कर्णाली विवाद झनै पेचिलो

बालुवाटार र खुमलटारका छुट्टाछुट्टै विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलमा देखिएको विवाद थप पेचिलो बन्दै गएको छ । दलभित्रको कलह समाधानका लागि केन्द्रीय नेतृत्वले नै उचित निर्णय लिन नसक्दा कर्णाली विवाद झनै उत्कर्षमा पुगेको हो । शीर्ष नेतृत्वबीच विभिन्न चरणमा छलफल जारी रहे पनि विवाद तत्कालै किनारा लाग्ने छाँट देखिएको छैन । प्रदेशमा उत्पन्न पार्टीभित्रको असमझदारी चुलिँदै गएपछि प्रदेशका नेता काठमाडौं बोलाएको केन्द्रले एक साता बितिसक्दा पनि विवाद मत्थर पार्नेबारे ठोस निर्णय गर्न नसकेको हो ।

कर्णाली प्रदेश नेकपा संसदीय दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध असोज २५ गते अविश्वासको प्रस्ताव दर्ता भयो । आफ्नै दलभित्रका १८ जना सांसदको हस्ताक्षरसहितको प्रस्ताव मुख्यमन्त्री शाहीकै रोहबरमा दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाइएको थियो ।
आफूमाथि सत्तापक्षकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री शाहीले दलका प्रमुख सचेतक शाहलाई जिम्मेवारीबाट हटाए । ‘प्रमुख सचेतकको रूपमा शाहको कामकारबाही सन्तोषजनक नभएको’ भन्दै विधानको धारा ७ अनुसार पदमुक्त गरिएको मुख्यमन्त्री शाहीले बताएका थिए । अविश्वास प्रस्तावले उत्पन्न घटना क्रम यत्तिमै रोकिएनन् । प्रमुख सचेतक शाहले २७ गतेका लागि बोलाएको दलको बैठक समेत रोकियो । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने केही सांसदहरू नै बैठकमा उपस्थित नभएपछि मुख्यमन्त्रीविरुद्धको प्रस्ताव पास हुन सकेन । एक पछि अर्को जटिल परिस्थिति उत्पन्न हुँदै गएपछि केन्द्रीय नेतृत्वले कर्णाली कलहमा हस्तक्षेप ग¥यो । यसले नेकपाको केन्द्रीयस्तरमै हलचल ल्यायो  । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यस विषयमा छलफल भएपछि असोज २९ गते दुवै पक्षलाई काठमाडौं बोलाइयो । दुवै समूहसँग भिन्दाभिन्दै छलफल गरेका अध्यक्षद्वयले एक साता बढी समय बितिसक्दा पनि ठोस निकास दिन भने सकेका छैनन् । प्रदेश तथा केन्द्रीय नेतृत्वको चरण–चरणको छलफलबाट पनि विवादको टुङ्गो लाग्न नसकेको हो ।

प्रमुख सचेतकबाट हटाइएका सांसद शाहले मंगलवार साँझसम्म दुवै अध्यक्षबीच छलफल जारी रहे पनि कुनै निर्णय नआएको बताए । हामीहरूले सँगै र छुट्टा–छुट्टै भेटिसकेका छौं’, उनले भने ‘दुई अध्यक्षको संयुक्त निर्णय आएको छैन ।’ आफूहरू निर्णयको प्रतिक्षामा काठमाडौंमै रहेको शाहले बताए । विवाद प्रदेश कमिटीले नै मिलाउनेबारे अध्यक्षहरूबाट आफूहरूलाई कुनै निर्देशन नआएको उनी बताउँछन् ।

काठमाडौंमै रहेका प्रदेश सांसद चन्द्रबहादुर शाहीले विवाद मिलाउन प्रदेश कमिटीलाई नै जिम्मा दिने अध्यक्षद्वयको मनसाय बुझिएको बताए । ‘अहिलेसम्म कुनै पनि निर्णय दुवै अध्यक्षबाट आएको छैन,’ सांसद शाहीले भने ‘तर केन्द्रले विवाद मिलाउन नसक्ने भएपछि विवाद फेरि प्रदेशको नेतृत्वमा आउन सक्ने देखिएको छ ।’

यस्तै, अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच कर्णालीमा देखिएको विवाद समाधानका लागि विभिन्न विषयमा छलफल भएका छन् । मंगलवार भएको भेटघाटमा दुवै अध्यक्षबीच मुख्यमन्त्री शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने, कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई मुख्यमन्त्री शाहीले हटाउने निर्णय बदर गर्ने लगायतका सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

भेटघाटमा मुख्यमन्त्री शाहीले प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने र अन्य विषयमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति पनि भएको प्रेस सल्लाहकार थापाको भनाइ छ । तर, कर्णालीबाट गएका काठमाडौं गएका नेताहरू भने आफूहरूलाई यस विषयमा कुनै जानकारी नै नआएको बताउँछन् ।

कर्णाली कलहले केन्द्रमा समेत असहमति देखिएको छ । ओली र प्रचण्डबीच मंगलवार चार बुँदे सहमति भएको भन्दै बालुवाटारबाट विज्ञप्ति सार्वजनिक भएपछि खुमलटारबाट अर्को विज्ञप्ति आएको छ । बालुवाटारमा चार बुँदे सहमति भएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले विज्ञप्ति सार्वजनिक गरे लगत्तै प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले अर्को विज्ञप्ति सार्वजनिक गरेका हुन् । उनले अध्यक्षद्वयबीच त्यस्तो सहमति नभएको बताएका हुन् । जुगलले प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भएको तर उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी मात्र भएको दाबी गरेका छन् । नेकपा कर्णाली दलभित्रको विवाद समाधान भएको बालुवाटार स्रोतले औपचारिक दाबी गरे पनि खुमलटारले भने बालुवाटारमा कुनै निर्णय नभएको र यसबारे प्रदेशले नै निर्णय लिने तर्क गरेको हो ।

प्रकाशित मितिः   ५ कार्तिक २०७७, बुधबार ११:१५