समृद्ध दैलेख: एक परिकल्पना

कविराज खत्री

प्रारम्भ

दैलेख जिल्ला ऐतिहासिक, धार्मिक, पुराताŒिवक, सांस्कृतिक र प्राकृतिक रूपमा अब्बल धनी जिल्लामा पर्दछ । २८ वटा जातजातिको उद्गमस्थल, पञ्चकोशी तीर्थस्थल, खानी, पानी र जडीबुटीमा समेत धनी जिल्लामा पर्दछ दैलेख । दैलेखको सारभूत परिचय यो भन्दा धरै दिनुपर्ने आवश्यक छैन, किनभने हामी सबै यस विषयमा जानकार नै छौँ ।

तथापि दैलेख जिल्लाको भौतिक विकास, शैक्षिक विकास र आर्थिक विकासलाई सुक्ष्म रूपमा अध्ययन गर्ने हो भने जति विकास हुनुपर्दथ्यो त्यति विकास नभएको हो । यस विषयमा दैलेखका सर्वपक्षीय अगुवाहरूले दीर्घकालीन साझा सोच बनाउन आवश्यक छ ।

विषयको केन्द्रीकरण

नेपाल सरकारका तीनवटै अङ्गहरू (स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार), दातृ निकायहरू, विभिन्न सहयोगी संघ÷संस्थाहरूको साझा प्रयासबाट २०६६ सालदेखि दैलेखलाई उद्यमशीलता र कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने सकारात्मक प्रयास जारी रहेको छ । यसै सन्दर्भमा सुरुमा लघु उद्यम विकास कार्यक्रम र अहिले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत दैलेखलाई ‘लघु औद्योगिक हव’ बनाउने क्रमले तीव्रता पाएको छ । लघु उद्यमका क्षेत्रमा दैलेख जिल्ला ७७ वटै जिल्लामध्ये राम्रो काम गरी राम्रो परिणाम निकाल्ने जिल्लामा पर्दछ ।

हाल दैलेख जिल्लामा आजसम्मको अवस्था हेर्दा झण्डै नौ हजार जना लघु उद्यमीहरू सिर्जना भएका छन् । तीमध्ये झण्डै ८५ प्रतिशत लघु उद्यमीहरूले सफलतापूर्वक आ–आफ्ना लघु उद्यमहरू सञ्चालन गरी आत्मनिर्भर बन्न सफल भएका छन् । स्थानीय साधन र स्रोत, आफ्नै सीप र जाागर तथा थोरै लगानी गरेर आफूलगायत समाजलाई समेत आत्मनिर्भर बनाउन सफल भएका छन् । १० प्रतिशत लघु उद्यमीहरू साना उद्योगीमा रूपान्तरण भइसकेका छन् भने पाँच जना लघु उद्यमीहरू मझौला उद्योगमा रूपान्तरण भइ कर्णाली प्रदेशकै नमूना उद्योग स्थापना गर्न सफल भएका छन् । दैलेखका लघु उद्यमीहरूले उत्पादन गरेका केही वस्तुहरू सिस्नो पाउडर, अल्लोको धागो र नेपाली हाते कागज विश्वबजारमा बजारीकरण भइरहेका छन् । यस परिणामले के बताउँछ भने दैलेखका करिब नौ हजार घरपरिवार पूर्ण रूपमा आत्मनिर्भर बन्न सफल भएका छन् । लघु उद्यममार्फत ६० प्रतिशत व्यावसायिक कृषकहरू, १० प्रतिशत वनमा आधारित लघु उद्यमीहरू, १० प्रतिशत सेवामा आधारित लघु उद्यमीहरू र अन्य विषयका लघु उद्यमीहरू अहिले आ–आफ्ना लघु उद्यममार्फत स्वरोजगार बनिरहेका छन् । कूल जम्मा ५५ हजार जना अहिले लघु उद्यममार्फत स्वरोजगार बनिरहेका छन् ।

