विद्यार्थीका अप्ठ्यारा

कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएसँगै नेपालमा पनि शैक्षिक संस्था बन्द छन् । पछिल्लो समय केही सीमित विद्यालयहरू सञ्चालनमा आए पनि अधिकांश विद्यालय सञ्चालनमा छैनन् । विद्यार्थीहरू घरमै छन् । विद्यालय कहिलेदेखि नियमित सञ्चालनमा आउँछन् भन्ने निश्चित छैन । कोरोना कहर बढ्दो छ । जोखिम घटेको छैन । यसले गर्दा पनि शैक्षिक संस्था सञ्चालनमा अनिश्चितता पैदा भएको छ । लामो लकडाउनपछि अन्य सबैजसो क्षेत्र खुलिसके पनि विद्यालय र विश्वविद्यालयहरू खुल्न नसक्नुको मारमा विद्यार्थी परेका छन् । पठन–पाठन अवरुद्ध भएको छ । यो संकटको समयमा अपाङ्गता भएका विद्यार्थीहरू अझ बढी अप्ठ्यारोमा परेका छन् ।

लकडाउनकै समयमा पनि शैक्षिक कार्य नियमित गर्न वैकल्पिक विधि अवलम्बन गरियो । भर्चूअल कक्षा सञ्चालन गरिए । तर अपाङ्गता भएका बालबालिकाहरूको पहुँच वैकल्पिक सिकाइ विधिसम्म पुगेन । अहिले पनि कतिपय विद्यालयले वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरिरहेका छन् । विद्यार्थीलाई अनलाइनमार्फत घरमै बसेर पढ्न सकिने व्यवस्था मिलाइएको छ । शैक्षिक संस्थाहरूले विद्यार्थीको लागि वैकल्पिक सिकाइका अभ्यासहरू गरिरहे पनि दृष्टिविहीन तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाको लागि यो विधि प्रभावकारी विकल्प हुन सकेको छैन । कर्णाली प्रदेशमा अपाङ्गता भएका बालबालिकाको संख्या पनि धेरै छ । प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार यहाँका ३९ विद्यालयमा दृष्टिविहीन र बहिरा विद्यार्थीको लागि अपाङ्गमैत्री स्रोतकक्षा सञ्चालन गरिएको छ । ती विद्यालयमा ६ सय ५२ जना विद्यार्थी अध्ययनरत छन् । वीरेन्द्रनगरस्थित सिद्ध बहिरा बालकको स्कुल (विशेष विद्यालय) मा मात्रै ९५ जना विद्यार्थी आवासीय रूपमा पढ्छन् । अहिले विशेष विद्यालयका साथै सबै आवासीय स्रोतकक्षा बन्द छन् । यसले गर्दा आवासीय रूपमा बसेर पढिरहेका विद्यार्थी आ–आफ्नो घर गएका छन् । उनीहरूलाई अध्ययनको लागि सांकेतिक भाषाबाहेक अर्को भरपर्दो विकल्प छैन । सिकाउनलाई शिक्षक छैनन् । सिक्ने अरु कुनै माध्यम पनि छैन । बालबालिका आजित भएका छन् । अपाङ्गता भएका बालबालिकालाई घरमा पढ्न र पढाउन सहज छैन । बौद्धिक अपाङ्गता भएका विद्यार्थी सिकाइ गतिविधिबाट अझ बढी वञ्चित छन् । भाषाको समस्याले घरमा अभिभावकले समेत सिकाउन सक्ने अवस्था छैन । अधिकांश विद्यार्थी सुर्खेत बाहिरका छन् । तत्काल विद्यार्थीलाई ल्याएर पठनपाठन सञ्चालन गर्ने अवस्था पनि छैन ।

कर्णाली प्रदेशमा भौगोलिक विकटताका कारण वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गर्न झनै समस्या छ । टेलिफोन, इन्टरनेट, रेडियो, टेलिभिजनको पर्याप्त पहुँच छैन । जसोतसो पहँुचमा पुगेकालाई पनि सिकाइमा अभ्यस्त नहुँदा प्रभावकारी हुन सकेको छैन । अपाङ्गता भएका विद्यार्थी कोरोना महामारीले निम्त्याएको संकटले दोहोरो मारमा छन् । स्वास्थ्य सुरक्षाको जोखिमसँगै उनीहरूको पठनपाठन अघि बढ्न सकेको छैन । भौगोलिक विकटताका कारण हरेक ठाउँ अपाङ्गमैत्री छैनन् । परिवारले भाषा नजान्दा बहिरा विद्यार्थीहरूलाई पठनपाठनमा कठिनाइ छ । कोरोनाको महामारीको समयमा उनीहरूको स्वास्थ्य सुरक्षादेखि हेरचाहमा पनि चुनौति देखिएको हो ।

प्रकाशित मितिः   २५ आश्विन २०७७, आईतवार ०६:०१