चुनावअघि, चुनावपछि–चार

भैरवी गाउँपालिकाका घोषणा–पत्रदेखि नीति तथा कार्यक्रम

यो चुनाव अघि–चुनाव पछिको चौथो श्रृंखला हो । वि.सं. २०७४ वैशाख ३१ गते देशभर स्थानीय तहको चुनाव भयो । चुनावभन्दा अगाडि उम्मेदवारहरूले आफ्ना प्रतिबद्धता–पत्र र घोषणा–पत्र सार्वजनिक गरे । चुनावको बेला उम्मेदवारले गरेको प्रतिबद्धता र त्यसपछि निर्वाचित भएर जनप्रतिनिधिको रूपमा उनीहरूले गरेको काम के कस्तो छ भनि तन्नेरी चासो सुर्खेत र साझा बिसौनी दैनिकको सहकार्यमा अध्ययन भइरहेको छ । सोही अन्तर्गत आजको अंकमा भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाका चुनावी प्रतिबद्धता, त्यसको कार्यान्वयनको अवस्था विश्लेषण गर्दैछौं । उनका प्रतिबद्धता कति पूरा भए कति अधुरा छन् भन्नेबारे बुढासँग गरिएको कुराकानी पनि यहाँ उल्लेख गरिएको छ ।

भैरवी गाउँपालिका दैलेखको पश्चिम क्षेत्रमा अवस्थित छ । गाउँपालिका २०७३ फागुनमा स्थापना भएको हो । ११०.४३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस पालिकामा कुल सात वटा वडा रहेका छन् भने गाउँपालिका साविकका चारवटा गाविस मिलेर बनेको हो । पछिल्लो जनगणना अनुसार यहाँ कूल जनसंख्या २१,२३३ रहेको छ । गाउँपालिकामा ३,९७६ घरधुरी रहेका छन् ।

२०७४ वैशाख ३१ गते भएको स्थानीय तहको चुनावबाट भैरवी गाँउपालिकाको अध्यक्षमा तत्कालीन नेकपा एमालेका प्रेमबहादुर बुढा ३,५८४ मत ल्याएर निर्वाचित भए भने गाउँपालिकाको उपाध्यक्षमा एमालेकै पदमकुमारी विष्ट ३,४७८ मतका साथ विजयी भएकी हुन् ।

चुनावी प्रतिबद्धताः

(१) माथिल्लो डुङ्गेश्वर–दुल्लू–डाँडीमाडी–कुसापानी, कालीकोट, जुम्ला हुँदै मुगु जिल्लाको नाग्चेनाग्ला सडक निर्माण गरी उक्त सडकलाई उत्तर दक्षिण प्रादेशिक सडकको रूपमा विकास गर्ने ।

(२) श्रीस्थानमा रहेको पेट्रोलियम पदार्थको उत्खनन् कार्यलाई अगाडि बढाउन पहल ।

(३) श्रीस्थान ज्वाला संरक्षण, धुलेश्वर, भैरवी, मस्जिद, दुर्गा, भुवानथानका साथै अन्य धार्मिक स्थलहरूको संरक्षण सम्वद्र्धन र विकास गरी पर्यटन व्यवसायलाई अगाडि बढाउने ।

(४) बडलम्जी–डाँडीमाडी–कुसापानी र बडलम्जी–रावतकोट सडकलाई स्तरउन्नति र कालोपत्रे गर्ने ।

(५) बडलम्जी खानेपानी आयोजना र अन्य साना खानेपानी आयोजनाको व्यवस्थापन गरी भैरवी गाउँपालिका क्षेत्रमा खानेपानीको आपूर्ति ।

(६) उत्तरी क्षेत्रमा जडिबुटी र दक्षिणी क्षेत्रमा तरकारी, फलफूल र मत्स्यपालन पकेट क्षेत्र बनाई कृषिमा आधुनिकीकरण प्रविधि अपनाउन पहल गर्ने ।
(७) गाउँपालिका क्षेत्रभित्र केन्द्रीय प्रसारण लाइनबाट विद्युतीकरण गर्ने ।

