एमयूका प्राध्यापक आन्दोलित
विधिविपरीत राखिएकालाई हटाइन्छ: उपकुलपति
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)का चेप्टर कन्ट्याक्ट (केही पाठ मात्र पढाउने) प्राध्यापकहरू आन्दोलित भएका छन् । विश्वविद्यालयको कार्यकारी परिषद्ले कानुनविपरीत राखिएका चेप्टर कन्ट्याक्ट उपप्रध्यापकहरू हटाउने निर्णय गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।
चेप्टर कन्ट्याक्ट उपप्राध्यापकहरूको नियुक्ति खारेजी हुने गरी भएको कार्यकारी परिषद्को निर्णयविरुद्ध आफूहरू आन्दोलित भएको संघर्ष समितिका अध्यक्ष धु्रवेन्द्र भट्टराईले बताए । उनका अनुसार विश्वविद्यालयमा हाल विभिन्न संकायमा गरी झण्डै ५० जना यस्ता उपप्राध्यापकहरू छन् । पेसाको संरक्षणका लागि आफूहरू आन्दोलनमा होमिनु परेको भट्टराई बताउँछन् । उनीहरूले शुक्रवार विश्वविद्यालयको केन्द्रीय क्याम्पस परिसरमा एक घण्टा हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए । बिहीवार विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई समेत भेटेर पेसाको सुनिश्चितताको लागि आग्रह गरिसकिएको आन्दोलनरत उपप्राध्यापकहरूले जनाएका छन् ।
दुई महिनाअघि बसेको एमयूको कार्यकारी परिषद् बैठकले चेप्टर कन्ट्याक्टको नाममा अध्यापन गराउनु कानुनविपरीत भएको ठहर गर्दै यसरी अध्यापन गराउने काम रोक्ने निर्णय गरेको थियो । उपकुलपति सिंहले नेपालका कुनै पनि विश्वविद्यालयका रातो किताबमा चेप्टर कन्ट्याक्टको व्यवस्था नभएको भन्दै यसरी अध्यापनको अनुमति दिनु विश्वविद्यालयको ऐन विपरीत हुने बताए ।
‘हाम्रो विश्वविद्यालयमा पनि यो व्यवस्था छैन,’ उनले भने ‘एउटा विषयको एक च्याप्टर पढाउन १५ जना उपप्राध्यापकसम्म नियुक्त गरेको पाइयो । किन चाहियो यति धेरै संख्या ?’ सिंहले आंशिक रूपमा विश्वविद्यालयमा अध्यापन गराइरहेकाहरूको हकमा भने कुनै निर्णय नगरिएको बताए । कार्यकारी परिषद्ले चेप्टर कन्ट्याक्टमा रहेका उपप्राध्यापकहरूलाई अध्यापन नगराउन आग्रह गर्दा गर्दै पनि अटेरी गरिरहेको भन्दै उपकुलपति सिंहले उनीहरूको पारिश्रमिक सम्बन्धित संकायका प्रमुख तथा डीनले पकेटबाट दिनुपर्ने चेतावनी दिए । उनले यसअघिका पदाधिकारीले विश्वविद्यालयलाई मनपरी भर्ति केन्द्र बनाएको भन्दै त्यसरी राखिएका कर्मचारी अब हटाइने बताए ।
प्रकाशित मितिः १ कार्तिक २०७७, शनिबार १२:०४
साझा बिसौनी ।