कँडेलद्वारा अध्यक्षद्वयको धारणा माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको कलह तीन साता बितिसक्दासमेत यथावत छ । दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दलभित्रैकै बहुमत सांसदले अविश्वास प्रस्ताव ल्याएपछि सुरू भएको विवाद अझै समाधान हुन सकेको छैन । अविश्वास प्रस्तावको नेतृत्व गरेका प्रदेश सांसद यामलाल कँडेलले प्रदेशमा देखिएका समस्याबारे पार्टी अध्यक्षद्वयको ध्यानाकर्षण गरेका छन् । उनले सोमवार केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखी कर्णालीमा उत्पन्न पार्टीभित्रको राजनीतिक संकट समाधानका लागि धारणा माग गरेका हुन् । पार्टीको प्रदेश सह–इन्चार्जसमेत रहेका कँडेलले पत्रमार्फत अध्यक्षद्वयलाई कर्णालीबाट नेकपाले कस्तो प्रचलन बसाउन खोजेको हो भनि प्रश्न गरेका छन् ।

गत असोज २५ गते नेकपाको कर्णाली प्रदेशसभाका सांसदमध्ये १८ जनाले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए । प्रमुख सचेतक गुलावजंग शाहले असोज २७ गते दलको बैठक आह्वान गरेपछि संसदीय दलको नेताले बैठकमा उपस्थित भएर प्रदेशसभा सदस्यको विश्वास जित्ने प्रयास गर्नुको सट्टा प्रमुख सचेतक हटाएको भन्दै कँडेलले यसमा अध्यक्षद्वयको धारणा माग गरेका छन् । मुख्यमन्त्री शाहीले प्रमुख सचेतक शाहलाई हटाइ सीता नेपालीलाई नियुक्त गरेका थिए । ‘यो विषय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा कस्तो प्रचलन बसाउनेसँग सम्बन्धित छ ? के यस्ता अनधिकृत कामहरू सच्याउनु पर्दैन ?’ कँडेलले लेखेको पत्रमा भनिएको छ ।

नेता कँडेलले अविश्वासको प्रस्तावमा उल्लेख भएका विषयमा प्रदेशस्तरमा छलफलै नगरी विषयका आधारमा समस्या समाधान गर्नुको सट्टा पद र प्रतिष्ठा वितरण गरिएको भन्दै नेकपा यस्तै संस्कारको पक्षमा हो भनी अध्यक्षद्वयलाई प्रश्न गरेका छन् । गुट–उपगुट अन्त्य गर्ने भने पनि विषयका आधारमा एक ठाउँमा उभिएका सांसदलाई हतोत्साहित गर्ने काम भएको कँडेलले पत्रमा उल्लेख गरेका छन् । ‘विषयका आधारमा उभिएका प्रदेशसभा सदस्यलाई नेतृत्व तहबाट नै हतोत्साहित गर्ने काम भयो, व्यक्तिको निष्ठा र इमानमा जनस्तरबाट प्रश्न उठाउने परिस्थिति निर्माण गरियो,’ उनले लेखेका छन्, ‘केन्द्रीय नेतृत्व तहबाटै भएको यस्तो क्रियाकलाप र गतिविधिले एकतावद्ध पार्टी निर्माण सम्भव छ ?’

अध्यक्षद्वयले कर्णाली प्रदेशसभाभित्र उत्पन्न समस्यालाई यथास्थानमा राखेर काठमाडौं आउन निर्देशन दिए पनि मुख्यमन्त्री पक्षले कार्तिक ७ गते एकपक्षीय रूपमा दलको बैठक आयोजना गर्नु नियमसंगत थियो भनी कँडेलले प्रश्न गरेका छन् । ‘त्यो बैठकबाट कर्णालीमा देखिएका समस्याको समाधान भयो र ?’ अध्यक्षद्वयलाई पठाइएको पत्रमा उल्लेख छ । कँडेललले असोज २७ गते पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन दुवै अध्यक्षले हस्ताक्षर गरेर निर्देशन दिएको पत्रबारे पनि चासो राखेका छन् ।

प्रदेशमा विवाद बढ्दै गएपछि समाधानका लागि केन्द्रीय नेतृत्वले हस्तक्षेप गरेको थियो । दलभित्रको विवाद सुल्झाउन दुवै पक्षका नेताहरूलाई काठमाडौं बोलाइ पनि नेतृत्वले समाधानको साझा विकल्प भने दिन सकेको छैन ।

प्रकाशित मितिः   १८ कार्तिक २०७७, मंगलवार ०८:०८