नागरिक दायित्व
कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि अनेक पर्यत्न गरिए । चार महिना लामो लकडाउन भयो । त्यसपछि पनि विभिन्न ठाउँमा निषेधाज्ञा जारी भयो । अन्तरप्रदेश होस् वा एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्ने नाकाहरूमा कडाइ गरियो । आरडीटीदेखि आरटी, पीसीआर परीक्षणलाई विभिन्न तहमा पु¥यायो । यी यावत प्रयासका बाबजुद कोरोना रोकथाम र नियन्त्रणमा सरकार सफल हुन सकेन । संक्रमणको दर र गति बढ्दो क्रममै छ । मृत्यु हुनेको संख्या पनि घटेको छैन । बरु सरकार स्वयम् अब भने पछि हट्दै गएको छ । शैक्षिक संस्थाबाहेक अन्य सबैजसो क्षेत्र खुला भइसकेका छन् । परीक्षणको दर र दायरा दुवै घटाइएको छ । राज्य र नागरिक दुवैबाट हेलचक्य्राइँ बढ्दै गएको छ । यसले जोखिम थप बढाएको छ ।
कोरोना भाइरस संक्रमणको अवस्था भयावहउन्मुख छ । संक्रमणको गति यसैगरी बढिरहेमा र सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेमा परिस्थिति नियन्त्रणबाहिर जाने संकेत स्पष्ट देखिन्छ । तर सरकारको निर्णय भने रोकथाम र नियन्त्रणतर्फ भन्दा पनि एकपछि अर्को गर्दै पछि हट्नेतर्फ केन्द्रित भइरहेको छ । लक्षण देखिएमा मात्रै परीक्षण गर्ने निर्णय गरेको सरकारले हालै आएर उपचारमा पनि हेलचक्य्राइँ गरेको छ । अब कोरोनको परीक्षण र उपचार व्यक्ति स्वयम्ले गर्नुपर्नेछ भने सरकारले त्यसको खर्च व्यहोर्ने छैन । यसले नागरिकप्रति राज्यको दायित्व क्षीर्ण हुँदै गएको देखाउँछ । कोरोना महामारीसँग विश्व नै जुधिरहेको छ । यस्तो बेला नागरिकलाई राज्यको दरिलो साथ चाहिन्छ । विश्वास र भरोसा चाहिन्छ । तर सरकार भने यसबाट पन्छिदै गइरहेको भान भइरहेको छ । आसन्न संकट टार्न सरकारले हरसम्भव उपाय अपनाउनुपर्ने हो । साथमा आम नागरिकले पनि परिस्थितिको गम्भीरताबोध गर्दै पर्याप्त सतकर्ता अपनाउनुपर्दछ । तर यहाँ ठीक उल्टो भइरहेको छ । नागरिकको लापरबाही बढ्दो छ भने राज्यले पनि आफ्नो जिम्मेवारीबाट विमुख भइरहेको छ ।
कर्णाली प्रदेश लामो समयसँग संक्रमणमुक्त थियो । सुरुवातमा फाट्टफुट्टबाहेक संक्रमण देखिएको थिएन । मुलुकका अन्य भागको तुलनामा यहाँ ढिलो गरी मात्रै संक्रमण झाँगिन थालेको हो । तर समयमै रोकथाम र नियन्त्रणका प्रभावकारी योजना नहुँदा तीव्र गतिमा फैलियो । अहिले प्रदेशमा संक्रमितको संख्या पाँच हजार नाघिसकेको छ । १३ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्ला दिनहरूमा लक्षणसहितका संक्रमितको संख्या बढ्दो छ । परिस्थिति जोखिमपूर्ण बन्दै गएको छ । झन अहिले चाडपर्वको समय आएको छ । यो समयमा सावधानी अपनाइएन भने थप संकट आउने निश्चितप्रायः छ । त्यसैले सरकार स्वयम् जिम्मेवार हुनु जरुर छ भने नागरिक आफैंले पनि जोगिने सम्पूर्ण पहल गर्नुपर्छ । मुखैमा आएका चाडपर्वहरूलाई पहिलेजस्तै भीडभाडपूर्ण ढङ्गले मनाउन खोजियो भने त्यो सरासर जोखिमलाई निम्त्याउनु हुनेछ । एउटाले लापरबाही गर्दा कैयौंलाई असर पर्छ, यसबारे सबै सचेत रहनुपर्छ । सरकार र नागरिक सबैको साझा पहलबाट मात्र संक्रमणको जोखिम घटाउन सकिन्छ ।
प्रकाशित मितिः ३ कार्तिक २०७७, सोमबार ०६:००
साझा बिसौनी ।