‘उमेर बढाएर एसएलसी दिएँँ’

धीरेन्द्रप्रसाद शर्मा (लम्साल)

वीरेन्द्रनगर–११ निवासी धीरेन्द्रप्रसाद शर्मा (लम्साल) भेरीगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुुख छन् । वि.सं. २०३८ जेठ २३ गते बुवा देविराम शर्मा र आमा शितला शर्माको कान्छो सन्ताका रूपमा दैलेखको भगवतिमाई गाउँपालिका (बडाभैरव) मा जन्मिएका हुन् । १२ वर्षसम्म शिक्षण पेसाको अनुभवसमेत सङ्कालेका उनी प्रतियोगितात्मक पुस्तक लेखकका रूपमा पनि परिचित छन् । शिक्षक सेवातर्फका उप–सचिव उनै शर्माले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बालापनका सम्झना यसरी साटे:

मेरो बाल्यकाल रमाइलोसँग बित्यो । १४ वर्षको उमेरसम्म दैलेखमै थिएँ । उच्च शिक्षा पढ्न सुर्खेत आएपछि बाल्यकालको केही समय सुर्खेतमा पनि बिताएँ । हामी ६ भाइ–बहिनी । चार भाइ र दुई दिदी । म सबैभन्दा कान्छो हुँु । त्यसैले पनि होला सबैको माया र ममतामा हुर्किन पाएँ ।
बाल्यकालमा चञ्चले स्वभावको थिएँ । कसैकसैले त सानोमा अलि घमण्डी थिइस् पनि भन्नुहुन्छ । पढाइमा राम्रो विद्यार्थी थिएँ । कक्षामा पहिलो–दोस्रो भइरहन्थेँ । कक्षा चारबाट एकै पटक कक्षा ६ मा पढेको सम्झना छ । पढाइ राम्रो भएकाले शिक्षकहरूले नै मेरो कक्षा चढाइदिनु भएको हो । सानो उमेर भएकाले एसएलसी दिन नमिल्ने भएपछि दुई वर्ष उमेर बढाएर मैले एसएलसी दिएको हुँ । उतिबेला १६ वर्ष नपुगि एसएलसी दिन नपाइने व्यवस्था थियो ।

कक्षा १ देखि सातसम्म घर नजिकैको विद्यालयमा पढेँ । घरदेखि विद्यालय जान पाँच मिनेट पनि समय लाग्थेन । तर, मावि तह पढ्दा भने दुःख पाइयो । घरदेखि दुुई घण्टा लगाएर पढ्न जानुपथ्र्याे । मसँगै दाइ–दिदी पनि जानुहुन्थ्यो । मैले कक्षा सातसम्म भैरव मावि खोरमा पढेको हुँ । आठदेखि १० सम्म जनकल्याण मावि सेरमाकोटमा पढेँ । कहिलेकाहीँ खोला बढेको दिन अझै ढिला हुन्थ्यो । घरबाट बिहानै हिँड्नुपर्ने । साँझ पनि राती नै आउँथ्याँै । खोलामा पानी कम भएपछि मात्र खोला तर्न सकिन्थ्यो । दिउँसो खानका लागि खाजा रोटी हालेर, भट्मास, मकै, गहुुँ भुटेर लैजान्थ्याँै । बाटोमा लुकाइन्थ्यो । कहिलेकाँही साथीहरूले चोरेर खाइदिन्थे । आफूले पनि अरुको खाजा–नास्ता चोरेर खाइन्थ्यो । उमेर पनि त्यस्तै भएर होला खुबै रमाइला दिन थिए उसबेला । अनेक खालका उट्पट्याङ गरिरहन्थ्यौँ । अहिले ती दिनहरू सम्झदा छुट्टै आनन्द लाग्छ । मेरो दुई वटा दाई शिक्षक हुनुहुन्थ्यो । हामी तीन भाइ–बहिनीले एकै वर्ष एसएलसी पास गरेका हौं ।

