दसैँ बिदामा कोरोना परीक्षण नरोकिने
कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण दसैँ बिदामा पनि नरोकिने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयलले यो अवधिमा परीक्षण र उपचार जारी राख्ने बताएको हो । सोही विषयमा बुधवार सरोकारवाला तथा मन्त्रालय मातहतका निकायबीच छलफल भएको थियो । छलफलपछि यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले बताए ।
उनका अनुसार पीसीआर प्रयोगशालाले बिदाको समयमा पनि डाक्टरले सिफारिस गरेका र लक्षण देखिएका व्यक्तिहरूको परीक्षण गर्ने छन् । आकस्मिक सेवाका अतिरिक्त कोेरोना संक्रमण प्रतिकार्यका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा रहने छन् । प्रदेश अन्तर्गतका सबै अस्पताल र स्वास्थ्य संस्थाले आकस्मिक सेवा र कोभिड–१९ प्रतिकार्यका लागि खटाइएका जनशक्तिको विवरण निरन्तर स्वास्थ्य सेवा निर्देशनालयलाई उपलब्ध गराउनुपर्ने छ । प्रवक्ता अधिकारीले स्वास्थ्य सेवा निर्देशनालयले प्रदेशभरका अस्पताल र अन्य स्वास्थ्य संस्थाहरूको सेवा प्रवाहको सूचना संकलन, प्रशोधन गरी दैनिक प्रतिवेदन बनाउने बताए । त्यसको सहजीकरणका लागि स्वास्थ्य सेवा निर्देशनालयका नि. प्रमुख
डा. रविन खड्काको संयोजकत्वमा चार सदस्यीय सेवा प्रवाह सहजीकरण इकाई गठन गरिएको छ ।
अहिलेसम्मकै बढी संक्रमित
देशभर एकैदिन पाँच हजार सात सय ४३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । बुधवार भेटिएका संक्रमितको उक्त संख्या हालसम्मकै धेरै हो । योसहित संक्रमितको कुल संख्या एक लाख ४४ हजार आठ सय ७२ पुगेको छ । जसमध्ये ४४ हजार चार सय ७६ जना सक्रिय संक्रमित छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ९९ हजार ६ सय पाँच जना संक्रमणमुक्त भएका छन् । बुधवार २६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको संख्या सात सय ९१ पुगेको छ ।
यस्तै, कर्णाली प्रदेशमा बुधवार थप ५० जनामा कोरोना पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमित हुनेको संख्या पाँच हजार चार सय एक पुगेको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बुधवारसम्म प्रदेशभर एक हजार एक सय २९ जना कोरोनाका सक्रिय संक्रमित रहेको बताए । हालसम्म चार हजार नौ सय एक जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ ।
प्रकाशित मितिः ६ कार्तिक २०७७, बिहीबार ०६:०२
साझा बिसौनी ।