साझा संवाद

‘दसैँ–तिहारमा तीन हजार बढी प्रहरी खटिने छन्’

मुलुक संघीय संरचनामा गएपछि प्रहरी संगठनमा सोही अनुरूप संरचनाहरू बनेका छन् । बदलिँदो परिवेशसँगै प्रहरीलाई शान्ति, सुरक्षा र अपराध अनुसन्धान बाहेका अरु थुप्रै जिम्मेवारी पनि थपिएका छन् । देशभर यतिबेला कोरोना भाइरस (कोभिड–१९) को संक्रमण छ । यसको नियन्त्रण तथा व्यवस्थापनका लागि प्रहरी अग्रपंक्तिमा खटिएको छ । भौगोलिक विकटता, सीमित स्रोत–साधन र जनशक्तिका बीच कर्णालीमा प्रहरीले चाडपर्व लक्षित सुरक्षा, अपराध र कोरोना नियन्त्रणमा कसरी काम गर्दैछ लगायतका सन्दर्भमा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ‐डीआईजी) बसन्त पन्तसँग हाम्रा सहकर्मी सीता वलीले गरेको कुराकानीः

बसन्त पन्त,  कर्णाली प्रदेश प्रहरी प्रमुख
  • चाडपर्वलाई लक्षित गरी प्रदेशमा शान्ति सुरक्षा कायम गर्न के–कस्ता योजना बनाउनु भएको छ ?

प्रदेशको शान्ति सुरक्षाका लागि प्रहरी सधैं तयारी अवस्थामै रहन्छ । चाडबाडमा चोरी तथा अन्य आपराधिक घटनाहरू पनि बढी हुने गर्छन् । यसकारण हामीले चाडपर्वलाई नै लक्षित गरेर पनि विशेष सुरक्षा योजना बनाउने गरेका छाँै । दशैँ–तिहारमा नजिँकिएसँगै यसपटक हामीले सुरक्षा योजना बनाइसकेका छौँ । सोही अनुरूप मातहतका प्रहरी युनिटहरूमा निर्देशन गरिसकिएको छ । यो अवधिमा राजमार्ग र ग्रामीण क्षेत्रमा नागरिकको सुरक्षा दिन एक सय स्थानमा मोबाइल गस्ती हुनेछन् । प्रदेशका विभिन्न २८ स्थानमा नियमित चेक प्वाइन्ट, ट्राफिक प्रहरीसहितको ३९ स्थानमा आकस्मिक चेक, २४ स्थानमा यात्रु सहायता कक्ष, २० स्थानमा धार्मिक तथा पर्यटकीय सुरक्षा, १७ स्थानमा बजार अनुगमन टोली, बैंकिङ्ग तथा आर्थिक कारोबार बढी हुने ३१ स्थानमा अनुगमन टोली र क्वारेन्टाइनमा आवश्यकता अनुसार प्रहरी परिचालन गर्ने योजना बनाएका छौं । प्रदेशभर तीन हजार सात सय ८९ प्रहरी जनशक्ति चाडपर्व लक्षित गरी खटाइएको छ । योबाहेक लागूऔषध ओसारपसार नियन्त्रण, खाद्यान्न तथा कालोबजारी नियन्त्रण लगायतका कार्यहरू गर्ने हाम्रो योजना छ । यी काम नियमित भइरहेका भए पनि चाडबाडमा अलि बढी प्राथमिकता दिइएको हो । हरेक बनाइने सुरक्षा योजनाभन्दा यो वर्षको योजना केही फरक छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि समेत यो वर्ष प्रहरीले योजना बनाएको छ ।

  • प्रदेशमा शान्ति सुरक्षा र अपराध अनुसन्धानका लागि अहिलेको जनशक्ति पर्याप्त छ ?

कर्णाली प्रदेशको जनसंख्या १६ लाख हाराहारी छ । जनसंख्यालाई मात्रै हेर्दा हामीसँग भएको जनशक्ति ठीकै हो । जनशक्तिको त्यति धेरै अभाव छैन पनि । तर, यहाँको भौगोलिक अवस्था र स्रोेत साधनको सीमितताले भने काम गर्न निकै चुनौती छन् । प्रदेशभर पाँच हजार नौ सय प्रहरी कार्यरत छौँ । चार्डपर्वलाई लक्षित गरी सुरक्षाका लागि विभिन्न गस्ती गर्न मात्रै तीन हजार सात बढी प्रहरी परिचालन हुँदैछन् । अपराध अनुसन्धान, सिभिल, दङ्गा प्रहरी, भीआईपी सुरक्षालगायत पहाडी र ग्रामीण क्षेत्रमा समेत सुरक्षाको व्यवस्था कडा पारिएको छ । चाडपर्व मात्रै नभइ अन्य समयमा समेत प्रहरीले हरेक ठाउँमा शान्ति सुरक्षा कायम राख्नका लागि प्रयास गरेको छ ।

  • कर्णालीमा हाल प्रहरी संगठनका सबै युनिट छन् ?

