सुर्खेतमा आठ जनालाई डेंगु
सुर्खेतमा ८ जनामा डेंगु रोगको संक्रमण भएको पाइएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगका कारण जिल्लामा आठ जना संक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आठ जनामा संक्रमण भए पनि हालसम्म कसैको मृत्यु नभएको पुष्टी गरेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार आठ जनामा डेंगुको संक्रमण देखिएको र उनीहरूको उपचार भइरहेको छ । कार्यालयका प्रमुख बसन्त अधिकारीले भने, ‘धेरै त्रसित हुनुपर्ने अवस्था छैन, जिल्लामा जम्मा आठ जनामा डेंगुको संक्रमण देखिएको छ । हामी यसको रोकथामको लागि जुटिरहेका छौं, सबैले सचेतना अपनाए यो रोग नियन्त्रण गर्न सकिन्छ ।’ डेंगु रोगको संक्रमण लामखुट्टेको टोकाइबाट सर्ने भन्दै उनले लामखुट्टे नियन्त्रणमा जुट्नुपर्ने बताए ।
जिल्लामा डेंगु रोगका बिरामी बढ्न थालेपछि स्वास्थ्य कार्यालयले विशेष अभियान थाल्ने भएको छ । कार्यालयले यो रोग नियन्त्रणका लागि जिल्लामा लामखुट्टेको अण्डा नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ । कार्यालयले आइतवार वीरेन्द्रनगरमा सरोकारवालाहरूसँग छलफल गरी यस्तो निर्णय गरेको हो । छलफलमा नगर क्षेत्रमा नगरपालिकाले स्थानीय टोल संस्था र स्वयम्सेविका परिचालन गर्नेछ । यस्तै स्वास्थ्य कार्यालयले पनि लामखुट्टेको अण्डा नष्ट पार्नका लागि जोखिमयुक्त क्षेत्रमा अभियान सञ्चालन गरिने जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख बसन्त अधिकारीले हल्लाको पछि नलागि आफ्नो घरआँगन सफा राख्न सबैसँग आग्रह गरे । लामखुट्टेको टोकाइबाट बच्नसके डेंगुबाट बच्न सकिने भन्दै उनले लामखुट्टे नियन्त्रण अभियानमा साथ दिन अनुरोध गरे ।
प्रकाशित मितिः १ मंसिर २०७३, बुधबार १०:०८
साझा बिसौनी ।