भंगेरीचौरमा बन्दैछ सहिद पार्क

कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा सहिद पार्क निर्माण गरिएको छ । प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगर–४ भैरवस्थानस्थित भंगेरीचौरमा सहिद पार्क निर्माणको काम सुरु गरेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन तथा वातावरण निर्देशनालयमार्फत खर्च गर्ने गरी प्रादेशिक सहिद तथा बोर्डानिकल पार्क निर्माण भइरहेको सहायक वन अधिकृत सूर्य शर्माले बताए । उनका अनुसार पार्क निर्माणको काम दुई चरणमा हुँदैछ ।

बहुवर्षीय उक्त योजनाको पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भने आठ करोडको छ । स्तम्भ, पोखरी, गार्डेन, पर्खाल र गेटलगायत संरचना पार्कभित्र बन्नेछन् । हालसम्म दुई करोड २७ लाख रुपैयाँ खर्च भइसकेको छ । पार्कको पर्खाल निर्माणका लागि ७७ लाख रुपैयाँमा ठेक्का भइ काम भइरहेको छ । पर्खाल निर्माणको जिम्मा न्यू विशाल कन्स्ट्रक्सन वीरेन्द्रनगर–६ लाई दिइएको छ । २०७६ को असार मसान्तमा सम्झौता भइ काम सुरु भएको कन्स्ट्रक्सनका हेमकर्ण थापाले बताए । उनका अनुसार तीन सय ३० मिटरको पर्खाल र गेट निर्माणको काम नौ महिनामा सक्ने गरी सम्झौता भए पनि आगामी मंसिरमा मात्र काम सम्पन्न हुनेछ ।

सहिद पार्कमा स्तम्भ, पोखरी, गार्डेन लगायतका संरचनाको लागि अभियान निर्माण सेवा कालीकोटले जिम्मा लिएको छ । ठेकेदार कम्पनीका सञ्चालक रमेश मल्लले चालु आर्थिक वर्षको असार मसान्तसम्ममा काम सकिने बताए । ती संरचना निर्माणका लागि एक करोड १३ लाख रुपैयाँको ठेक्का सम्झौता भएको छ ।

प्रदेश प्राप्तिको आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवरले सहादत प्राप्त गरेका थिए । उनीहरूकै सम्झनामा सरकारले सहिदपार्क निर्माण गर्न लागेको हो ।

प्रकाशित मितिः   २८ आश्विन २०७७, बुधबार १५:३९