यालय, डिपो र बिक्री केन्द्रहरूमा चामल ढुवानी गर्दै आएको उनले बताए । चामल ढुवानीका लागि प्रत्येक वर्ष टेण्डर आह्वान गरी एक वर्षको सम्झौता गर्ने गरिएको छ । ‘कार्यालयबाट चामल उठाएको दिनदेखि मात्रै बाटो म्याद सुरू हुन्छ,’ मिश्रले भने ‘त्यो अवधिमा चामल सम्बन्धित स्थान नपुगेको खण्डमा ढुवानी सेवालाई हर्जना लगाइन्छ ।’

कहाँ कति पठाइँदै छ?

कम्पनीको प्रादेशिक कार्यालयले यो आर्थिक वर्षमा कर्णालीका ६ जिल्लाका २४ स्थानमा ३४ हजार दुई सय क्वीण्टल चामल पठाउनुपर्ने छ । शाखा हुम्लामा हवाईमार्गबाट ६ हजार क्वीण्टल र स्थलमार्गबाट एक हजार क्वीण्टल चामल ढुवानी गरिनेछ । त्यस्तै, स्थलमार्गबाट डिपो सर्केगाडमा एक हजार, डिपो श्रीनगरमा एक हजार, याङ्चु बिक्री केन्द्रमा दुई सय ५०, याल्वाङ बिक्री केन्द्रमा दुई सय ५०, देउली बिक्री केन्द्रमा पाँच सय, तुम्च वालकुना बिक्री केन्द्रमा आठ सय क्वीण्टल चामल ढुवानी गरिने कार्यालयले जनाएको छ ।

यस्तै, मुगुको छप्रेला बिक्री केन्द्रमा पाँच सय, शाखा कार्यालय मुगुमा चार हजार, सोरुकोट डिपोमा एक हजार, श्रीकोट डिपोमा एक हजार, पुलु डिपोमा एक हजार, कालै बिक्री केन्द्रमा तीन हजार क्वीण्टल चामल प्रादेशिक कार्यालय सुर्खेतले यो आर्थिक वर्षमा पठाउने छ ।

जुम्लाको रातापानी बिक्री केन्द्रमा सात सय ५०, शाखा जुम्लामा एक हजार नौ सय, धापा डिपोमा एक हजार क्वीण्टल चामल ढुवानी गरिनेछ । त्यस्तै डोप्ला शाखामा दुई हजार पाँच सय, डिपो काईगाउँमा पाँच सय, डिपो जुफालमा एक हजार पाँच सय, डिपो सहतारामा एक हजार दुई सय ५० क्वीण्टल चामल पठाइने प्रादेशिक कार्यालयले जनाएको छ । शाखा कालीकोटमा एक हजार पाँच सय र डिपो थिर्पुमा एक हजार साथै दैलेखको ठाटीकाँध र चामुण्डा डिपोमा पाँच–पाँच सय क्वीण्टल चामल अनुदानमा ढुवानी भइ बिक्री वितरण हुनेछ ।

कति ढुवानी भयो ?

चालु आर्थिक वर्षको झण्डै चार महिनामा न्यून परिमाणमा मात्रै चामल ढुवानी भएको छ । प्रादेशिक कार्यालय सुर्खेतले हवाइमार्गबाट हुम्ला शाखामा दुई हजार एक सय क्वीण्टल अर्थात् १७ दशमलव ८५ प्रतिशत चामल पठाएको छ भने स्थलमार्गबाट तीन सय क्वीण्टल पठाइएको छ । हुम्लाको श्रीनगरमा एक सय क्वीण्टल चामल पुगेको छ । छप्रेलामा चार सय, हुम्लाकै बालकुनामा तीन सय, मुगु शाखामा तीन सय ३०, जुम्ला शाखामा सात सय र कालीकोटमा चार सय ५० क्वीण्टल मात्रै चामल ढुवानी भएको छ । कम्पनीको प्रादेशिक कार्यालयमा २२ हजार सात सय २५ क्वीण्टल चामल स्टक रहेको जनाइएको छ ।

कर्णालीका हिमाली तथा उच्च पहाडी जिल्लाहरूमा उत्पादित खाद्यन्नले तीन महिना पनि खान पुग्दैन । भोकमरीसँग जुध्नुपर्ने यहाँका अधिकांश नागरिकलाई सरकारले ढुवानी अनुदानमा चामल बिक्रि–वितरण गर्दै आएको छ । तर, तोकिएको स्थानमा समयमै चामल ढुवानी नहुँदा त्यहाँका नागरिकले चाडवाडमा समेत चामल पाउँदैनन् । हिमाली जिल्लाहरूमा अनुदानको चामलसमेत नपुग्दा त्यहाँका नागरिक हरेक वर्ष भोकमरीको चपेटामा पर्दै आएका छन् ।

अन्तै बेचिन्छ अनुदानको चामल

सरकारले कर्णालीका नागरिकलाई ढुवानी अनुदानमा पठाउने गरेको चामल अन्यत्रै बिक्री हुने गरेको पाइएको छ । केही दिन पहिले मुग लैजानुपर्ने चामल ढुवानीकर्ताले भक्तपुर लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयबाट मुगुका लागि पठाइएको सरकारी अनुदानको दुई सय ५० क्वीण्टल जापानी चामल नियन्त्रणमा लिएको हो ।

ढुवानीकर्ता शर्मा निर्माण इन्टरप्राइजेजका प्रोप्राइटर वासुदेव शर्माले मुगुको कालै बिक्री केन्द्रमा पठाउने भनेर कम्पनीको वीरेन्द्रनगरस्थित गोदामबाट उठाएको चामल बिक्रीका लागि अन्तै पठाएका हुन् । शर्मा अहिले प्रहरी हिरासतमा छन् । उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

शर्माले बिक्री केन्द्रको लागि कम्पनीको गोदामबाट असोज २६ गतेसम्म एक हजार क्वीण्टल र कार्तिक ५ गते एक सय क्वीण्टल चामल उठाएका थिए । शर्मा निर्माण सेवाले असोज १६ गते कम्पनीसँग गरेको सम्झौतामा भने १५ दिनभित्र तोकिएको स्थानमा चामल पु¥याइसक्ने उल्लेख छ । उनलाई मुलुकी फौजदारी कार्यविधि संहिताको ठगी महल वा कालोबजारी तथा केही अन्य सामाजिक तथा सजाय ऐन अन्तर्गत मुद्दा चलाउने गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   २४ कार्तिक २०७७, सोमबार १२:४१