म १४ वर्षको हुँदा आमाको निधन भयो । त्यस बेलामा मैले एसएलसी दिएर बसेको थिएँ । चट्याङमा परेर उहाँको निधन भएको थियो । मेरा लागि आजसम्म बिझाइरहने सबैभन्दा दुःखदायी र पीडादायी क्षण थियो त्यो । सायद आमा गुमाउँदा जो–कोहीलाई त्यस्तै हुन्छ । म कान्छो छोरा भएकाले आमासँगै हुन्थेँ । ठूलै भइसक्दासम्म पनि आमाकै काखमा लडिबुढि खेल्थे । म ठूलो कक्षामा पढे पनि उमेर सानै थियो । कक्षा सातसम्म पढुञ्जेल आमाको दुध खाएको सम्झना छ । सानै उमेरमा आमा गुमाउँदा धेरै पीडा हुँदो रहेछ । आमा बितेको केही दिनपछि एसएलसीको रिजल्ट आएको थियो । त्यस बेलामा एसएलसी पास गर्नु ठूलो उपलब्धि मानिन्थ्यो ।
मलाई पढाइबाहेक खेलकुद र गीतसङ्गिगततर्फ बढी रुचि थियो । विद्यालयमा हुने त्यससँग सम्बन्धित अतिरिक्त क्रियाकलापमा म सहभागि हुन्थेँ । उच्च शिक्षाका लागि सुर्खेत पढ्न आएपछि रेडियो नेपालमा गएर गीत रेकर्ड गर्थे । रेडियो नेपालमा एउटा सांगीतिक कार्यक्रम (साझा चौतारी) थियो । दिनमा १० जनाले स्टुुडियोमै गएर गीत रेकर्ड गर्न पाइन्थ्यो । अनि त्यो गीत सांगीतिक कार्यक्रममा बज्थ्यो । रेडियोमा आफूले गाएको सुन्दा रमाइलो लाग्थ्यो । प्रायः मेरो नाम गीत रेकर्ड गर्नेमा आउँथ्यो ।

दैलेख हुँदा पढाइसँगै घरको काम गर्नुपथ्र्यो । मेरो दाई शिक्षक भएकाले पनि सबै काम सिक्नुुपर्छ भनेर जोड दिनुहुन्थ्यो । मैले घाँस–दाउरा काट्ने, मेलापात जाने, खेतबारी जोत्ने सबै काम गरेँ । बुवाले ज्योतिषी गर्नुहुन्थ्यो । आमा खेतबारी र घरकै काम । आमालाई नै बढी काममा सघाउँथे । तर, सुर्खेत आएपछि गाउँको भन्दा फरक अनुुभव लिने अवसर पाएँ । नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ साथीहरू भए । हवाईजहाज उडेको देखेपछि उ जता जान्छ त्यसै दौडिन्थ्यौं । त्यसबेला घुम्ने कुर्सीको महŒव पनि निकै थियो । घुम्ने कुर्सी कस्तो हुन्छ होला ? खुुल्दुली लाग्थ्यो । एक पटक एउटा सरकारी कार्यालयमा गएर हाकिमको घुम्ने कुर्सीमा बसेको सम्झना छ । एक जना साथीले ढोकाबाट हेर्ने र अर्को गएर पालैपालो घुुम्ने कुुर्सीमा बसेका थियौं ।

सुर्खेतमा म आउँदा साइकल धेरैले चलाउँथे । अझ प्रायजसो केटाकेटीले साइलक बढी चलाउने । मंगलगढी चोकमा एउटा साइकल स्टोर थियो । त्यो साइकल स्टोरले भाडामा साइकल चलाउँन दिन्थ्यो । एक घण्टाको दश रूपैयाँ । बिदाको दिनमा दिनभरी साइलक चलाउँथे । तीन–चार जना साथीहरूसम्म मैले साइलकमा राखेर चलाउँथे । क्या दिन थिए उसबेला ।

