परीक्षार्थीमा ‘एक्जाम फोबिया’
![]() |
डा. लालितकुमार मिश्र |
हेर्दाहेर्दै एसएलसी परीक्षाको समय पनि नजिकिँदै आइपुग्यो । पत्रपत्रिकामा छापिएको खबरअनुसार चैत्र महिनाको १८ गतेबाट एसएलसी परीक्षा सुरु हुँदैछ । परीक्षार्थीहरूका बीच यतिबेला परीक्षाकै बारेमा कुरा चलिरहेको छ । अभिभावकहरू पनि आ–आफ्नो परीक्षार्थी (छोराछोरी) हरूको परीक्षालाई लिएर चिन्तित छन् । उनीहरू कसरी यिनीहरूको परीक्षा राम्रो होला भन्ने सोचमा छन् । परीक्षामा कसरी राम्रो अङ्क ल्याउने भन्ने चिन्ता कोही कोही छात्रछात्रामा देखिन्छन् । परीक्षामा कसरी राम्रो मार्क ल्याएर आमा बाबु, अभिभावकले राखेको अपेक्षा पूरा गर्ने तथा उनीहरूको नजरमा प्यारो भइरहने भन्ने पिरलोमा पनि धेरै परीक्षार्थी होलान् । कसैको लागि यो परीक्षा वर्षभरीको मेहनतको फलको साथै जीवनमा प्रगतिको खुड्किलो हुन्छ । कसैको भविष्य निर्धारण गर्ने आधार पनि । परीक्षाको समय आउँदा केही परीक्षार्थीको लागि अनेक किसिमका मानसिक एवम् शारीरिक समस्याहरू पनि सँगै लिएर आउँछ भन्दा अत्युक्ति नहोला ।
परीक्षाको डरले परीक्षार्थीहरूमा हुने शारीरिक एवम् मानसिक समस्यालाई चिकित्सकीय भाषामा एक्जाम फिवर या फोबिया भनिन्छ । यसमा परीक्षार्थीहरूमा अनेक किसिमको शारीरिक एवम् मानसिक समस्याहरू उत्पन्न हुनसक्छ । जस्तैः पढ्ने बेलामा मन एकाग्र नहुनु । परीक्षा कोठा कालकोठरी जस्तो लाग्नु । परीक्षा हलमा प्रवेश गर्नुभन्दा अगावै घवराहट हुनु, बेचैनी हुनुका साथै जीउ सिरिंगसिरिंग हुन थाल्नु, पसिना आउनु, घरीघरी पिसाब लाग्ने वा दिसा लाग्ने समस्या हुनु, राम्रोसँग याद गरेको कुरा पनि बिर्सिनु, बारम्बार आत्महत्याको विचार पनि मनमा आउनु, निद्रा नलाग्नु, फेल भइन्छ कि भन्ने डरलाग्नु वा चिन्ताले सताउनु । यस किसिमको एक्जाम फिवरको समस्याबाट किशोरकिशोरीहरू मात्र होइन, स्कुले केटाकेटी पनि प्रभावित हुन्छन् । यिनीहरूमा पनि परीक्षाको समयमा टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने, पेट दुख्ने आदि समस्याहरू देखिन्छन् । यसबाट लगभग ३० देखि ४० प्रतिशत छात्रछात्रा प्रभावित हुन्छन् ।
कारणः परीक्षामा राम्रो अङ्क ल्याएर पास हुने दबाब यसको प्रमुख कारण हो । यस्तो दबाब प्रायः अभिभावकद्वारा दिइन्छ । जसले गर्दा केटाकेटीहरू परीक्षाको समयमा आफूलाई कोठामा बन्द गरेर राख्छन् । परीक्षाको समयमा यिनीहरूको खाने, पिउने, सुत्ने एवम् दैनिकी नै बदलिन्छ । यो स्थिति पनि ठीक होइन । परीक्षाको समयमा केटाकेटीहरूले कोठामा बन्द कैदीझैं भएर बस्नुको सट्टा पढाइको साथसाथै थोरबहुत घुमफिर पनि गर्ने, मनोरञ्जन पनि गर्नु आवश्यक छ ।
