पाँच वडामा सार्वजनिक शौचालय

वीरेन्द्रनगरका पाँच वटा वडामा एक करोड २६ लाख ५३ हजार रुपैयाँको लागतमा सार्वजनिक शौचालय निर्माण भएका छन् । सुविधायुक्त शौचालय निर्माण सम्पन्न भएपछि मंगलवार वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ‐यूएनडीपी), अन्तरनिर्भर समाज सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको साझेदारीमा सामुदायिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर उपत्यकामा विभिन्न ठाउँमा सार्वजनिक शौचालय निर्माण गरिएका हुन् ।

कार्यक्रममार्फत वडा नं. १ को वडा कार्यालय, ४ को जिरो ड्याम, ६ को बसपार्क, ८ को बुलबुले चोकमा र वडा नं. ९ को काँक्रेविहारमा सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गरिएको हो । अन्तरनिर्भर समाजका कार्यकारी व्यवस्थापक विवेक शाहीले पाँच ठाउँमा एक करोड २६ लाख ५३ हजार दुई रूपैयाँ लागतमा शौचालय निर्माण गरिएको बताए । जसअन्र्तगत वीरेन्द्रनगर नगरपालिकाको ४५ लाख ७० हजार पाँच सय ४६ रूपैयाँ, यूएनडीपीको ६८ लाख १७ हजार एक सय ५६ रूपैयाँ र उपभोक्ता समितिको १२ लाख ५६ हजार तीन सय तीन रूपैयाँ खर्च भएको छ । वडा नं. ६ मा अपाङ्गमैत्री शौचालय बनाइएको उनले जानकारी दिए ।

वडा नं. १ मा २४ लाख ३५ हजार ६ सय, वडा नं. ४ मा २५ लाख दुई हजार ६ सय, वडा नं. ६ मा २८ लाख १८ हजार तीन सय, वडा नं. ८ मा २३ लाख आठ हजार आठ सय र वडा नं. ९ मा २५ लाख ८७ हजार चार सय ६३ रूपैयाँ लागतमा शौचालय निर्माण गरिएको हो । मानिसहरूको बढी चहलपहल हुने सार्वजनिक स्थानहरूमा शौचालय निर्माण गरिएको बताइएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुुख देवकुमार सुवेदीले शौचालय निर्माणपछि सार्वजनिक स्थलहरूमा हिँड्डूल गर्ने सर्वसाधारणलाई शौच गर्न सहज हुने बताए । उनले साझेदार संस्थाहरूले आगामी दिनमा पनि सहकार्य र समन्वय गर्नेमा विश्वास व्यक्त गरे । सार्वजनिक शौचालयको सञ्चालन र संरक्षण सम्बन्धित वडा कार्यालयले गर्नेछन् ।

प्रकाशित मितिः   २८ आश्विन २०७७, बुधबार १५:४०