(८) बाजथला–बगौरा, बगना–गडाजिउला, डाँडीमाडी–गडाजिउला, डाँडीमाडी–सैन, डोक्रा–कुसापानी साथै कुसापानी–गैरासरु–कडेनी–गोर्ती–काशीकाँध, कुसापानी–घुम्नेखाली–कुर्माकोट–कुटी–काशीकाँध सडक निर्माण ।

(९) जडिबुटी प्रशोधन केन्द्र र आधुनिक घरेलु उद्योग स्थापना ।

(१०) गडाज्यूला, छामघाट र पोरीगाडमा भइरहेको नदीकटान नियन्त्रण गर्ने ।

(११) गडाज्यूला र सैन सिँचाइ कुलो निर्माण गर्ने र छामघाटमा पम्पिङ्ग प्रविधिबाट सिँचाइ आपूर्ति ।

(१२) गाउँपालिकामा स्थापना गरिने विषयगत कार्यालयहरू साविकका चार वटा गा.वि.स. समेटिने गरी स्थापना ।

(१३) वनजङ्गल फडानी र प्राकृतिक श्रोत विनासलाई नियन्त्रण गर्न पहल ।

(१४) गाउँपालिका क्षेत्रमा रहेका शैक्षिक संस्थाहरूको स्तरयुक्त विकास गर्ने र सिङ्गो भैरवी गाउँपालिका क्षेत्रभित्र एउटा क्याम्पस स्थापना गर्न पहल गर्ने ।

(१५) उपयुक्त स्थानको छनोट गरी प्राविधिक दृष्टिले सम्भव हुने स्थानमा एउटा विमानस्थल र एउटा औद्योगिक केन्द्र स्थापनाका लागि आवश्यक पहल ।

(१६) उच्च पहाडी क्षेत्रमा रहेका बहुमूल्य धातु, स्लेट, जडिबुटी, जङ्गल र वन्यजन्तुको संरक्षण गर्न सो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने ।

(१७) एक वडा–एक उत्पादन क्षेत्र, एक वडा–एक सहकारी र एक वडा–एक पार्कलाई नीतिगत व्यवस्थापन गर्ने ।


‘‘नागरिकलाई निराश पारेका छैनौं’

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको तीन वर्ष बितिसक्दा चुनावी प्रतिबद्धता के–कति पूरा भए, कति पूरा गर्न बाँकी छन् र कार्यान्वयनमा के–कस्ता समस्या छन् भनि हामीले गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढालाई नै सोधेका छौँः

प्रेमबहादुर बुढा (अध्यक्ष, भैरवी गाउँपालिका, दैलेख)

कति पूरा–कति अधुरा ?

