धुलाम्मे सडकले सास्ती

अहिले वीरेन्द्रनगर उपत्यकाभित्रका अधिकांश सडक मर्मत र स्तरोन्नतिको काम भइरहेको छ । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरका सडक फराकिला बनाउने काम थालिएको लामो समयसम्म पनि निर्माण कार्य नसकिँदा झण्डै एक वर्षयता यहाँका सडक धुलाम्मे बनेका छन् । सडकमा उडेको धुलोले सवारी साधन प्रयोगकर्तादेखि सडकयात्रु र छेउछाउमा बसोबास गर्नेहरूलाई सास्ती भएको हो ।

सडक नजिकका बस्तीहरूमा धुलोले असर गरेपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन् । सडक मर्मतको काम ढिला र ठेकेदारको लापरबाही हुँदा धुलोले सास्ती दिएको भन्दै वीरेन्द्रनगर–७ स्थित शिवालयचोकमा आइतवार स्थानीयले बाटो नै बन्द गरी विरोध जनाएका छन् । सडकको धुलो कोठासम्मै पुगेको र परिवारका सदस्यहरू बिरामी पर्न थालेपछि उनीहरूले बाटो नै बन्द गर्न बाध्य भएको बताएका हुन् ।

दैलेख तथा कर्णालीका अन्य जिल्लामा जाने सडक खण्ड भएकाले पनि शिवालयचोक भएर दैनिक सैयौं सवारीसाधन ओहोरदोहोर गर्छन् । सडकको धुलोले सास्ती दिएपछि पानी छर्किदिन र समयमै निर्माण सम्पन्न गर्न वडा तथा नगरपालिकालाई बारम्बार भने पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ । सडक किनारका घरमा मात्र होइन सडकमा उडेको धुलोले करेसाबारीसमेत धुलाम्मे बनेको शिवालयचोकका डिल्ली आचार्यले बताए । सडक निर्माणका क्रममा ठेकेदार कम्पनीले दिनहुँ पानी हालेर धुलोमुक्त गर्नुपर्नेमा त्यसो नगरेको स्थानीयले बताएका छन् ।
पूर्वाधार विकास निर्देशनालयले ठेक्का लगाएको उक्त सडकमा झण्डै नौ महिनाको अवधिमा नालाको काम मात्रै सम्पन्न भएको छ । वडा नम्बर–७ का अध्यक्ष ध्रुव चपाईंले लकडाउनका कारण तीन महिना पूर्णरूपमा काम रोकिँदा निर्माण कार्यमा ढिलाइ भएको बताए । गुनासो बढ्दै गएपछि धुलो उड्न नदिन ठेकेदार कम्पनीलाई दैनिक एक पटकसम्म पानी छर्किन भनिसकिएको उनले बताए । ठेकेदारलाई एक साताभित्र ग्राभेल गर्न समेत भनिसकिएकाले निर्माणको कामले गति लिने उनको भनाइ छ ।

सडकमा उड्ने धुलोका कारण सबैभन्दा बढी पैदल यात्रुहरूले सास्ती खेप्नु परेको छ । धुलोका कारण जिल्ला प्रहरी कार्यालय अगाडिको सडक, कालुङ्गचोक, शिवालयचोक, टेलिकमलाइन र फोरलेनको पुल निर्माण खण्डमा पनि दिउँसै सडक अन्धकार देखिने गरेको छ ।

प्रकाशित मितिः   १७ कार्तिक २०७७, सोमबार ०७:५४