गाउँमा हुँदा कहिलेकाहीँ बदमासी पनि गरियो । काँक्रा चोरेर खाने काम धेरै भयो । साथीहरूसँग रमाउन खेल्न जाने गरिन्थ्यो । माछा मार्न जान्थ्यौँ । मैलै पहिलो पटक कक्षा १० मा पढ्दा दैलेख बजारमा गएर ट्युसन पढेँ । एक पटक दैलेख पढ्न जाँदा खोलाले बगाएर झण्डै ज्यान गएको थियो । पहिले सदरमुकामलाई मात्रै हामीहरू दैलेख भन्थ्यौं । असार–साउनमा ट्युसन पढ्ने सिजन हुने । एक जना दाइ र म एक–दुुई महिना पुग्ने खाद्य सामग्री लिएर दैलेख बजार जाँदै थियौँ । खोला तर्दै गर्दा बीचमा पुग्दा म बगिहाले । पछि दाइले अलि तल पुगेपछि समात्नुभयो । सामान सबै बग्यो । नयाँ कपडा थिए, किताब थिए । अनि खाने खर्च ‐खाद्यान्न) थियो । किताब र नयाँ कपडा बग्दा धेरै नरमाइलो लागेको थियो ।

पहिले हाट जाने चलन थियो । नेपालगञ्जबाट नुन ल्याउँथे । पछि सुर्खेत–दैलेख सडक बन्दै थियो । मलाई सम्झना भएसम्म म तालपोखरीसम्म पुगेर नुुन ल्याएको सम्झना छ । बुवाहरूले बाहिरबाटै कपडा ल्याइदिनुहुन्थ्यो । चाडपर्वमै नयाँ कपडा लगाउने भन्ने हुन्थ्यो । मैले कक्षा ८ मा पढ्ने बेलामा मात्र पाइन्ट लगाएको सम्झना छ । त्यस अघि हाफ पाइन्ट लगाउने चलन थियो ।

म कक्षा सातमा पढ्दासम्म मेरो कक्षामा एक जना पनि छात्रा थिएनन् । त्यस बेलामा छोरीलाई कम पढाइन्थ्यो । पछि कक्षा ८ मा अर्को विद्यालय जाँदा बल्ल छात्रहरू पढ्न आउँथे । तर संख्या कम थियो । अहिले समय फेरिएको छ । छोरीहरू पढ्न थालेका छन् । तर अझै पनि छोरीलाई शिक्षा दिनुपर्छ भन्ने सबैमा चेतना छैन । म सबैभन्दा कमजोर अंग्रेजी विषयमा थिएँ । त्यस बेलामा विषयगत शिक्षक पाउनै मुस्किल हुने । त्यसैले पनि कमजोर भएको हो कि ? अहिले पनि विषयगत शिक्षकको समस्या छ नै । यो समस्या अझै पनि समाधान भएको जस्तो मलाई लाग्दैन । एसएलसीमा सबैभन्दा कम नम्बर अंग्रेजी विषयमा आएको थियो । दाइले मलाई जुुन विषयमा कम नम्बर आएको छ त्यहीँ पढ्न सुझाव दिनुभयो । उमेर सानै भएकाले सुरुमा पढ्न समस्या भयो । पछि मैले एमएड अंग्रेजी विषयमा गरँे ।

बाल्यकालमा म शिक्षक नै बन्छु भन्ने सोच्थे । मेरा दाइहरू पनि शिक्षक भएकाले पनि होला । आइएड पास गरेपछि मैले आफूले अध्ययन गरेको विद्यालयमा शिक्षण पेशा सुरु गरेँ । १२ वर्ष शिक्षण पेसामा बिताएँ । मैले १२ वर्षसम्म पढाउँदा एक जना विद्यालय निरीक्षक पनि विद्यालयको अवस्था बुझ्न आएनन् । मैले पढाउँदै गर्दा शिक्षा सेवातर्फ विद्यालय निरीक्षकको तयारी गरेँ । २०६८ सालमा विद्यालय निरीक्षकमा नाम निकालेँ । त्यसपछि मैले २०७५ सालमा उप–सचिवमा नाम निकालेँ । अहिले भेरीगंगा नगरपालिकाको शिक्षा शाखाको प्रमुखको रूपमा कार्यरत छु । यस बाहेक मैले शिक्षक सेवा तथा लोकसेवासँग सम्बन्धित करिब दर्जनभन्दा बढी किताब लेखेको छु । समय मिलेसम्म सामाजिक मुद्दाहरूमा पनि मेरा लेख रचना आइरहन्छन् । सामाजिक विभेद, परिवर्तन र न्यायसम्बन्धी विषयमा लेख्न रुचाउँछु ।

प्रकाशित मितिः   २४ आश्विन २०७७, शनिबार ०९:०९