९० जनाको सदस्यता खारेजीका लागि सिफारिस

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले पत्रकारितामा क्रियाशील नरहेका ९० जना साधारण सदस्यहरूको सदस्यता खारेजीका लागि सिफारिस गरेको छ । महासंघको मंगलवार बसेको जिल्ला कार्यसमितिको बैठकले निर्णय गरेको हो ।
विगतमा सदस्यता प्राप्त गरेका तर हाल पत्रकारिता पेसामा नभइ सरकारी सेवामा प्रवेश गरेका, विदेश गएका, राजनीतिक दलमा आवद्ध र गैरसरकारी संस्थामा कार्यरत ९० जना सदस्यहरूलाई सदस्यता शुद्धीकरण अभियान अन्तर्गत सदस्यता खारेजका लागि कार्यसमितिको पूर्ण बैठकले केन्द्रमा सिफारिस गरेको महासंघ सुर्खेत शाखाले जानकारी दिएको छ । सदस्यता शुद्धीकरणका लागि महासंघले सात दिने सार्वजनिक सूचना जारी गरी स्वैच्छिक सदस्यता त्याग्न आग्रह गरेको थियो ।

त्यसैगरी जिल्लामा क्रियाशील पत्रकारका पेसागत सङ्गठनहरू पे्रस युनियन, पे्रस चौतारी र प्रेस सेन्टर तथा यस शाखाका पूर्व अध्यक्षहरूसँगको परामर्शका आधारमा ९० जना सदस्यको सदस्यता खारेजका लागि केन्द्रमा सिफारिस गरिएको महासंघ सुर्खेत शाखाका सचिव ललितबहादुर बुढाले जानकारी दिए । केन्द्रको सर्कुलेसन अनुसार निर्वाचित भएका कारण वर्तमान कार्यसमिति र केन्द्रीय पार्षद्हरूको हकमा भने शुद्धीकरणको मापदण्ड लागू नगरिएको उनले जनाए ।

त्यसैगरी २६ जनालाई महासंघको नयाँ सदस्यता प्रदानका लागि सिफारिस समेत गरिएको छ । महासंघको नयाँ सदस्यताका लागि प्राप्त भएका आवेदनमाथि छानविन गरी २६ जना क्रियाशील पत्रकारहरूलाई सिफारिस गरिएको जनाइएको छ । नयाँ सदस्यताका लागि ८० जनाले आवेदन दिएका थिए ।

प्रकाशित मितिः   १ मंसिर २०७३, बुधबार ०९:४८