मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड

वीरेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्व–विद्यालयमा तोडफोड गरिएको छ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विश्वविद्यालयको कार्यालय र उपकुलपतिको निवासमा तोडफोड गरेका हुन् । आफ्ना माग पूरा नभएको भन्दै उनीहरूले मंगलवार दिउँसो तोडफोड गरेका थिए ।

विश्वविद्यालयको इन्जिनियरिङ्ग सङ्कायका विद्यार्थीहरूले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका थिए । लामो समयसम्म पनि माग पूरा नभएको भन्दै विद्यार्थीले तोडफोड गरेको बताइएको छ । माग पूरा गराउन विश्वविद्यालयका पदाधिकारी र आन्दोलनरत विद्यार्थीका प्रतिनिधिहरूबीच मंगलवार वार्ता भएको थियो । वार्ता भइरहेको बेलामा एकाएक विद्यार्थीले तोडफोड गरेका हुन् । उनीहरूले विश्वविद्यालयको कार्यालय, उपकुलपति निवासमा रहेका कुर्सी, टेबुल र उपकुलपति चढ्ने गाडीमासमेत तोडफोड गरेका छन् ।

विश्वविद्यालयको इन्जिनियरिङ्ग सङ्कायका डीन अनन्त घिमिरेले विद्यार्थीहरूले एकाएक तोडफोड गरेको बताए । उनका अनुसार वार्ता सकारात्मक रूपमा चलिरहेको थियो । तर उच्छृङ्खल विद्यार्थीले एकाएक टेबुल र कुर्सी उचालेर तोडफोड गरेको उनको भनाइ छ । केहीदिन अघिबाट इन्जिनियरिङ्ग सङ्कायका विद्यार्थीले सेमेस्टर परीक्षामा ५० प्रतिशत अनुत्तीर्ण विद्यार्थीलाई पुनः परीक्षामा सामेल हुन नपाउने निर्णय तत्काल खारेज गर्नुपर्ने माग राखेका थिए । यस्तै इन्जिनियरिङ्ग सङ्कायमा अनुभवी र पूर्णकालीन शिक्षकको व्यवस्था गर्नुपर्ने, प्रत्येक वर्ष १० प्रतिशतका दरले वृद्धि भइरहेको शैक्षिक शुल्क खारेज गर्नुपर्ने लगायतका माग राख्दै उनीहरूले आन्दोलन गरिरहेका थिए ।

आफूहरू विद्यार्थीका जायज माग पूरा गर्न तयार रहेको भन्दै विश्वविद्यालयले तोडफोड हुनु दुःखद् भएको जनाएको छ । इन्जिनियरिङ्ग सङ्कायका डीन घिमिरेले वार्ताबाट समाधान खोजिरहेको अवस्थामा तोडफोड हुने दुःखद् भएको प्रतिक्रिया दिए । उनले भने, ‘हामीले धेरै माग पूरा गरिसकेका थियौं, केही माग पूरा गर्न वार्ता हुँदै थियो । तर वार्तामा छलफल भइरहँदा पनि तोडफोड भयो, यसले विश्व–विद्यालयको प्रतिष्ठामा धक्का पुगेको छ ।’ वार्तामा विश्वविद्यालयका क्याम्पस प्रमुख ओपेन्द्र हमाल, सहायक क्याम्पस प्रमुख सोनालाल यादव, इन्जिनियङ्ग सङ्कायका डीन घिमिरे र आन्दोलनरत इन्जिनियरिङ्ग सङ्कायका १० जना विद्यार्थीको उपस्थिति थियो । वार्तामा सहभागी सबै विद्यार्थीले तोडफोड नगरेको र केही विद्यार्थीले मात्रै उदण्ड मच्चाएको विश्वविद्यालयले जनाएको छ ।

तोडफोडपछि विद्यार्थीहरूले विश्वविद्यालयमा लगाएको ताला खोलेर भागेको घिमिरेको भनाइ छ । विश्वविद्यालयले घटनाको छानविन गर्ने र दोषी विद्यार्थीलाई कारबाही गरिने जनाएको छ । विश्वविद्यालय कार्यालयको सुरक्षामा प्रहरी खटाइएको छ । यो विश्वविद्यालयमा बेलाबेलामा विद्यार्थीहरूले आन्दोलन गर्दै आएका छन् । स्थापनाकालदेखि नै विवादमा पर्दै आएको विश्वविद्यालयमा पटकपटक तालाबन्दीसमेत हुने गरेको छ । तर समस्या समाधानका लागि विश्वविद्यालय प्रशासनले दीर्घकालीन उपाय नअपनाउँदा विश्वविद्यालयमा बारम्बार यस्तो समस्या देखिने गरेको छ ।

प्रकाशित मितिः   १ मंसिर २०७३, बुधबार ०९:५३