दरबन्दी छ, कर्मचारी छैनन

जिल्ला कृषि विकास कार्यालय सुर्खेतले दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रभावकारी हुन नसकेको जनाएको छ ।
कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कालिकाप्रसाद कोइरालाले कर्मचारी दरबन्दी अभावमा प्रभावकारी सेवा प्रवाहमा केही कठिनाइ भएको बताए । उनले ५१ जना दरबन्दी रहेको कार्यालयमा अझै १६ जना रिक्त रहेको र भएका जनशक्तिले जे–जस्तो भए पनि सेवा दिनुपरेको उल्लेख गरे ।
दरबन्दीको माग गर्ने काम भइरहेको उनको भनाइ छ ।
उनले एक प्राविधिकले १० हजार बढी कृषकलाई सेवा दिनुपरेको जानकारी दिए । यस्तै सवारी साधनको पनि अभाव भएको कार्यालयले जनाएको छ । सवारी साधनको अभावले गर्दा कार्यालयले जिल्ला विभिन्न गाविसमा सञ्चालन गरेका कार्यक्रमको समेत नियमित अनुगमन गर्न नसकिएको उनले बताए ।
यतिमात्रै नभइ जिल्लामा रहेका कृषि सेवा केन्द्रका भवन समेत निर्माण तथा मर्मत हुन नसक्दा कर्मचारीलाई प्रभावकारी सेवा प्रवाहमा उत्तिकै समस्या आएको छ । अहिले कृषि विकास कार्यालयले समस्यै समस्याका बाबजुद पनि जिल्लाका ६ वटा सेवा केन्द्रबाट कृषकलाई सेवा प्रवाह गरिरहेको छ ।
कार्यालयले आव २०७३÷०७४ मा कृषि प्रसार कार्यक्रममा तीन करोड ५० लाख, सहकारी खेती, साना सिँचाइ तथा मलबीऊ ढुवानी कार्यक्रममा ४७ लाख १० हजार, एकीकृत बाली तथा जल व्यवस्थापन कार्यक्रममा २३ लाख ५८ हजार, कृषि तथा खाद्य सुरक्षा आयोजनामा दुई करोड ३३ लाख ४३ हजार, एक गाउ“ कृषि प्राविधिकमा १० लाख ६४ हजार, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिमा २१ लाख, राष्ट्रिय स्वयम्सेवक सेवाको संस्थागत विकासमा एक लाख ७७ हजार, विशेष कृषि विकास आयोजनामा १५ लाख बजेटको अख्तियारी आएको जानकारी दिएको छ ।

प्रकाशित मितिः   १ मंसिर २०७३, बुधबार ०९:४४