लगानी र नाफाका दृष्टिकोणले लघु उद्यमहरूको अवस्था हेर्ने हो भने दैलेखका लघु उद्यमीहरूले दुई अर्ब ७० करोड जति पुँजी लगाएको अवस्था छ । नौ हजार लघु उद्यमीहरूले वार्षिक सालाखाला एक अर्ब आठ करोड नाफा लिन सफल देखिन्छन् । यो नाफा त्यहीँको स्थानीय स्रोत, साधन र सीप भएकाले जिल्लाकै पूर्ण आम्दानी हो भन्नुमा दुईमत नहोला । यस विषयमा यति नै चर्चा गरौं ।

अभियानको सन्दर्भ

दैलेख जिल्लालाई थप आत्मनिर्भर, स्वरोजगार बनाउन यतिखेर जिल्ला लघु उद्यमी समूह संघ दैलेख र आत्मनिर्भर लघु उद्यम कृषि सहकारी संस्था लिमिटेडले नयाँ अभियानको प्रारम्भ गरेको छ । जसका तीन वटा कार्यहरू रहेका छन् ।

क) उत्पादनः

जिल्ला लघु उद्यमी समूह संघमा अहिले आठ हजार लघु उद्यमीहरू आवद्ध रहेका छन् भने सहकारीमा तीन सय ६८ जना महिला लघु उद्यमीहरू आवद्ध छन् । यी मध्ये ७० प्रतिशत जति लघु उद्यमीहरू व्यावसायिक कृषि पेसामा आवद्ध छन् । दैलेख जिल्लाको मुख्य आम्दानीको स्रोत कृषि भएकाले लघु उद्यममार्फत सञ्चालित कृषि फर्महरूलाई थप स्तरोन्नति गर्न, उत्पादनको परिमाण बढाउन एकीकृत अभियान थालिएको छ । ११ वटै स्थानीय तहमा सहकार्य गरी कृषि पेसालाई व्यावसायिक बनाउन र अबको तीन वर्षमा दैलेखलाई कृषि उपजमा आत्मनिर्भर बनाउन यो अभियान सुरु भएको हो । अभियानको मूल उद्देश्य श्रमलाई जमिनमा जोड्ने, व्यावसायिक कृषि प्रणालीलाई सारभूत रूपमा नै सफल बनाउने र दैलेखका युवाहरूलाई विदेशिनबाट जोगाउने नै हो । दैलेखमा अबको तीन वर्षमा चार हजार पाँच सय कृषि फर्महरू साना उद्योगको रूपमा रूपान्तरण गर्ने, २५ हजार लघु उद्यम फर्महरू स्थापना गर्ने, ११ वटा पालिका स्तरीय औद्योगिक ग्राम स्थापना गर्ने, एउटा जिल्ला स्तरीय औद्योगिक क्षेत्र स्थापना गर्ने र एक वडा एक संकलन केन्द्र तथा हाटबजार सञ्चालन गर्ने अभियानको मूल उद्देश्य रहेको छ । जसका कारणले वार्षिक करिब १० अर्ब बराबरको वस्तु उत्पादन हुनेछ । यो उत्पादनमुखी अभियानमा सहकारीहरू, समूह र अगुवा कृषकहरूलाई अगुवाइको भूमिका निर्वाह गर्न र लगानी लगाउनका लागि उत्प्रेरणा र आवश्यक सहयोग–सहकार्य हुनेछ ।

ख) दीगो बजार व्यवस्थापन:

दैलेख जिल्लाको उत्पादन जे–जति हुने गरेको छ, उक्त उत्पादनको भरपर्दो र एकीकृत बजार व्यवस्थापन नहुँदा उद्यमी तथा किसानहरू समस्यामा परेका छन् । समस्यामा मात्र होइन, व्यासायिक कृषि पेसामा संलग्न नहुने र भएकाहरूले पनि कृषि पेसा त्याग्ने गरेका छन् । यसका लागि दिगो बजार व्यवस्थापन नै प्रमुख विषय हो । यही कुरालाई आत्मसात् गर्दै जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र आत्मनिर्भर लघु उद्यम कृषि सहकारी संस्था लिमिटेड दैलेखले एकीकृत दिगो बजार व्यवस्थापनको अभियान सुरु गरेको छ । दैलेखका लघु, कृषि उद्यमीहरूले उत्पादन गरेको बजारको सुनिश्चितता गर्नका लागि ‘दैलेख सौगात गृह’ सञ्चालनको अन्तिम तयारीमा रहेको छ । दैलेख सौगात गृहको मुख्य उद्देश्य लघु, किसान उद्यमीहरूले उत्पादन गरेका सम्पूर्ण वस्तुहरू खरिद गर्ने, ती उद्यमीहरूलाई आवश्यक पर्ने मेसिन, औजार प्रविधि, कच्चा पदार्थ सुलभ दरमा उपलब्ध गराउने, उद्यमी, किसानहरूलाई प्राविधिक सेवा, व्यावसायिक योजना निर्माण, प्रस्तावना लेखन र वित्तीय सहयोग गर्ने रहेको छ । जसका लागि दैलेख जिल्लाका पाँच हजार लघु, किसान उद्यमीहरूले हाल प्रति उद्यमी न्यूनतम दुई हजार नगद वा जिन्सी शेयर रकम संकलन गरी आफ्नै लगानीमा दैलेख सौगात गृह सञ्चालन हुँदैछ । यो आलेख तयार पार्दासम्म ६ लाख ८० हजार रकम सेयर संकलन भइरहेको छ । अबको दुई वर्षमा दुई करोड सेयर संकलन गर्ने योजना समेत रहेको छ । दैलेख सौगात गृहको दिगोपनाका लागि केही आधारभूत नीति निर्देशनहरू तयार पारिएको छ ।

  • बिक्री केन्द्रमा सिसी टिभी जडान र निगरानी
  • सञ्चालक समिति निर्माण
  • सफ्टवेयर जडान
  • सम्पूर्ण कारोबार बैंकिङ्ग प्रणालीबाट
  • दैलेखका प्रत्येक वडामा एक÷एक जना संकलकर्ता परिचालन
  • कृषि एम्बुलेन्स र ढुवानी गाडी प्रयोग
  • दैलेखका ११ वटै स्थानीय तहका सदरमुकामहरूमा कृषि उपज संकलन केन्द्र निर्माण र सञ्चालन
  • कानुनी वैधता हुने गरी किसान र संकलनकर्ताबीच खरिद–बिक्रीको करार सम्झौता तथा जिल्लाका बिक्रेताहरू र प्रदेश स्तरीय खरिदकर्ताहरूबीच खरिद सम्झौता
  • एक लाखभन्दा कमको वस्तु नगदमा खरिद, एक लाखभन्दा माथिको खरिद गर्दा ६० प्रतिशत तत्काल भुक्तानी, २० प्रतिशत १५ दिनमा र २० प्रतिशत ३० दिनमा भुक्तानीको ग्यारेन्टी गर्ने ।

यी आधारभूत नियमको परिधिमा रही न्यूनतम् तलब र अधिकतम् कमिशनमा कर्मचारी परिचालन गर्ने गरी दैलेख सौगात गृह सञ्चालन हुँदैछ । तीन वर्षपछि दैलेख सौगात गृहलाई लिमिटेड कम्पनीमा रूपान्तरण गरी स्थानीय स्रोत र साधन प्रयोग गरी दैलेख जिल्लाको सबैभन्दा ठूलो प्रशोधन केन्द्रका रूपमा स्थापन गर्ने लक्ष्य रहेको छ । प्रशोधन केन्द्र भन्नुको तात्पर्य जस्तै– खुर्सानी, काउली, मूलाको अचार बनाउने, टमाटरको सस बनाउने, आँप, अम्बा लगायतका वस्तुको जुस बनाउने ।

यति मात्र होइन, खरिद–बिक्री सम्झौता गर्नुपूर्व किसान र उद्यमीहरूलाई वार्षिक बालीपात्रोको खाका उपलब्ध गराउने र किसानले कुन महिना
कति परिमाणमा उत्पादन गर्न सक्छ, के के उत्पादन गर्न सक्छ ? आफैं स्वघोषणा गरे पछि मात्र दोहोरो खरिद बिक्री सम्झौता गर्ने अभियान सञ्चालन गरिएको छ ।

ग) बैंक स्थापना:

