चरम लापरवाही
कोरोना महामारीबाट बच्न आवश्यक सावधानी अपनाउन जरुरी छ । सरकारले नै नागरिकहरूलाई यसका लागि आह्वान गरेको छ । विभिन्न मापदण्ड बनाएर जारी गरिसकेको छ । तर त्यसको पूर्ण पालना र कार्यान्वयन हुन सकेको छैन । अझ ठूलो बिडम्वना त के छ भने सरकारी निकायहरू नै यसको कार्यान्वयन गर्दैनन् । चरम लापरबाही भएको देखिन्छ । संक्रमितको दर बढिरहेको बेलामा चरम लापरवाही भइरहेको छ ।
सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूको चाप बढी हुन्छ । जिल्ला प्रशासन, मालपोत, यातायात लगायत केही कार्यालयमा भिडभाड अधिक नै हुने गरेको छ । सेवाग्राहीको चापका कारण हुने भिड नियन्त्रण र व्यवस्थापनमा भने ती कार्यालयहरूले ध्यान दिएका छैनन् । पूर्ण रूपमा हेलचक्य्राइँ गरिरहेका छन् । भिड नियन्त्रण मात्रै होइन अन्य आवश्यक सतर्कताका आधारभूत पक्षहरूलाई पनि ख्याल गरिएको छैन । जस्तो मालपोत कार्यालय सुर्खेतमा हात धुने व्यवस्था छैन । सेवा लिनुअघि कसैले हात धुन खोजे पानी पाइँदैन । कार्यालयको आँगनमा पानी ट्याङ्की छ । तर त्यसको धारो भाँचिएको छ । ट्याङ्कीमा पानी पनि हुँदैन थिएन, पानी नै नभएपछि साबुन हुने कुरै भएन । जबकी मालपोत कार्यालयमा सधैंजस्तो सेवाग्राहीको बाक्लो भिड हुन्छ । हान धुने साबुन–पानी, सेनिटाइजर र सेवाग्राहीबीच भौतिक दूरी कायम गर्नेतर्फ कार्यालयको ध्यान दिदैन । मालपोत मात्र होइन अन्य कार्यालय तथा सार्वजनिक स्थानहरूमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए–नभएको अनुगमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालयमा समेत सेवाग्राहीले हात धुने गरेका छैनन् । त्यहाँ पनि उस्तै भिड हुन्छ । भौतिक दूरी कायम गर्ने गरिएको छैन । हात धुने ठाउँहरूमा फोहोर जम्मा भएको छ ।
व्यक्तिहरूबीच भौतिक दूरी कायम गर्नुपर्ने नियम छ । जसले एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोनाको संक्रमण हुनबाट जोगाउँछ । तर सरकारी कार्यालयहरूमा पुग्ने हो भने ठेलमठेल भिड देख्न सकिन्छ । कतिसम्म लापरवाही भइरहेको छ भने मास्क लगाएर लाइनमा बसेकाहरूले पनि बाध्यताले जोखिम मोल्नुपरेको हुन्छ । कामकै लागि आएका कतिपय सेवाग्राहीले मास्कसमेत नलगाइदिँदा कोरोना संक्रमणको जोखिम झनै बढ्ने गरेको छ । सेवाग्राहीको अत्याधिक चाप हुने कार्यालयभित्र कम्तीमा हात धुने र सेनिटाइजरको व्यवस्था हुनुपथ्र्यो । त्यस्तो गरेको पाइँदैन । कोरोना संक्रमण देखिन थालेपछि सुरू–सुरूमा कार्यालय र अन्य सार्वजनिकस्थलहरूमा हात धुने व्यवस्था गर्ने लहर नै चलेको थियो । सरकारी तथा गैरसरकारी निकायको सहयोगमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न साबुन पानीको व्यवस्था गरिएको थियो । जुन समयमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको थिएन, उसबेला निकै सजक देखिएका निकायले संक्रमण व्यापक भएका बेला भने बेवास्ता गर्न थालेका हुन् । अहिले प्रायः ठाउँमा हात धुने व्यवस्थासमेत छैन । साबुन–पानी भएकै ठाउँमा पनि हात धोएको पाइँदैन । सेवाग्राही तथा हिँड्डूल गर्ने सर्वसाधारणले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न छोडेका छन् । यस्तो हेलचक्य्राइँले जोखिम थप बढाएको छ ।
प्रकाशित मितिः २१ कार्तिक २०७७, शुक्रबार १०:२२
साझा बिसौनी ।