  1. माथिल्लो डुङ्गेश्वर–दुल्लू–डाँडीमाडी–कुसापानी, कालिकोट, जुम्ला हुँदै मुगु जिल्लाको नाग्चेनाग्ला सडकको कुरा गर्दा केही दिन अघि मात्रै हाम्रो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाराम पंगाली र म केही साथीहरूलाई साथमा लिएर अनुगमनमा गएका थियौं । यो सडकको अनुगमनको लागि हामी भैरवी गाउँपालिकाका वडा नम्बर ७ को ब्याउलीभन्दा अगाडि बतासेसम्म स्कार्पियो र बोलेरो जीप लगेर गएका थियौं । त्यहाँसम्म सहजै गाडी जान्छ । त्यहाँबाट २० मिनेट पैदल हिँड्ने हो भने कालिकोटको सिमाना भेटिन्छ । यस वर्ष हामीले यस सडकलाई कालिकोटको पान्तडीस्थित कर्णाली रागमार्गमा जोड्ने प्रवल सम्भावना छ । यदि यो सडक जोडियो भने जुम्ला कालिकोटका नागरिकलाई कर्णाली राजमार्गभन्दा ६८ किलोमिटर छोटो पर्नेछ । माथिल्लो डुङ्गेश्वर–दुल्लू–डाँडीमाडी–कुसापानी, कालिकोट–जुम्ला हुँदै मुगु जिल्लाको नाग्चेनाग्ला जोड्ने सडकको निर्माणले यो सडकले छुने दैलेख कालिकोट तथा जुम्लाका क्षेत्रका नागरिकहरूको जीवनस्तर परिवर्तनमा ठूलो योगदान गर्ने देखिन्छ ।
  2. श्रीस्थानमा रहेको पेट्रोलियम पदार्थको उत्खनन् कार्यलाई अगाडि बढाउनका लागि कर्णाली प्रदेश सरकार र संघीय सरकारलाई समेत अनुरोध गरेपछि २०७६ सालको असोज महिनादेखि लगातार फागुन मसान्तसम्म काम भयो । जानकारी भएअनुसार उक्त सर्भेको नतिजा चाइनाको ल्याबमा जाँच भइरहेको छ र पेट्रोलियम पदार्थको राम्रो सम्भावना रहेको आँकलन छ । कोरोना भाइरसका कारण उक्त सर्भे टोली नेपाल आउन सकेको छैन । यदि यो काम सफल भएमा गाउँपालिका मात्रै नभइ देशलाई नै फाइदा हुनेछ । स्थानीय तहको तर्फबाट यस कार्यलाई आवश्यक सम्पूर्ण सहयोग हामीले गरेका छौँ ।
  3. गाउँपालिकाका धार्मिक तथा सांस्कृतिक संरक्षणलाई चुनावको प्रतिबद्धतामा प्राथमिकतामा राखेका थियौँ । यो तीन वर्षमा भैरवी गाउँपालिका वडा नं. १ स्थित श्रीस्थानमा पाहुनाघर साथै तिर्थयात्रीहरूका लागि स्नानस्थल निर्माणका लागि प्रदेशका माननीय सुशील थापाको सक्रियतामा २० लाख रकम विनियोजन गरेका छौं । भैरवी तिर्थस्थलको पर्यटन प्रवद्र्धनका लागि हामीले पहिलो चरणमा सिढी निर्माण गरेका हौं । उक्त स्थानसम्म मोटरबाटो पु¥याउँदैछौं । त्यस्तै दैलेख र कालिकोटको सिमाना वडा नं. ७ मा पर्ने व्याउलीमा पिकनिक स्पटको निकै राम्रो सम्भावना रहेको हुनाले उक्त स्थानलाई पिकनिक स्पट बनाउने योजनामा छौं ।
  4. चुनावी घोषणापत्रमा बडलम्जी–डाँडीमाडी–कुसापानी र बडलम्जी–रावतकोट सडकलाई स्तरउन्नति र कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका थियौँ । सडक यातायात पूर्वाधार विकासको विषय हाम्रो निकै प्राथमिकताको विषय हो । डाँडीमाडी बजारको सडकलाई हामीले ग्राभेल गरेर नालीसमेत बनाएका छौं । जगत्रादेखि रावतकोट हुँदै भिरखेतको पुलसम्म १० किलोमिटर सडक मध्यपहाडी लोकमार्ग रहेको जुन संघीय सरकारको उक्त सडक आयोजनाले नै कालोपत्रे गर्दैछ । त्यसबाहेक अन्य सडकहरू स्तरोन्नतिको काम भइरहेको छ । कालिकोटको सिमाना नजिकैको व्याउलीसम्म सहज तरिकाले गाडी जान्छ ।
