कर्णाली कलह: संयुक्त संवाद अनिश्चित

दाहालले दुवै पक्षसँग भेटे, ओलीले अझैँ दिएनन् समय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलको किचलो मिलाउन काठमाडौं बोलाइका नेताहरू शुक्रवार साँझसम्म संयुक्त छलफलमा बसेका छैनन् । उनीहरूले शीर्ष नेतृत्वसँग छुट्टाछुट्टै मात्र भेटघाट गरेका हुन् । मुुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरूले अविश्वासको प्रस्ताव ल्याएपछि कर्णालीमा नेकपाभित्र विवाद उत्कर्षमा पुगेको थियो । कर्णालीको कलहले पार्टी एकतामा समेत धक्का पुग्ने भन्दै शीर्ष नेतृत्वले दुवै पक्षलाई छलफलका लागि काठमाडौं बोलाएको हो ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले बोलाएपछि मुख्यमन्त्री शाही, असन्तुष्ट पक्षका सांसद यामलाल कँडेलसहितका नेताहरू काठमाडौं गएका छन् । उनीहरूले अध्यक्षहरूलाई कर्णालीमा भएको अवस्थाको बारेमा जानकारी गराइरहेको बताएका छन् । यद्यपि दुवै पक्षले प्रचण्डसँग भेट गरे पनि ओलीसँग भने भेट्न पाएका छैनन् ।

बिहीवार मुख्यमन्त्रीको टोलीले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका थिए भने शुक्रवार कँडेल पक्षले भेटेको हो । भेटघाट टोलीमा सहभागी कर्णाली प्रदेशसभा सांसद चन्द्रबहादुर शाहीले कार्यकारी अध्यक्षसँग भेटेर कर्णालीमा भएको राजनीतिक वस्तुस्थितिबारे जानकारी गराएको बताए । ‘अहिले हामीले छुट्टाछुट्टै भेटघाट गरिरहेका छौँ । कार्यकारी अध्यक्षज्यूसँग भेट गरेर सबै अवस्थाको बारेमा जानकारी गराएका छौँ । त्यसभन्दा थप अरु केही भएको छैन,’ उनले भने । उनीसहित पूर्व एमालेका केही सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर पछि ब्याक भएका थिए । पार्टी एकता बचाउनका लागि प्रस्तावबाट ब्याक भएको उनले दाबी गरे । उनले भने, ‘प्रचण्डले पार्टी एकता खलबलिने र यसले ठू्लो असर पर्ने भएकाले प्रस्तावबाट पछि हट्न अनुरोध गर्नुभयो । हामी त्यसैअनुसार पछि हटेका हौँ ।’ उनले अध्यक्षहरूसँगको संयुक्त छलफलबाट सकारात्मक नतिजा आउने बताए ।

अविश्वास प्रस्ताव दर्ता गर्ने कँडेलसहितका सांसदहरूले पनि शुक्रवार प्रचण्डलाई भेटेर कर्णालीको अवस्थाबारे बताएका थिए । नेकपा कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले कार्यकारी अध्यक्ष प्रचण्डसँगको भेट सकारात्मक भएको बताए । दुवै पक्षले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने भेटघाट गरेका छैनन् । सम्भवत आज(आइतवार) भेट हुन सक्ने सांसद शाहले बताए । अध्यक्षहरूको व्यस्तताका कारण संयुक्त छलफल हुन नसकेको उनी बताउँछन् । ‘अहिले विवादका विषयमा जानकारी गराउनेबाहेक थप छलफल भएको छैन’ उनले भने, ‘दुुवै अध्यक्षलाई सबै जानकारी गराइसकेपछि संयुक्त रूपमा बसेर छलफल गर्छौँ र टुङ्गोमा पुग्छौँ ।’ उनले आज प्रधानमन्त्री ओलीसँग भेटघाट हुने बताए । अविश्वासको प्रस्ताव जहाँको त्यहीँ भएकाले आफूहरू पछि नहट्ने मनस्थितिमा रहेको उनले दोहो¥याए ।

गएको आइतवार सांसद कँडेलसहित १८ जनाले मुख्यमन्त्री शाहीले संसदीय दल र सरकारको नेतृत्व प्रभावकारी बनाउन नसकेको भन्दै उनीविरुद्ध दलभित्र अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । मुख्यमन्त्री शाहीविरुद्ध दलभित्र अविश्वासको प्रस्ताव दर्ता भएपछि दलका प्रमुुख सचेतक गुलावजंग शाहले मंगलवार संसदीय दलको बैठक डाकेका थिए । दलको बैठक बस्नुअघि नै मुख्यमन्त्री शाहीले शाहलाई प्रमुख सचेतकबाट हटाएर सीताकुमारी नेपालीलाई नियुक्त गरेका थिए । नयाँ घटनाक्रम विकसित भएपछि अविश्वास प्रस्तावका केही हस्ताक्षरकर्ता सांसदहरू उक्त प्रस्तावबाट पछि हटे । जसका कारण अविश्वास प्रस्ताव पास गर्न बोलाइएको बैठकसमेत बस्न सकेन । मुख्यमन्त्री शाहीले सांसद कुर्मराज शाहीलाई सचेतक नियुक्ति गरेलगत्तै विवाद झन बढ्दै जाने देखेपछि दुवै पक्षका गतिविधि रोकेर काठमाडौं आउन केन्द्रीय अध्यक्षहरूले निर्देशन दिएका थिए । तर अध्यक्षद्वयसँगको भेट भने निश्चित भएको छैन ।

प्रकाशित मितिः   १ कार्तिक २०७७, शनिबार १२:०१