माथिका दुईवटा कार्य गर्नका लागि पुँजीको ठूलो आवश्यकता पर्दछ । तसर्थ दैलखका आम नागरिक, उद्यागी, व्यापारीहरूको साझा प्रयासबाट दैलेखमा नै केन्द्रीय कार्यालय हुने गरी बैंक स्थापना गर्ने कार्य पनि अघि बढेको छ । अबको ढिलोमा तीन वर्षमा बंैक स्थापना हुँदैछ । यो बंैक स्थापना गर्नुको मूल उद्देश्य गाउँका किसान र लघु उद्यमीहरूलाई सहज र शुलभ ब्याजमा ऋण उपलब्ध गराइ उद्यम र कृषि पेसालाई दिगो बनाउनु रहेको छ । अहिलेको सन्दर्भमा उद्यम स्थापना, स्तरोन्नति, व्यावसायिक कृषि गर्नका लागि आवश्यक पर्ने ऋण गाउँको जग्गा धितो राखेर ऋण माग गर्दा कुनै पनि बंैकले नपत्याएको अवस्था छ । अपवादको रूपमा, त्यो पनि अति चर्को ब्याजमा मात्र ऋण पाएको अवस्था छ । यो अवस्थालाई चिरफार गर्न गाउँका उद्यमी, किसानले ऋण माग गरेको सात दिनभित्र ऋण उपलब्ध गराउने, शुलभ दरमा, परियोजनाका आधारमा ऋण उपलब्ध गराउने उद्देश्यका साथ बैंक स्थापना गर्न लागिएको छ । जसको नेतृत्व र अगुवाइ जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र आत्मनिर्भर लघु उद्यम कृषि सहकारी संस्था लिमिटेड नारायण नगरपालिका दैलेखले गरिरहेको छ ।

निष्कर्ष

कुनै पनि काम गर्नलाई पहिला ज्युँदो सपना देख्नु पर्दछ, त्यो सपनालाई साकार पार्न भरपर्दो समूहको आवश्कता पर्दछ र समूह भएर मात्र होइन, दीर्घकालीन सोच, ठोस कार्य योजना, दृढता आवश्क पर्दछ । दैलेख जिल्लाका नौ हजार लघु उद्यमी तथा किसानहरूले यही ठोस कार्य योजना, दृढसंकल्प र ज्युँदो सपना देखेर अघि बढेको अवस्था छ । कार्य गर्दा समाजले अनेक प्रकारले सोच्ने गर्दछ, सकिन्छ वा सकिन्न, सफल भइन्छ वा भइन्न ? आदि तर्कहरू उब्जने गर्दछन् तर यथार्थमा सकिन्छ भन्ने नै हो । हामी सबैले साझा योजना बनाएर आवश्यकताका आधारमा अघि बढ्ने हो भने सम्भव छ ।

यसका साथै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार लघु उद्यमी, किसानहरूको पक्षमा छ । हामी लघु उद्यमी तथा किसानहरूले अघि बढाएको कदमलाई नेपाल सरकारले अवश्य पनि सहयोग गर्नेछ । अभिभावकत्व प्रदान गर्नेछ । कानुनी वैधता सहित अबको तीन वर्ष पछि दैलेख जिल्ला पूर्णरूपमा नभए पनि अहिले अवस्थाभन्दा कम्तिमा ५० प्रतिशत बढी रूपमा आत्मनिर्भर बन्नेछ, गाउँका किसान, उद्यमीहरूले सहज रूपमा र परियोजना तथा गाउँको जमिन धितो राखेर शुलभ ब्याजमा आवश्यकता अनुसारको ऋण पाउनेछन् भने दैलेखको उत्पादन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बजार मूल्य शृङ्खलाको आधारमा बजारीकरण हुनेछ । यसका लागि जिल्ला लघु उद्यमी समूह संघ र आत्मनिर्भर लघु उद्यम कृषि सहकारी संस्थाले हाल अगुवाइ गरे पनि एक वर्षपछि दैलेखका सम्पूर्ण सहकारी, समूहहरू, उद्योग वाणिज्य संघ लगायतका संस्थाहरू पनि जोडिने छन् । नेपाल सरकारले यो कार्यको अभिभावकत्व प्रदान गर्नेछ । हामी लघु उद्यमीहरूले यही आशा र भरोसाका साथ दैलेखमा महाअभियान सञ्चालन गरिहेका छौं ।

(लेखक जिल्ला लघु उद्यमी समूह संघ, दैलेखका अध्यक्ष हुन् ।)