लक्षणः परीक्षामा फिबरमा परीक्षार्थीमा देखिने मानसिक एवम् शारीरिक लक्षण व्यक्तिको व्यक्तित्व अनुसार भिन्नाभिन्नै हुनसक्छ । पेट दुख्नु, वाकवाकी लाग्नु, मुटुको धड्कन बढ्नु, अत्यधिक पसिना आउनु, गम्भीर रूपले टाउको दुख्नु, आदि शारीरिक लक्षण देखिनु आम कुरा हुन् । यसबाहेक संज्ञानात्मक र भावनात्मक लक्षणहरूमा एकाग्रतामा कमी हुनु, याद गरेका कुराहरू बिर्सिनु, याद राख्न नसक्नु, असफलताको डर, आत्मविश्वासको कमी हुनु, उदास हुनुजस्ता मनोवैज्ञानिक लक्षण पनि देखिन्छ ।
सुझावः अभिभावकले आफ्ना परीक्षार्थी (छोराछारी) को धैर्य, हिम्मत र हौसला बढाउन सहयोग गर्ने । अन्य केटाकेटीसँग आफ्नो बच्चाको तुलना नगर्ने । उसको परफरमेन्सलाई हेरने र मूल्याङ्कन गर्ने । हेलिकोप्टरले राउन्ड मारे झैं परीक्षार्थीको वरिपरि घुमी नराख्ने । परीक्षाको विषयलाई लिएर धेरै दबाब दिनु हुँदैन । किनभने तपाईंको दबाबले यिनीहरूमा तनाव बढ्छ । उनीहरूलाई परीक्षाको दौरान अनेक किसिमका समस्याको सामना गर्नुपर्ने हुन्छ । डराउनु पर्दैन भनेर हौसला दिने, उचित सल्लाह दिने । तपाईंको भावनात्मक सहयोगले उनीहरूलाई ठूलो औषधिको काम गर्छ । कहिले काहीं राम्रो सल्लाह सुझाव दिए पनि परीक्षार्थीको मनमा रहेको परीक्षाको भूत जाँदैन, मनभित्रै रहिरहन्छ । यस्तो अवस्थामा परीक्षार्थीलाई उचित औषधि–उपचारको आवश्यकता पर्दछ ।
मनोवैज्ञानिक चिकित्साः एक्जाम फिवर अर्थात् परीक्षाको भय । एक किसिमको साइकोसोमेटिक (मनोदेहिक) समस्या हो । बेलैमा यसको उपचार गरेमा सजिलैसित यो समस्याबाट छुटकारा पाउन सकिन्छ । मनोवैज्ञानिक उपचार अन्तर्गत काउन्सिलिङ तथा संज्ञानात्मक व्यवहार चिकित्सा यसको लागि राम्रो उपचार विधि हो । यसबाट पनि उपचार हुनसक्छ । यसको लागि मनोवैज्ञानिक परामर्शदातासँग भेटेर सल्लाह लिनुपर्दछ ।
होमियोप्याथिक चिकित्साः नर्वसनेस तथा स्मरणशक्तिको समस्याको उपचारमा प्रभावशाली छ । किनभने उपचारको क्रममा मानसिक लक्षणलाई नै यसमा बढी प्राथमिकता दिइन्छ । परीक्षाको दौरान हुने समस्याबाट सहज रूपमा छुटकारा दिलाउने अनेकौ प्रभावकारी औषधिहरू उपलब्ध छन् । यसका औषधिहरूको विशेषता केहो भने यसको सेवनले शरीरमा कुनै पनि कु–प्रभाव (साइड इफेक्ट) हुँदैन ।
– यदि परीक्षा दिन जाने बेलामा डर लाग्छ भने लाइकोपोडियम या साइलिसिया प्रयोग गर्न सकिन्छ ।