  5. भैरवी गााँउपालिकाको केही स्थानमा खानेपानीको समस्या थियो । हामीले हाम्रो चुनावी घोषणापत्रमा बडलम्जी खानेपानी आयोजना र अन्य साना खानेपानी आयोजनाको व्यवस्थापन गरी भैरवी गाउँपालिका क्षेत्रमा खानेपानीको आपूर्ति गर्ने प्रतिबद्धता गरेका थियौँ । यो बीचमा खानेपानी समस्या समाधानका लागि पर्याप्त प्रयास गरेका छौँ । बडलम्जी खानेपानी आयोजना वि.सं. २०४० सालमा निर्माण सुरु भएको थियो । यस क्षेत्रबाट निर्वाचित हुनुभएका प्रतिनिधिसभा सदस्य माननीय राजबहादुर बुढाको अगुवाइमा १० करोड रूपैयाँ विनियोजन गरी पुनर्निर्माणको काम धमाधम भइरहेको छ । उक्त आयोजनाको मुहान भैरवी–७ मा रहेको छ । हामीले उक्त मुहान नजिकका नागरिकहरूलाई पालिकाका अन्य नागरिकलाई पानी दिनुपर्छ र मुहान संरक्षण गर्नुपर्दछ भने विश्वस्त गरेका छौं, अहिले पानी आइरहेको छ । भैरी, बडलम्जी र रावतकोटसम्मका जनताले पानी खाइरहेका छन् । त्यस्तै ग्रामीण जलस्रोत परियोजनाले रावतकोटमा लिफ्ट खानेपानी आयोजना गत वर्ष सम्पन्न गरेको छ । परियोजनाले गाउँपालिकाका विभिन्न स्थानमा खानेपानी तथा सिँचाइलगायतका काम गरिरहेको छ ।
  6. चुनावी घोषणा–पत्रमा भैरवी गाउँपालिकाको उत्तरी क्षेत्रमा जडिबुटी र दक्षिणी क्षेत्रमा तरकारी, फलफूल र मत्स्यपालन पकेट क्षेत्र बनाई कृषिमा आधुनिकीकरण प्रविधि अपनाउन पहल गर्ने प्रतिबद्धता गरेका थियौं । भैरवी गाउँपालिकाको उत्तरी क्षेत्रमा अलैंची र किवी खेतीको सुरुवात गरेका छौं । त्यसका साथै २ वटा दुध संकलन केन्द्र पनि स्थापना भएका छन् । डेरीले छुर्पी उत्पादन गरेर दैलेख र सुर्खेतको बजारमा बिक्री गर्ने गरेको छ । त्यसका साथै ग्रामीण जलस्रोत व्यवस्थापनसँग सहकार्य गरी कृषि विकास शाखाले काम गरिरहेको छ । कृषकलाई तालिम दिने बिउविजन वितरण गर्नेलगायतका काम भइरहेका छन् । कृषिलाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।
  7. गाउँपालिका क्षेत्रभित्र केन्द्रीय प्रसारण लाइनबाट विद्युतीकरण गर्ने पनि हाम्रो चुनावी प्रतिबद्धता रहेको छ  । हामीले गाउँपालिकाको तर्फबाट एक करोड र ग्रामीण सामुदायिक विद्युतीकरण कार्यक्रमबाट साढे नौ करोड रकम विनियोजन भइ काम भइरहेको छ । दुई हजार शाखा लाइनको काम र पाँच सय मेन लाइनको पोल आइसकेको छ । तार जोड्ने, पोल गाड्ने काम भइरहेको छ । यस वर्ष ६३ लाख रूपैयाँ विद्युतको लागि छुट्याएका छौं । ग्रामीण सामुदायिक विद्युतीकरणबाट ९० प्रतिशत रकम थपियो भने पाँच करोड बराबरको विद्युतको काम हाम्रोमा फेरि पनि हुन्छ । जसबाट हामीले यहाँका ९८ प्रतिशत नागरिकको घरधुरीमा विद्युत पु¥याउन सफल हुनेछौं ।
