खाद्य पसल अवैध रुपमा सञ्चालित

वीरेन्द्रनगर बजारमा नियमविपरित खाद्य पसलहरू सञ्चालन भएको पाइएको छ । नगर बजार अनुगमन समितिले वीरेन्द्रनगरमा सञ्चालित पाँच वटा ठूला खाद्य स्टोर्सहरूको अनुगमन गर्दा चार वटा अवैधरूपमा सञ्चालनमा रहेको भेटिएको हो ।

अनुगमनका क्रममा ठूला खाद्य पसलहरूले दर्ताबिना नै व्यवसाय सञ्चालन, नवीकरण र मूल्यसूची टाँस नगरेको तथा म्याद गुज्रिएका सामग्री बेच्ने गरेको पाइएको नगरपालिकाका बरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए । आइतवार पौडेलको नेतृत्वमा गएको बजार अनुगमन टोलीले सुर्खेत खाद्य तथा जनरल स्टोर्स, गंगामाला खाद्य स्टोर्स, प्रकाश जनरल स्टोर्स, एम.पी. सप्लायर्स र ज्याक किराना पसलमा अनुगमन गरेको थियो । जसमध्ये एउटा खाद्य पसल मात्रै बजार मापदण्ड र सबै प्रक्रिया पूरा गरेर सञ्चालन गरिएको पाइएको हो । ज्याक किराना पसलमा दर्ता नवीकरण र मूल्यसूचीलगायतका सबै मापदण्ड पूरा गरेको पाइएको पौडेलले बताए । उनका अनुसार अन्य चारवटा पसल भने नियमविपरीत सञ्चालनमा छन् ।

सुर्खेत खाद्य तथा जनरल स्टोर्सको नापतौल नवीकरण नभएकाले नगरपालिकाले पाँच हजार रूपैयाँ फाइन काटेको छ । त्यस्तै गंगामाला खाद्य स्टोर्समा व्यवसाय दर्ता नभएको, प्रकाश जनरल स्टोर्समा मूल्यसूची टाँस नगरिएको र व्यवसाय समेत दर्ता नभएको पाइएको हो । एम.पी. सप्लायर्स पनि दर्ताबिना सञ्चालन गरिएको भेटिएको हो । नियमितविपरीत खाद्य स्टोर्स सञ्चालन गर्नेहरूलाई अनुगमन गरी पाँच हजार रूपैयाँ जरिवाना तिराइ तीन दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गर्न सुझाएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मितिः   ३ कार्तिक २०७७, सोमबार ०६:०२