सिटी बसपार्कमा फेरि किचलो
निर्माण सम्पन्न भएको एक वर्षपछि सञ्चालनमा आउन लागेको वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा रहेका सटर व्यवसायीलाई भाडामा दिन लागिएको छ । ती सटरको न्यूनतम दररेट नै चलनचल्तीको भन्दा दोब्बर छ । भाडा निकै महंगो भएको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् । पूरानो बसपार्कमा पहिलेदेखि नै व्यवसाय सञ्चालन गरेका व्यवसायीले सटर भाडा महंगो तोकिएको भन्दै आपत्ति जनाएका हुन । वीरेन्द्रनगर बजार क्षेत्रभन्दा तीन चार गुणा महंगो भाडा तोकिएको उनीहरुको गुनासो छ ।
सिटी बसपार्कमा ५४ वटा सटर छन् । वीरेन्द्रनगर नगरपालिकाले बसपार्क सञ्चालनको जिम्मा पीआर कन्स्ट्रक्सनलाई दिएको छ । एउटा सटरको ३० हजारदेखि ५० हजारसम्म न्यूनतम भाडादर निर्धारण गरिएको छ । कन्स्ट्रक्सनले मासिक ३१ लाख १५ हजार भाडा नगरपालिकालाई बुझाउनुपर्ने छ ।
बसपार्क टोल विकास समितिले बिहीवार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष इन्द्रबहादुर थापाले व्यवसायलाई मारमा पर्ने गरी भाडादर कायम गरिएको बताए । भाडादर घटाउन नगरपालिकालाई भनिए पनि सुनुवाइ नभएको उनले जनाए । महंगो भाडादर बनाएर पूराना व्यवसायीलाई पन्छाउन खोजेको उनको आरोप छ । उनले यदि चलनचल्तीकै दररेट कायम नगरे अदालतको ढोकासम्म जाने चेतावनी दिए । ‘हामी यति महंगो भाडामा जान सक्दैनौँ । रेटमा समायोजन गर्नुपर्छ । यति महंगो रेटले व्यवसायीलाई अन्याय परेको छ,’ थापाले भने ।
नगरपालिकाले बनाएको बसपार्क सञ्चालन सम्बन्धी कार्यविधिमा समेत अन्य सबै शुल्क तोकिए पनि सटरको भाडा दर भने नतोकिएको समितिले जनाएको छ । अहिले तोकिएको रेटमा अन्य व्यवसायले व्यापार सुरू गरे पनि टिक्न नसक्ने व्यवसायीहरूको भनाइ छ । सुर्खेत उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दिपेन्द्र ढकालले निजी क्षेत्रलाई धरासायी गराउने गरी दररेट कायम गरिएको आरोप लगाए । बसपार्कमा चाउचाउ पानी बेचेको आम्दानीले यति चर्को भाडा तिर्न नसकिने भन्दै नयाँ दररेट कायम गरिनुपर्ने बताए । नगरपालिकाले सामाजिक उत्तरदायित्वबाट पन्छिने गरी सटर भाडाको मूल्य निर्धारण गरेको ढकाल बताउँछन् ।
स्थानीयतहकै मातहतमा सञ्चालन हुने सार्वजनिक स्थानमा समेत मनपरी भाडा तोकिँदा टिनले छाहेका अस्थायी सटरलाई नै ५० हजार भाडा तोक्दा बजार क्षेत्रमा चार पाँच लाख रूपैयाँ भाडा तिनुपर्ने अवस्था आउने व्यवसायीको चिन्ता छ । टेण्डर रद्द गरी दररेट नसच्याए व्यवसायीहरू कानुुनी उपचारको बाटोमा जान बाध्य हुने सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ । कन्स्ट्रक्सनले टेण्डरमा महंगो कबुुल गरेकाले अहिले समस्या भएको नगरपालिकाले जनाएको छ ।
प्रकाशित मितिः २१ कार्तिक २०७७, शुक्रबार १०:२५
साझा बिसौनी ।