  8. भैरवी गाउँपालिकाका विभिन्न स्थान जोड्ने सडकहरू जस्तै बाजथला–बगौरा, बगना–गडाजिउला, डाँडीमाडी–गडाजिउला, डाँडिमांडी–सैन, डोक्रा–कुसापानी साथै कुसापानी–गैरासरु–कडेनी–गोर्ती–काशीकाँध, कुसापानी–घुम्नेखाली–कुर्माकोट–कुटी–काशीकाँध सडक निर्माण गर्ने हाम्रो चुनावी प्रतिबद्धता थियो । यसको लागि हामी निरन्तर काम गरिरहेका छौं । रावतकोट–जाहारमाडी–नाभिस्थान हुँदै श्रीस्थान सडक स्तरोन्नति गर्नका लागि हामीले राष्ट्रिय योजना आयोगलाई पनि अनुरोध गरेका थियौं । कर्णाली प्रदेश सरकारले तीन वर्षको लागि दुई करोड रकम विनियोजन गरेको छ । गतवर्ष ५० लाखको काम भएको छ । बाँकी काम भइरहेको छ ।
  9. चुनाव अगाडिको प्रतिबद्धतामा भैरबी गाउँपालिकामा जडिबुटी प्रशोधन केन्द्र र आधुनिक घरेलु उद्योग स्थापना गर्ने प्रतिबद्धता गरेका थियौं । यसका लागि जडिबुटी प्रशोधन केन्द्र भैरवी गाउँपालिका वडा नम्बर ७ मा स्थापना गर्ने सोच भइरहेको छ । स–साना घरेलु उद्योग बाँस निगाला, अल्लो प्रशोधन आदि उद्योग सञ्चालन भइरहेको छ । गाउँपालिकाले यस्ता विषयलाई प्रवद्र्धन गर्दै आएका छौं ।
  10. चुनावी घोषणा–पत्रमा रहेको गडाज्यूला, छामघाट र पोरीगाडमा भइरहेको नदी कटान नियन्त्रण गर्ने प्रतिबद्धतामा पनि हामीले धेरै नै काम गरेका छौँ । गडाज्यूलामा नदी कटान नियन्त्रणका लागि ३० लाखको काम भइसकेको छ । पोरीगाडमा भइरहेको नदी कटान नियन्त्रण गर्न पनि यस वर्ष कर्णाली प्रदेश सरकारबाट बजेट माग गरेका छौं । अहिलेको अवस्थामा बजेट माग गर्नका लागि संघर्ष गर्ने थलो प्रदेश सरकार नै हो, हामीले त्यहाँ बजेट माग गरिरहेका छौं ।
  11. गडाज्यूला र सैन सिँचाइ कुलो निर्माण गर्ने र छामघाटमा पम्पिङ्ग प्रविधिबाट सिँचाइ आपूर्ति गर्ने चुनावी प्रतिबद्धतामा पनि काम गरेका छौँ । गीताचौर सिँचाइ कुलो सैन हुँदै जान्छ र रावतकोटको ठूलो भूमि सिँचाइ हुन्छ । यदि रावतकोटको खेतीयोग्य भूमिमा सिचाइ भयो भने दैलेख जिल्लालाई अन्न पु¥याएर बाहिर पठाउनेसम्म पुग्छ । यो वर्ष एक करोड रकम प्रदेश सरकारले विनियोजन गरेर उक्त आयोजनाको पुनर्निर्माणको काम हुँदैछ । गडाज्यूलामा पनि सिँचाइ र तटबन्धनको लागि प्रदेशसँग बजेट माग गरेका छौं ।
  12. हामीले गाउँपालिकामा स्थापना गरिने विषयगत कार्यालयहरू साविकका चार वटा गा.वि.स. समेटिने गरी स्थापना गर्ने घोषणा–पत्रमा लेख्न त लेख्यौँ तर यो कार्य सम्भव हुने सकेन् । तर यहाँ भयो कस्तो भने राज्यले एकीकृत सेवा दिनुपर्छ भनेकाले समस्या परेको हो । अहिले सबै विषयगत कार्यालयहरू भैरवी गाँउपालिकाको केन्द्रमा रहेको छ । गाउँपालिकाको केन्द्र भएको ठाउँ भने सबै वडाहरूको पायक पर्ने ठाउँ भएकाले विषयगत शाखाहरू गाउँपालिकाको केन्द्रमा नै स्थापना गर्ने निर्णय ग¥र्याैं । यसले सेवाप्रवाहमा खासै कठिनाइ भएको छैन ।
  13. चुनाव अगाडिको घोषणा–पत्रमा वनजंगल फडानी र प्राकृतिक श्रोत विनाशलाई नियन्त्रण गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौं । वनजंगल फडानी र प्राकृतिक श्रोत विनाशलाई नियन्त्रण गर्न जनचेतनामूलक कामहरू गरेका छौं । वनजंगल जोगाउनका लागि आवश्यक सम्पूर्ण प्रयासहरू गाउँपालिकाको तर्फबाट भएका छन् । पहिरो नियन्त्रण गर्नको लागि डोजर प्रयोगलाई निरुत्साहित गर्नुपर्ने भएकाले डोजर प्रयोग नियन्त्रण गरी डोजरले गर्नै काम मानिसहरूबाट नै गर्ने अभियानको थालनी समेत गरेका थियौँ । यसले गर्दा मानिसहरूले रोजगारी पनि पाएका छन् भने वनजंगल संरक्षण तथा पहिरो नियन्त्रण समेत भएको छ ।
