जनचेतनाका लागि सरसफाइ क्याम्प
बिसौनी संवाददाता
सुर्खेत, ७ चैत ।
वातावरण र जनसंख्या संस्था
(एन्फो) ले २५ औं रजत जयन्तीको अवसरमा विभिन्न ठाउँमा सरसफाइका लागि नागरिकहरूलाई सचेत बनाउन थालेको छ । एन्फोले वीरेन्द्रनगरमा विभिन्न ठाउँहरूमा सरसफाइ क्याम्प राखेर सरसफाइ सम्बन्धी जानकारी दिएको छ ।
एन्फोका सामुदायिक परिचालक मेघ केसीले संस्थाको २५ औं रजत जयन्तीको अवसरमा सरसफाइ क्याम्प सञ्चालनमा ल्याइएको बताए । क्याम्पमा सरसफाइ सम्बन्धी प्रश्न सोध्ने र सही उत्तर दिनेलाई सरसफाइका सामग्री पुरस्कार दिइएको उनको भनाइ थियो । अवलोकन गर्न आउनेलाई चिठ्ठामार्फत् सरसफाइ कसरी गर्ने, मल चर्पीको प्रयोग कसरी गर्ने, पानी शुद्धीकरण कसरी गर्ने भन्ने बारेमा सिकाइएको थियो । केसीका अनुसार शुक्रवार मार्च १७ देखि सुरु भएको रजत जयन्ती मार्च २१ सम्म सञ्चालन हुनेछ ।
क्याम्पमा अवलोकन गर्न आएकी विद्यापुर–९ सुर्खेतकी भावना कँडेलले क्याम्पमा आएर मात्र पानी शुद्धीकरण गर्ने विधि बारे जानकारी पाएको बताइन् । उनले भनिन्, ‘मलाई पानी शुद्धीकरण गर्न पिउसको प्रयोग गर्ने भन्ने थाहा थियो तर, कसरी र कुन विधिबाट शुद्धीकरण गर्ने भन्ने थाहा थिएन यही क्याम्पमा आएर सिकें अब व्यवहारमा पनि यसको प्रयोग गर्छु ।’ पानीको कुवादेखि चर्पी कति मिटर टाढा बनाउने भन्ने बारेमा पनि उनले क्याम्पमा नै आएर थाहा पाएको बताइन् । उनले थपिन्, ‘कुवादेखि चर्पी सधैं ३० मिटर टाढा राख्नुपर्ने रहेछ बल्ल थाहा भयो ।’
उनलाई पहिला लाग्ने गथ्र्यो सरसफाइ पनि अरुले सिकाउनुपर्छ र यो त सबैले सधैं घरमा सरसफाइ गरेकै त हुन्छन् । तर, जब उनले क्याम्पमा सरसफाइ सम्बन्धी धेरै कुराको जानकारी पाइन् तब उनलाई थाहा भयो कि मान्छेको स्वास्थ्य जीवनमा सरसफाइ भन्ने कुरा पहिलो प्राथमिकतामा पर्दाे रहेछ । त्यस्तै वीरेन्द्रनगर–१ की कमला लामिछानेलाई पनि मलचर्पीको प्रयोगको बारेमा केही थाहा थिएन । उनी एक विद्यार्थी पनि हुन् तर, उनलाई विद्यालयमा कहिल्यै पनि मलचर्पीको बारेमा पढाइएन । दिसा र पिसाब छुट्टाछुट्टै ठाउँमा छट्याउने मलचर्पीको प्रयोगका बारेमा उनले क्याम्पमा आएर नै थाहा पाएको बताइन् ।
भावना र कमला जस्तै दैलेखका सन्तोष कठायत पनि सरसफाइका बारेमा अनभिज्ञ नै थिए । उनलाई हात धुन पनि अरुले सिकाउनुपर्छ र हामी सधैं हात धोएकै छौं नि भन्ने लाग्ने गथ्र्यो । तर, हात धुने छ चरन पार गर्नुपर्ने कुरा उनलाई थाहा थिएन । उनले भने, ‘मलाई पहिला लाग्ने गथ्र्यो हात धुन नि यसरी कार्यक्रम गरेर सिकाउनुपर्छ, आज थाहा भयो हात धोएर मात्र हुँदो रहेनछ हात सफा पार्न छैठौं चरण पार गर्नुपर्ने रहेछ ।’ यस्ता जनचेतनामूलक सरसफाइका कार्यक्रम संस्थाको रजत जयन्तीको अवसरमा मात्र नभइ अन्य समय–समयमा गर्नुपर्ने उनको भनाइ थियो ।
प्रकाशित मितिः ८ चैत्र २०७२, सोमबार ०३:३९
साझा बिसौनी संवाददाता ।