मुलुक संघीय संरचनामा नजाँदै हाम्रा धेरै युनिटहरू बाँकेमा थिए । संघीयतापछि ती कार्यालय कर्णालीमै ल्याइएको छ । कतिपय आउने प्रक्रियामा छन् । संघीय प्रहरी कार्यालय, डग शाखा, तालिम केन्द्र, सवारी महाशाखा (एमसी) लगायतका युनिट ल्याउन बाँकी नै छ  । हामीहरूले प्रदेश प्रहरी ऐनको ड्राफ तयारी गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुझाइ सकेका छौँ । कानुनी रूपमा बलियो आधार भएपछि ती युनिटहरूलाई सारिनेछ । यी युनिटहरू कर्णालीमा नभए पनि आवश्यकता परेको खण्डमा त्यहाँको जनशक्ति परिचालन गरी काम भने भइरहेको छ ।

  • प्रदेश प्रहरी नयाँ संरचना पनि हो । स्रोत–साधनको पर्याप्तता र कानुनी जटिलताहरू के छन् ?

तत्कालका लागि भौतिक पूर्वाधारमा कुनै समस्या छैन । तर, नयाँ युनिटहरू आउने भएपछि भने समस्या पर्छ नै । त्यसका लागि सरकारी जमिनहरू खोज्ने कार्य भइरहेको छ । प्रदेश सरकार तथा स्थानीय तहहरूले समेत जमिन उपलब्ध गराउने कुरामा आश्वत पार्नु भएको छ । उहाँहरू पनि यस काममा लागिरहनु भएकै छ । प्रहरीले पूर्वाधार अभावकै कारण नागरिकको शान्ति सुरक्षामा कमी हुन दिने छैन । कानुनी बाधा अड्चनसमेत खासै छैन । संघीय प्रहरी ऐन बनिसकेको अवस्था हो । हामीहरूले समेत प्रदेश प्रहरी ऐनको ड्राफ्ट आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई बुझाइसकेका छौँ । उक्त कानुन निर्माण भएपछि प्रदेश सरकारको मातहतमा प्रहरी आउनेछ । त्यसपछि शान्ति–सुरक्षा कायम गर्न अझै सहज हुन्छ । प्रहरी परिचालन गर्ने अधिकार प्रदेश सरकारलाई भएपछि नागरिकले अझै सुरक्षित महसुस गर्नेछन् ।

  • प्रदेशमा घरेलुहिंसा, बलात्कार र लागूऔषध सेवन तथा ओसारपसार लगायतका आपराधिक घटना धेरै हुने गरेका छन् । यी अपराधजन्य घटना न्यूनीकरण गर्न तपाईंले कुनै ठोस योजना बनाउनु भएको छ ?

हामीहरू अब दसैँ–तिहार लगत्तै घर–घरमा पुगि घरेलुहिंसाका बारेमा सचेतनामूलक अभियान सञ्चालन गर्दैछौँ । त्योबाहेक सामुदायिक प्रहरीले नागरिकसँग हात्तेमालो गरी चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । चाडपर्वमा लागूऔषध ओसारपसार बढ्ने र अन्य घटनाहरू समेत घट्ने भएकोले त्यसतर्फ प्रहरीले विशेष ध्यान दिने नै छ । नागरिकको साथ बिना प्रहरी एक्लैको प्रयासले यस्ता आपराधिक गतिविधि रोक्न र शान्ति सुरक्षा बलियो बनाउन सम्भव छैन । त्यसैले नागरिक र प्रहरीबीच सहकार्य जरुरी छ । समाजमा घरेलुहिंसा र लागूऔषध ओसारपसार भएको पाइए प्रहरीलाई खबर गर्ने दायित्व नागरिकको पनि हो । प्रदेशका दशवटै जिल्लामा सामुदायिक प्रहरी इकाई छन् । त्यसको स्वयम् नेतृत्व नागरिकले नै गर्ने भएकोले काम गर्न समेत सहज छ । कर्णालीमा सामुदायिक प्रहरी कार्यक्रम प्रभावकारी समेत भएको छ । यहाँ आत्महत्याको दर समेत उच्च छ । यसको कारण पनि घरेलुहिंसा, मदिरा र लागूऔषध नै हो ।

  • नियमित काम बाहेक प्रहरीले अहिले कोरोना नियन्त्रणमा पनि अंग्रपक्तिमा खटिनु परेको छ । यस्तो अवस्थामा आफू मातहतका प्रहरी र आम–सर्वसाधारणलाई यहाँका केही सुझाव छन् ?

कोभिड–१९ को संक्रमणबाट विश्वका शक्तिशाली भनिने राष्ट्रहरू समेत हायकायल छन् । यो माहामारीले अहलिे विश्व नै त्रसित छ । यसले नेपाली जनजीवन पनि निकै प्रभावित गरेको छ । कोरोना संक्रमणको जोखिम मोलेरै नेपाल प्रहरीले जनताको जीउज्यानको सुरक्षा गरिरहेको छ । कर्णालीसमेत कोरोनाको उच्च जोखिममा छ । समुदायस्तरमा संक्रमण फैलिसकेको अवस्था छ । कारोना नियन्त्रण तथा रोकथाममा फ्रन्ट लाइनमा काम गरिरहेका थुप्रै प्रहरी कर्मचारीहरू पनि संक्रमित भए । यस खालको जोखिमका बीच नागरिकको सेवामा हामी खटिरहेका छौँ । सकेसम्म भिडभाड नगर्नुस्, जुन ठाउँमा हुनुहुन्छ त्यहीँ रहेर चाडपर्व मनाउनुहोस् । महामारका र विपत्तका बेला राज्यलाई नागरिकको सहायताको खाँचो हुन्छ । त्यसैले सरकारले लागू गरेका मापदण्ड पालना गरिदिन हुन सबैमा अनुरोध गर्दछु ।

प्रकाशित मितिः   ६ कार्तिक २०७७, बिहीबार ०६:००