  14. शैक्षिक संस्थाहरूको स्तरयुक्त विकास गर्ने र सिङ्गो भैरवी गाउँपालिका क्षेत्रभित्र एउटा क्याम्पस स्थापना गर्न पहल गर्ने चुनावी प्रतिबद्धता थियो । वडा नम्बर ६ मा डिप्लोमा तहको ३ वर्षे बालीविज्ञान र पशुविज्ञानको अध्यापन सुरु भएको छ । डिप्लोमा तहको क्याम्पस स्थापना गर्नचाहिँ विज्ञहरूको सुझावअनुसार सानो इलाकामा तत्काल सञ्चालन गर्न कठिनाइ हुने देखिएपछि तत्काल क्याम्पसको विषयमा हामी अगाडि बढेका छैनौं ।
  15. हामीले हाम्रो चुनावी प्रतिबद्धतामा भैरवी गाउँपालिका समेटिने गरी विमानस्थल निर्माणको पहल गर्ने उल्लेख गरेका थियौँ । भैरवी गाउँपालिकाको रावतकोटको रतिखालमा विमानस्थल निर्माणको कुरा चलेको पनि हो । जहाँ अलिकति सल्लाका रुखहरू काट्नुपर्छ । चुनावी घोषणपत्रमा त हामीले लेखिम तर छलफल संवाद अगाडि बढाउँदा विमानस्थल भनेको सहजै जाने स्थानमा उपयुक्त रहनेछ । जस्तो सुर्खेतमा पनि विमानस्थल सञ्चालन गर्न गाह्रो भइरहेको छ । विमानस्थल सञ्चालन भइसकेपछि त्यसको खर्च राज्यले व्यहोर्दैन । त्यहाँको आन्तरिक आम्दानीले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ, त्यसैले खर्च धान्न नै गाह्रो हुन्छ भन्ने सुर्खेतका साथीहरूका सुझावअनुसार काम गरेका छैनौं । औद्योगिक केन्द्रको कुरा गर्दा हामी क्रसर उद्योग सञ्चालनको तयारीमा छौं ।
  16. हाम्रो अर्काे चुनावी घोषणापत्रको प्रतिवद्धता थियो– उच्च पहाडी क्षेत्रमा रहेका बहुमूल्य धातु, स्लेट, जडिबुटी, जंगल र वन्यजन्तुको संरक्षण गर्न सो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने । संरक्षित क्षेत्रको कुरा गाउँपालिकाको वडा नं. ७ मा भइरहेको छ । जहाँ एकदमै ठूलो जंगल छ । गाउँपालिकाभर रहेको जंगलको ४४ प्रतिशत जंगल सोही वडामा रहेको छ । जहाँ पानीका मुहानहरू छन्, त्यहाँ संरक्षणको सोच बनाएर काम गराएका छौं ।
  17. एक वडा–एक उत्पादन क्षेत्र, एक वडा–एक सहकारी र एक वडा–एक पार्कलाई नीतिगत व्यवस्थापन गर्ने चुनावी प्रतिबद्धतामा पनि हामीले काम गरिरहेका छौँ । उत्पादन क्षेत्रको कुरा गर्दा अलैंची र किवी उत्पादन भइरहेको छ । पार्क वडा नं. ५ डोक्रामा निर्माण गर्ने सोच बनाएका छौं ।

अन्त्यमा, जे कुरा हामीले चुनावी घोषण–पत्रमा राखेका थियौं, त्यसको कार्यान्वयनको लागि हाम्रो तीन वर्षको कार्यकालमा अत्यन्तै सन्तोषजनक रूपले काम गरेका छौं । यो बीचमा ६ वटा आधारभूत स्वास्थ्यचौकी स्थापना गरेका छौं । सबै वडाका वडा कार्यालयहरू हाम्रो कार्यकालभरी सक्नेगरी काम गरिरहेका छौं । विकास निर्माणका काममा नागरिक सहभागिता सुनिश्चित गराएका छौं । नागरिकहरूलाई निराश नपार्ने गरी काम गरेका छाँै र आगामी २ वर्षमा धेरै कामहरू सकिनेछन् ।

प्रकाशित मितिः   ५ कार्तिक २०७७, बुधबार ११:२९