– परीक्षाको बेला टाउको दुख्ने, बेलाबेलामा पिसाब लाग्ने, पातलो दिसा लाग्नुका साथै घबराहट हुनेजस्तो समस्या देखिएमा जेल्सिमियम या आर्जेन्टम नाइट्रिकमको प्रयोग लाभदायक हुनसक्छ ।
– परीक्षाको दिन नजिक आउँदा धेरैजसो परीक्षार्थीलाई निद्रा नलाग्ने समस्या देखिन्छ । यस किसिमको अवस्थामा नक्स भोमिकानामक औषधि प्रयोग लाभदायक हुन्छ ।
– परीक्षाको पूर्ण रूपले तयारी गरिसके पश्चात् पनि यस्तो लाग्छ कि केही याद नै छैन, यस किसिमको लक्षण देखिएमा एनाकार्डियम या कालिफाँसको प्रयोग लाभदायक हन्छ । यसबाहेक पनि सिम्टमसनुसार
– जिकंममेटालिकम, पिक्रिकएसिड, इथुजा, आदि औषधिहरूको प्रयोग गर्न सकिन्छ ।
होमियोप्याथिक औषधिहरूले परीक्षार्थीको दिमागमा रहेको परीक्षारूपी भूतलाई हटाउनुका साथै परीक्षाको सफरमा उसको पूरा साथ निभाउछ । विद्यार्थीलाई सफलता दिलाउनमा पूरा सहयोग गर्दछ । तर ध्यान राख्नुस्, होमियोप्याथिक औषधिहरूको सेवन प्रशिक्षित तथा काउन्सिलमा दर्ता भएको स्थानीय कुनै होमियोप्याथिक चिकित्सकको सल्लाह लिएर मात्र सेवन लाभदायक हुन्छ ।
परीक्षार्थीलाई सुझावः परीक्षार्थीहरूले जाँचबाट डराउनु हुँदैन । परीक्षाको समय विषयलाई एकपटक रिकल (दोहो¥याउनु) राम्रो हुन्छ । यसको लागि विषय वस्तुलाई आफ्नो रुचि अनुसार सरल ढङ्गले कसरी हुन्छ याद गर्ने । पूरा मेहनत र लगनका साथ खेलभावनाले परीक्षा दिनुपर्छ । केही छात्रछात्रा परीक्षाको दौरान बढी तयारी गर्नको लागि निद्रा न लाग्ने किसिमको औषधि खान्छन् । जुन स्वास्थ्यको लागि राम्रो हुँदैन । हानिकारक हुन्छ ।
खानपानः परीक्षाको बेला खानपानमा विशेष ध्यान दिनुपर्छ । तारेको, भुटेको, फास्टफुड खानुहुँदैन । किनभने यसको सेवनले अल्छिपन ल्याउनुका साथै पेट पनि खराब हुने सम्भावना हन्छ । समयमा हल्का, पौष्टिक, सू–पाच्य, सन्तुलित भोजन गर्ने । दूध, बदाम, मेवा, जस आदि लिइरहने । हरियो सागसब्जी, सिजनअनुसारको फलफूल बढी मात्रामा खाने । शुद्ध पानी प्रशस्त मात्रामा पिउने । गुलियो खानेकुरा चिया, कफी, कोक, फेन्टा, नखाने । नियमित रूपले व्यायाम गर्ने । परीक्षाको तनावसँग समन्वय गर्नको लागि लामो–लामो श्वास लिने, ध्यान र योगाभ्यास कपालभाँती, अनुलोमबिलोम गर्ने । सकारात्मक सोच तथा आत्मविश्वास कायम राख्ने । छात्रछात्राहरूको आत्मविश्वास नै उनीहरूको परफरमेन्सको स्तरलाई श्रेष्ठतम् बनाउन सक्छ । (अन्नपूर्णपोष्टबाट)
प्रकाशित मितिः ८ चैत्र २०७२, सोमबार ०३:३८
साझा बिसौनी संवाददाता ।