संकटविरुद्धको लडाइ

मुलुक यतिबेला स्वास्थ्य संकटको गहिरो खाडलमा छ । कोरोना भाइरस (कोभिड–१९) ले आक्रान्त बनाइरहेकै छ । संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । त्यसो त नेपालमा स्वास्थ्य संकट कोरोनाका कारणले मात्रै निम्तिएको भने होइन । यसअघि पनि विभिन्न किसिमले समस्याहरू देखिएकै थिए । यहाँका सबै नागरिक स्वास्थ्य उपचारको सहज पहुँचमा छैनन् । संरचनाहरू पर्याप्त छैनन् । जनशक्तिको अभाव छ । उपकरण र औषधि नपाएर ज्यान गुमाउनुपर्ने बाध्यताबाट नागरिक उम्किन सकेका छैनन् । यावत संकटका बावजुद मुलुकको राजनीति भने अर्कै बाटोमा घुमिरहेको छ । संकटको समयमा पनि नागरिक राजनीति र सरकारका कोपभाजनमा परेका छन् । समस्या एकातिर छन्, सरकार र त्यसको नेतृत्वकर्ताको ध्यान अर्कैतिर केन्द्रीत भइरहेको छ । जसले मुलुकको आगामी बाटो खतराउन्मुख हुने संकेत गरेको छ ।

सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल नेपाल कम्युनष्टि पार्टी(नेकपा) यतिबेला आफ्नै अन्तरकलहमा रूमलिएको छ । संघीय सरकार सञ्चालनमा मात्र होइन प्रदेश सरकार सञ्चालनमा पनि अनेक समस्या देखिएका छन् । फेरि पनि अस्थिरताको संकेत देखा परेका छन् । नेकपाभित्रको किचलोले सरकारको ध्यान अस्थिर बनाएको छ । जसका कारण सरकार कतिसम्म गैरजिम्मेवार बन्दै गएको छ भने कोरोना भाइरस प्रभावित नागरिकको उपचार गर्न नसक्ने भन्दै पन्छिएको छ । जुन सरकारको ठूलो असफलता दरिने निश्चित छ । संकट परेका बेला त्यसको व्यवस्थापन गर्नु राज्यको दायित्व हो । तर संकट व्यवस्थापनमा एकपछि अर्को गर्दै चुक्दै आएको सरकार महामारीसँग जुधिरहेका नागरिकलाई उपचार गर्नुपर्ने दायित्वबाट पञ्छिएको छ । आम नागरिकको अभिभावकीय भूमिकाबाट विमुख भएको छ । अझ बढी संवेदनशील बन्नुपर्ने महामारीमा सरकार असंवेदनशील बनेको भान परेको छ ।

राज्यको दायित्व नै समस्यामा परेका नागरिकलाई समाधान दिने हो । सघाउने हो । यसैका लागि राजनीति र सरकार संरचना यसैका लागि बनाइएका हुन् । यसैले आम नागरिकले संकटमा गुहार्ने भनेको राज्यलाई नै हो । यतिबेला त सरकार नयाँ निर्वाचनमार्फत दुई तिहाई बहुमतको बलियो अवस्थामा छ । र पनि आफ्नै पार्टीभित्रको कलहले सरकार नै अलमलमा पर्ने अवस्था आउनु विडम्वना हो । यसको क्षति सरकारको नेतृत्व गरिरहेको पार्टीले नै बेहोर्नुपर्ने कुरा भुल्न हुँदैन । यतिबेला सरकारको होस् वा त्यसको नेतृत्व गरिरहेको दल नेकपाको ध्यान भनेको संकट समाधानमा केन्द्रीत हुनु जरुरी छ । न कि आन्तरिक कलह निम्त्याएर त्यसमै रुमलिनु । यही अवस्था कायम रहे सरकारप्रति नागरिकको विश्वास टुट्दै जाने छ । सरकारको प्रभावकारी काम गर्न नसक्दा नागरिक असन्तुष्टि बढ्दै गइरहेको छ । जसलाई नजरअञ्दाज गर्दै गए त्यसको परिणाम सकारात्मक पक्कै हुने छैन भन्ने कुरा बुझ्नु जरुरी छ । अहिले गृहकलह गर्ने समय होइन । नागरिकलाई संकटबाट समाधानको बाटो दिने बेला हो । अभिभावकिय दायित्व निर्वाह गर्ने अवसर सरकारसामू छ । किनभने यो संकटविरुद्ध लडाइँ लड्नुपर्ने बेला हो ।

प्रकाशित मितिः   १८ कार्तिक २०७७, मंगलवार ०८:०९