तीन कार्यालयका प्रमुखलाई स्वागत

हालैमात्र सरुवा भएर सुर्खेत आएका विभिन्न ३ वटा सरकारी कार्यालयका प्रमुखहरुलाई सुर्खेत उद्योग वाणिज्य संघले जिल्लामा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय विकास अधिकारी अमृत लम्साल, वरिष्ठ कृषि विकास अधिकृत कालिकाप्रसाद कोइराला र कर अधिकृत यज्ञराज ढकाललाई संघले आज स्वागत गरेको हो ।

कार्यक्रममा संघका अध्यक्ष प्रकाश अधिकारीले छैठौं प्रदेशको सम्भावित राजधानीका रुपमा रहेको सुर्खेतको समग्र विकासका लागि निजी र सार्वजनिक क्षेत्रले हातेमालो गर्नुपर्ने आवश्यक्ता औंल्याए । यस्तै स्थानीय विकास अधिकारी लम्सालले औद्योगिक विकास नभएसम्म अरु विकास नहुने भन्दै आर्थिक, सामाजिक र सांस्कृतिक विकासभन्दा पहिला औद्योगिक विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत कोइरालाले कृषि क्षेत्रको व्यवसायिकीकरणका लागि कृषि र निजीक्षेत्र बीच अनोन्याश्रित सम्बन्ध हुनुपर्ने औल्याए । यसैगरी संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेतिले सार्वजनिक र निजी क्षेत्रको सहकार्य बिना जिल्लाको आर्थिक उन्नति हुन नसक्ने भन्दै आपसी सहकार्यमा जोड दिए ।

प्रकाशित मितिः   १ मंसिर २०७३, बुधबार १७:२५