रेडपाण्डाको छालासहित चार जना पक्राउ

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । वीरेन्द्रनगर–६ गोदाम लाइनस्थित एक होटलबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला बरामद गरिएको हो । कारोबारमा संलग्नलाई पनि पक्राउ गरिएको प्रहरी जनाएको छ । होटलमा कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीको विशेष टोलीले उनीहरूलाई बुधवार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दैलेख नौमूले गाउँपालिकाका तीन जना पुरुष र नारायण नगरपालिकाका–९ की एक महिला रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । रेडपाण्डाको छाला दैलेखबाट ल्याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । छाला तीन जनाले ल्याएपनि रेडपाण्डा मार्ने व्यक्तिहरू भने अरु नै रहेको र पक्राउ पर्नेहरू भरिया बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी भट्टले बताए । उनीहरूबाट चार फिट र तीन फिट ६ इन्च लम्बाई भएको दुई थान रेडपाण्डाको छाल बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   ६ कार्तिक २०७७, बिहीबार ०६:०२