जनताका समस्या नेतासम्म पुर्याउँथे
सुमित्रा बि.सी. राष्ट्रियसभा सदस्य हुन् । वि.सं. २०१७ पुस २७ गते बुबा हरि बुढा क्षेत्री र आमा वृदिकुमारी बुुढा क्षेत्रीको सन्तानका रुपमा सिम्ता गाउँपालिकाको खानीखोला चोल्पामा जन्मिएकी हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ बि.सी. बाल्यकालदेखि नै सक्रिय राजनीतिमा होमिएकी थिइन् । उनी तत्कालीन एमालेको टोल, जिल्ला कमिटी हुँदै नेपाल महिला संघको केन्द्रीय सचिव र केन्द्रीय निर्वाचन आयोग सदस्य समेत भइसकेकी छिन् । उनै नेतृ बि.सी.ले हाम्रा सहकर्मी मुना हमालसँग बालापनका सम्झना यसरी साटिन्:
मेरो जन्म सिम्ता गाउँपालिकाको चोल्पामा भएको हो । हजुरबुवा जिम्वाल हुनुहुन्थ्यो । जिम्वालका खलक भनेर भन्थे, हामीलाई । घरमा काम गर्ने मान्छेहरू हुन्थे । हामी चार दाजुभाइ र तीन बहिनी हौं । घरमा भाइबहिनी हेर्ने बाहेक खासै अरु काम हुन्थेन ।
त्यसबेलामा पञ्चायती व्यवस्थाविरुद्ध भूमिगत रूपमा पार्टीहरूले आफ्ना गतिविधि सञ्चालन गर्थे । विशेष गरेर कम्युनिष्ट पार्टीहरू शिक्षकमार्फत नै जनतासम्म पुग्थे । मेरो काकाहरू शिक्षक भएकाले कम्युनिष्ट पार्टी र आन्दोलनसँग आवद्धता थियो । राजनीतिक गतिविधिहरू भूमिगत हुुने भएकाले रातिको समयमा हुन्थे । हामी केटाकेटीहरू रातिको समयमा पञ्चायतीविरुद्ध र जनतालाई सचेत गराउने पार्टीका पर्चा–पम्लेट बाँड्न हिँड्थ्यौँ । रातभरि गाउँमा फाल्थ्यौँ, बिहान जनताले पढ्थे । पार्टीका बाल सङ्गठनजस्तै थिए उसबेला हाम्रा गतिविधि ।
मैले चोल्पाको हिमाली माध्यमिक विद्यालयमा औपचारिक शिक्षा सुरु गरेकी हुँ । हामी सिम्ताबाट २०२४ सालमा बाँके (राजापुरको के गाउँ)बसाइँ सरेर गएपछि बाँकेमा पनि पार्टीका गतिविधिमा सक्रिय भएर लागेँ । तराईमा प्रायः सबैले साइकल चलाउने । तर छोरी मान्छेहरूले साइकल चलाउँदैनथे । गाउँभरिमा साइकल चलाउने पहिलो छोरीमान्छे सायद म मात्र थिएँ । मैले गाउँमा केटीहरूले साइकल चलाएको देखिनँ । पार्टीका चिठी आदान–प्रदान गर्थेँ । पार्टीका चिठी तलका कमिटीमा पु¥याउने काम मैले नै गरेँ । वर्ग संघर्ष दस्तावेज हुन्थ्यो, त्यो भारतमा छापिन्थ्यो । त्यो किताब आएपछि पु¥याउने जिम्मा मेरो हुन्थ्यो । जनताका समस्या बुझेर नेताहरूलाई पनि बुझाउने गर्थेँ ।
पार्टीका गतिविधि भूमिगत रूपमा सञ्चालन गर्ने भएकाले सेल्टर हुन्थे । यस्ता गतिविधिमा हामी विद्यार्थीहरू नै सक्रिय हुन्थ्यौँ । नेताहरूलाई खाना पु¥याउने, खुवाउने जिम्मा हामीलाई हुन्थ्यो । पार्टीका नेताहरूले समाजमा कुनै वर्ग हुन्न, वर्गविहीन समाज हुन्छ, धनी–गरिब भन्ने हुँदैन भनेर सिकाउँथे । पञ्चायतकालमा भूमिगत भएर पार्टीका गतिविधि हुन्थे । गोपनियता भङ्ग हुन्छ भनेर त्यसको जिम्मेवारी पनि विश्वासिलोलाई मात्र दिइन्थ्यो । नेता भित्र हुँदा हामी बाहिर गार्डजस्तो गरी बस्थ्यौँ ।
बाल्यकालदेखि नै विद्रोही स्वभावको थिएँ । कुनै पनि गलत कुरा सहनु हुन्न भन्ने लाग्थ्यो । छोरी भएर छोरा जसरी बाहिर जानुहुन्न, छोरीले घरका कामहरू राम्रोसँग गर्नुपर्छ, बाहिर घुलमिल हुनुहुन्न भन्ने थियो । आमा–हजुरआमाले पनि घर राम्रोसँग गरेर खानुपर्छ । अहिलेदेखि नै सिक्नुपर्छ भन्नुहुन्थ्यो । तर मलाई घरभित्रको मसिनो काम गर्ने भन्दा बाहिरको काम गर्न मन पथ्र्यो । गाउँमा झै–झगडा भएपछि मिलाउनुुपर्छ भन्ने लाग्थ्यो । काकाहरू पार्टीमा आवद्ध भएको भएर पनि म बाहिरका काम गर्ने अवसर पाउँथेँ ।
म पढाइमा राम्रो विद्यार्थी थिएँ । प्रायः प्रथम भइरहन्थँे । विद्यालयका अतिरिक्त क्रियाकलापमा सहभागी हुन्थेँ, पुरस्कार पाइरहन्थेँ । साथीहरूले बेहुला बेहुली बनाएर खेल्थे । म भने डन्डीबियो, भलिभल खेल्ने । छोरी भएर सबै काम गर्नुपर्छ भन्ने लाग्थ्यो । छोरीलाई पढाउनुहुुन्न भन्ने नै थियो । कसरी छोरीलाई घर गरी खाने भनेर सिकाइन्थ्यो । त्यतिबेला छोरीले घरभित्रको सबै काम सिक्नुपर्छ भन्ने मान्यता थियो । विद्यालयमा कमै छोरीहरू मात्रै जान्थे । मेरो परिवार शिक्षित भएकाले मलाई विद्यालय पठाइयो । मैले पढ्न पाएँ । हामी एकदमै अनुशासित थियौँ । मेरो घरमा पनि धार्मिक वातावरण थियो । धार्मिक वातावरणले मान्छेलाई अनुशासित गराउने रहेछ । पूजापाठ गर्ने, व्रत बस्ने गरिन्थ्यो । मेरो परिवार धर्मकर्ममा बढी सहभागी हुन्थ्यो । अनुशासन तोड्नु हुन्न, गलत गर्नुहुन्न भन्ने शिक्षा आमाबुवाबाट सिकेका थियौँ ।
पहिले छोरीलाई सानै उमेरमा विवाह गरिदिने चलन थियो । घरमा पहिलो पटक मेरो बिहेको कुरा चल्यो । त्यतिबेला म १३ वर्षको मात्र थिएँ, आठ कक्षामा पढ्थँे । बिहे गर्न मन नभएपछि मैले विद्रोह गर्नुप¥यो । बिहेको कुरा गर्न आएको थाहा पाएपछि म कोठामा एक्लै बसेर रोइरहेकी थिएँ । ठूलाबडाको घरमा अनुशासित हुनुपर्छ, आफूभन्दा ठूलोले भनेको मान्नुपर्छ भन्ने थियो । बिहे नगरेर पढ्ने मेरो इच्छा थियो । बिहे गर्नुअघि दहीठेकी लगाउने चलन थियो । हजुरआमाले मलाई सम्झाउँदै ‘घरमा राम्रो इष्ट आएका छन् । हामी ठूलाबडाका छोरीहरूले हुन्न भन्नुहुन्न, बिहे गर’ भनेर सम्झाउनुभयो । मैले उहाँलाई केही भन्न सकिनँ । त्यस दिन सबै जना कुरा गरेर सुते ।
मेरो दाइ (खगेन्द्र बिसी) शिक्षक हुनुहुन्थ्यो । उहाँलाई भेटेर सबै कुरा भन्ने र बिहे रोक्न लगाउने योजनासहित म बिहानै चार बजे उठेर दाइसँग गएँ । बीच बाटोमा ठूलो खोला थियो । पुल थिएन । बर्खाको समयमा बाढीको डर हुन्थ्यो । मैले खोलामा हेलिएर मरँे भने ठिक छ, बाँचेर दाइसँग गएँ भने बिहे रोक्न लगाउँछु भन्ने मनसाय बनाएँ । खोला तर्दै गर्दा बीचमा पुगेपछि आधा डुबिसकेको थिएँ । दाउरा बेच्न आउनेले मलाई बचाए । त्यसपछि दाइकोमा गएँ । मैले आफ्ना कुरा दाइसँग भन्न नसकेर भाउजुलाई भनँे । पछि दाइले आफू गएर हजुरबुुवासँग कुरा गर्ने भनेपछि मन हल्का भयो । दाइले पनि हजुरबुवा र बुवालाई भन्न सक्नु भएनछ । पछि बिहे नहुने भयो भन्नुभयो । तर एक वर्षपछि बिहे गरिदिने कुरा भएको रहेछ ।
स्वस्थानीको पूजाको समयमा विवाह गरिदिने सहमति भएको रहेछ । मलाई बिहेको कुरा थाहा पाएर भाग्छे भनेर थाहा दिनु भएको रहेनछ । जन्ती आएपछि मेरो मिल्ने साथीहरूलाई भनेछन् । म भाग्छु भनेर मलाई नभनेका रैछन् । जग्गेमा जाने समयमा मात्र मैले मेरो बिहे रहेछ भन्ने थाहा पाएँ । म भाग्छु भनेर सबै तयारी अवस्थामा रहेछन् । भाग्ने कुनै सम्भावना भएन । बिहे भयो । पढाइ एकडेढ वर्ष रोकियो । सानै उमेर, इच्छा विपरीत बिहे भएकाले गाह्रो त हुने नै भयो । मैले राजनीतिलाई भने निरन्तरता दिएँ । सुर्खेत शिक्षा क्याप्पसबाट बि लेबल पढेँ । त्यो एसएलसी सरह हुन्थ्यो । त्यसपछि मैले राष्ट्रिय वाणिज्य बैंकमा जागिर सुरु गरेँ । तर पनि पार्टीको कर्मचारी युनियनमै रहेर काम गरेँ । म पहिले मालेमा आवद्ध थिएँ । एमाले र माले एकीकरण भएपछि अखिल नेपाल महिला संघको केन्द्रीय सचिवसमेत भएर काम गर्ने अवसर मिल्यो । पार्टीको टोल हुँदै जिल्ला कमिटी सदस्य भएँ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको सदस्यसमेत भएर काम गर्ने अवसर पाएँ ।
प्रकाशित मितिः १ कार्तिक २०७७, शनिबार १२:१६
साझा बिसौनी ।